काठमाडौंमा कर्णालीबारे प्रदर्शनी हुँदै, कर्णालीको संभावना र लगानीको क्षेत्रबारे जानकारी दिने

बिजमाण्डू
२०७५ माघ २३ गते १५:४५ | Feb 6, 2019


काठमाडौं। राजधानीको भृकुटी मण्डपमा  कर्णाली बृहत प्रदर्शनी हुने भएको छ । आगामी फागुन ३, ४ र ५ गते तीन दिन समृद्ध कर्णाली अभियानले बृहत प्रदर्शनी गर्न लागेको हो ।

Tata
GBIME
Nepal Life

'हाम्रा गौरवका पानाहरु र सम्भावनाका खानीहरुको उत्सव' मुल नारा दिएको प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा कर्णालीका, रैथाने खानाका परिकारहरु, फापर, कोदो मार्सी लगायतका मौलिक खाद्यन्नहरु राखिने बताइएको छ ।

त्यसै गरी कर्णालीवासीका जीवनशैली, संस्कृतिका बारेमा डकुमेन्ट्री देखाईने छ। त्यहा स्थानीय कलाकार ल्याएर मौलिक भाकाहरु समेत सुनाइने छ । धामी, सोलारी, शेर्पा लगायतका नाचहरु देखाइने आयोजकले जानकारी दिएका छन्।

प्रदर्शनीमा कर्णालीका मुगु, मान सरोवर, शे-फुक्सुण्डो, काँक्रेविहार, चन्दननाथ,  दैलेखको ज्वाला कुपिण्डे दह, स्यार्फुताल र हिमाली सभ्यता लगाएत कर्णालीका पर्यटकीय क्षेत्रहरु बारे जानकारी गराइने छ ।

कर्णालीमा लगानी गर्न इच्छुकहरुलाई कर्णालीको पर्यटन, कृषि, जडिबुटी प्रशोधन र जलविद्युत लगायतका क्षेत्रहरुको सम्भावनाबारे जानकारी गराउने उदेश्य राखिएको छ।

कर्णालीका युवाहरुलाई कर्णालीप्रति जिम्मेवार बनाउँदै उनीहरुको क्षमता वृद्धिमा महत्वपूर्ण भुमिकाका साथै सम्भावनाका पाटाहरु देखाउने मुख्य उद्देश्य राखिएको छ ।

कला संस्कृति, पुरानो सभ्यता, प्राकृतिक सुन्दरता र सम्भावनाको खानी भएपनि कर्णालीलाई सँधै गरिबी, अशिक्षा, अभाव र विकटताको पर्यायवाचिका रुपमा हेर्ने गरिएको पाइन्छ । आन्तरिक र बाह्य पर्यटकहरुले यसैबाट आफ्नो धारणा बनाउने गरेका छन् । जसले कर्णालीलाई अझै पछाडि धकेल्ने काम गरिरहेको आयोजकले बताएका छन् ।

गर्विलो इतिहास कला संस्कृति, पौष्टिक रैथाने खाद्यबाली, जीवनशैली र समुन्नतीलाई स्पष्ट संकेत गर्ने अथाह सम्भावनाका स्रोतहरुको प्रदर्शनी गरिने समृद्ध कर्णाली अभियानका संयोजक उपेन्द्र शाहीले जानकारी दिए । 'कर्णालीबासीलाई कर्णालीबासी भएकोमा गर्वको अनुभुति गराउने र समृद्ध कर्णालीको सपना सम्भव छ भनेर आत्मविश्वास जगाउने एउटा प्रयास हो ।' उनले भने ।

सम्पूर्ण देशलाई कर्णाली भ्रमण गर्न उत्प्रेरणा दिने र लगानीकर्ताहरुलाई सम्भावनाबारे जानकारी गराउन प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ।

प्रदर्शनी एउटा कार्यक्रममात्र नभएर समग्र कर्णाली प्रदेशको सम्भावनाहरुलाई चियाउने महत्वपूर्ण अवसर हुनेछ अपेक्षा गरिएको छ ।

खासगरी कर्णालीबारे अध्ययन गर्नेहरुका लागि यो प्रदर्शनी उपयुक्त हुने आयोजकको भनाई छ । प्रदर्शनीमा प्रवेश गर्नका लागि विद्यार्थीलाई १ सय र अरुलाई दुई सय रुपैयाँ शुल्क तोकिएको छ। प्रदर्शनीबाट फर्किदा एक सय रुपैयाँ बराबरको उपहार समेत पाइने आयोजकले जानकारी दिएका छन्।