काठमाडौं । बिहिवारदेखि नविल बैंक मुनाफामा मात्रै होइन सेयर मूल्यमा पनि बैंकहरुको ‘डन’ बनेको छ, नबिल बैंकले सेयर मूल्यमा स्ट्याण्डर्ड चार्टड बैंकलाई बिहिवारदेखि पछि पारेको छ । बिहिवार नबिल बैंकको प्रतिकित्ता १९२५ रुपैयाँमा कारोवार भयो भने स्ट्याण्डर्ड चार्टड बैंकको प्रतिकित्ता १९०९ रुपैयाँमा कारोवार भयो । स्ट्याण्डर्ड चार्टडलाई पछि पारेर नबिल बैंकले इतिहास रचेको हो ।
बिहिवार बैंकको प्रतिकित्ता ३५ रुपैयाँले सेयर मूल्य बढ्यो भने स्ट्याण्डर्ड चार्टडको प्रतिकित्ता एक रुपैयाँ घटेर १९०९ मा कारोवार भयो । लामो समयदेखि नबिल बैंकले चार्टड बैंकलाई पछ्याइरहेको थियो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा आश्चर्यजनक नजिता ल्याउँदै नाफा अर्ब रुपैयाँ नघाएपछि नबिल बैंक र चार्टड बैंकको सेयर अन्तर कम हुँदै गएको थियो ।
बिहिवार पनि सुरुवाती कारोवारमा नबिल बैंक चार्टडभन्दा माथि कारोवार भएको थियो, पछि नविल बैंकको सेयर मूल्य १८५० मा ओर्लिएको थियो भने चार्टडको सेयर मूल्य १९१५ मा पुगेको थियो । अन्तिम कारोवार हुँदा नविल बैंकको सेयर मूल्य ७५ रुपैयाँभन्दा बढी बढेर १९२५ मा कारोवार भयो, चार्टडको प्रतिकित्ता छ रुपैयाँ घटेर १९०९ मा कारोवार भयो ।
