बरुण वेभरेजको नवलपरासीको उद्योगले इआइए नगरि उत्पादन थाल्यो, लेनदेनमा कुरा नमिल्दा ढिलार्इ

बिजमाण्डू
२०७५ कात्तिक १९ गते १३:३२ | Nov 5, 2018
बरुण वेभरेजको नवलपरासीको उद्योगले इआइए नगरि उत्पादन थाल्यो, लेनदेनमा कुरा नमिल्दा ढिलार्इ


काठमाडौं। बहुराष्ट्रिय कम्पनी वरुण वेभरेजले वातावरणीय प्रभाव मूल्यांकन(इआइए) स्वीकृत नगरि उत्पादन सुरु गरेको छ।

Tata
GBIME
Nepal Life

गत वर्षको साउनमा दुर्इ अर्ब ३९ करोड रुपैयाँ लगानी स्वीकृत गरेर उद्योगको पूर्वाधार तयार पारेको कम्पनीले ६ महिना अघिदेखि उत्पादन सुरु गरेको हो।वातावरणीय प्रभाव मूल्याङ्कनको फाइल भने वन तथा वातावरण मन्त्रालयमा थन्किएको छ। गत साउन २२ गते मन्त्रालयले ३० दिने सूचना जारी गरेर प्रभावित क्षेत्रका व्यक्ति तथा संस्थाले प्रतिवेदन हेरेर राय सुझाव दिन भनेको थियो।

उद्योग रहने नवलपरासीको रामग्राम नगरपालिका- १० मा १० हजार १ सय ५ घरधुरीको ५४ हजार ७ सय ७२ जनसंख्या प्रभावित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ।१४ बिघा १० कठ्ठा क्षेत्रफलमा उद्योग स्थापना भएको छ। उद्योगले करिव २२ हजार वर्गमिटर क्षेत्रफलमा उद्योगलाई आवश्यक पर्ने विभिन्न संरचनाहरु निर्माण गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ।

असोज १० गते मन्त्रालयले वरुण वेभरेजलाई पत्र लेख्दै असोज २३ गते उद्योगको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन सुझाव समितिको बैठकमा उपस्थित हुन आग्रह गरेको थियो। यो मितिमा वरुण वेभरेजका तर्फबाट आधिकारिक व्यक्ति उपस्थित हुन नसक्ने सूचना दिएपछि विज्ञहरु सम्मिलित सुझाव समितिको बैठक स्थगित गरिएको वन तथा वातावरण मन्त्रालयका सहायक वन अधिकृत सुवासकुमार शर्माले बिजमाण्डूलाई जानकारी दिए।

‘वरुण वेभरेजको इआइए स्वीकृत गर्न सुझाव समितिको अर्को बैठक बस्नुपर्छ,‘ शर्माले भने, ‘अर्को बैठक बोलाउन शाखामा बजेट नभएकोले बजेट व्यवस्थापन नभएसम्म वरुण वेभरेजको इआइए स्वीकृतीको लागि समितिको बैठक बोलाउन सकिदैन।‘स्रोतका अनुसार इआइए स्वीकृत गराउने बेलामा वरुण वेभरेज र उसको कन्सल्ट्यान्टबीच आर्थिक लेनदेनको विषयमा कुरा नमिलेपछि असोज २३ गतेको बैठकमा कन्सल्ट्यान्टका तर्फबाट आधिकारिक व्यक्तिले उपस्थित हुन नसक्ने सूचना मन्त्रालयलाई दिएका थिए। त्यसपछि सुझाव समितिको बैठक स्थगित गरिएको थियो।

इआइए नगरि उत्पादन गरेमा के हुन्छ?
औद्योगिक व्यवसाय ऐन २०७३ आउनुभन्दा अघि वातावरणीय प्रभाव मूल्याङ्कन नगरि उद्योग दर्ता पनि गर्न मिल्दैन थियो। औद्योगिक व्यावसाय ऐन २०७३ संसोधन भएपछि भने उद्योग दर्ता गर्न वातावरणीय प्रभाव मूल्याङ्कन आवश्यक नपर्ने व्यवस्था गरिएको थियो।

तर उत्पादन सुरु गर्नुअघि भने उद्योगले सम्बन्धित निकायबाट इआइए स्वीकृत गराउनुपर्ने व्यवस्था गरिएको छ।यदि कुनै उद्योगले वातावरणीय प्रभाव मूल्याङ्कन नगरि उत्पादन सुरु गरेमा उद्योगको उत्पादन रोक्का गर्ने देखि उत्पादित सामान जफत गर्ने सम्मको कारवाहीको व्यवस्था रहेको उद्योग विभागका प्रवक्ता जीवनराज सेढाईंले बताए।

इआइए नगरि उत्पादन गरेमा उद्योगको दर्ता नविकरण रोक्का, कर छुट फिर्ता लगायत सबै उत्पादन जफत गर्ने कानुनी व्यवस्था छ।वरुण वेभरेजले उत्पादन सुरु गरेको जानकारी उद्योग विभागलाई दिएको छैन। उत्पादन गर्नुभन्दा अघि इआइए गर्नुपर्ने भएकाले कम्पनीले विभागलाई जानकारी नदिएको हो।