नेपालको बैंकिङ स्पेशलाइज्ड छैन, मर्जरबीनै ८ अर्ब पुग्छ, एनआइसीका सिइओ रिसालको अन्तर्वार्ता

बिजमाण्डू
२०७३ साउन १५ गते ००:०० | Jul 30, 2016
नेपालको बैंकिङ स्पेशलाइज्ड छैन, मर्जरबीनै ८ अर्ब पुग्छ, एनआइसीका सिइओ रिसालको अन्तर्वार्ता
१६ अर्ब रुपैयाँ निक्षेप बढाउँदा पनि हामी सबैभन्दा बढी निक्षेप बढाउने बैंकमा छैनौ। मलाई लाग्छ हामी दोस्रो वा तेस्रोमा छौं। के हो भने, अघिल्ला वर्षहरुमा हाम्रो वृद्धि अलि सुस्त नै थियो। यस वर्ष अलि बढी देखिएको हो। १५, १४, १३ अर्वको हाराहारीमा निक्षेप बढाउने दशौं बैंक छन्। तर, यो हाम्रा लागि धेरै थियो, किनभने विगतमा ६/७ अर्बको मात्रै वृद्धि हुन्थ्यो
 — 
गएको वर्ष हाम्रो बैंक प्रति ग्राहकको धारणा के हो भनेर बुझ्ने कोशिस गरेका थियौं। त्यसको रिजल्ट आएपछि यो बैंकलाई हेर्ने धारणामा परिवर्तन गर्न के गर्नुपर्छ भनेर तीन वटा क्षेत्रमा फोकस गर्यौ। अध्ययनका आधारमा के देखियो भने हाम्रा प्रडक्टहरु त्यति ग्राहकमैत्री छैनन्। दोस्रो हाम्रो बैंकमा कर्जा लिन धेरै समय लाग्छ। तेस्रो, हामी जति पुरानो बैंक हौं त्यसअनुसार ब्राण्ड परिचित छैन्। त्यसपछि हामीले यही तीन कुरामा फोकस गर्यौं
 
 —
हामीसँग मर्जरबाट क्यापिटल रिजर्भमा आएको रकममध्ये करिब आधा ५० करोड बाँकी छ। त्यसपछि यस वर्षको नाफा छ। यसले राम्रो प्रतिफल दिन सक्ने अवस्थामा हामी छौं। नपुगेको पुँजी बढाउने हाम्रो अहिलेसम्मको योजना राइट्स बाटै हो। यो अवधिमा बैंकको हित हुने, राम्रो लाभ हुने, इमेज बढ्ने अवसर आउँछ भने मर्ज र एक्वीजीशनमा पनि हामीले ढोका बन्द गर्दैनौं
 —

Tata
GBIME
NLIC
साइन्स ब्याकराउन्डबाट बैंकिङ क्षेत्रमा आएका लक्ष्मण रिसालले केही महिना अघिबाट एनआइसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । बैंकिङ ‘लजिक’ प्रयोग गर्नुपर्ने विषय हो र साइन्स पढेको मान्छेको लजिक अरुको भन्दा राम्रो हुन्छ। यसैको भरमा बैंकको जागिरका लागि छानिएको बताउने रिसाललाई बिजमाण्डूका सम्पादक सरोज काफ्लेले सोधे- चौथो क्वाटरको रिजल्ट त चार्टर्ड एकाउन्टेण्ट नै चकित पार्ने गरि ल्याउनु भयो  नि?

तपाई साइन्स पढेको मान्छे, चौथो क्वाटरको रिजल्ट त चार्टर्ड एकाउन्टेण्ट नै चकित पार्ने गरि ल्याउनु भयो?
मैले जागिरका लागि दिएको अन्तरर्वार्तामा तत्कालिन ग्रीनलेज बैंकका जनरल म्यानेजर रोविन ब्राटशाले पनि यही प्रश्न गर्नु भएको थियो, तपाईं साइन्स पढेको व्यक्ति बैंकमा के गर्नुहुन्छ? त्यसबेला पनि मैले जे बुझेको थिएँ त्यही उत्तर दिएँ। मैले भनें, बैंकिङ भनेको ‘लजिक’ प्रयोग गर्नुपर्ने विषय हो र साइन्स पढेको मान्छेको लजिक अरुको भन्दा राम्रो हुन्छ। यसैको भरमा सायद म बैंकको जागिरका लागि छानिएको थिएँ।

अहिलेसम्म नेपालमा बैंकिङका सामान्य प्रोडक्टहरु नै छन् र ती सामान्य प्रोडक्ट हामीले पनि बेचिरहेका छौं। आगामी दिन केही चुनौतिपुर्ण हुनसक्छ। हामी कहाँ बैंकिङ रकेट साइन्स पनि होइन, धेरैजसो कुरा लजिक र अनुभवले गाइड गरिरहेको छ। साइन्स मात्रै होइन, कुनै पनि विषय पढेर काम गर्न सकिन्छ, किनभने नेपालको बैंकिङ एकदम स्पेशलाइज्ड भैसकेको छैन।
 
रकेट साइन्स नभए, कसरी अहिलेको पोर्टफोलियोमा एकै वर्ष ३९ करोड रुपैयाँभन्दा बढी नाफा बढ्छ, १६/१६ अर्ब रुपैयाँ निक्षेप तथा कर्जा थपिन्छ?
१६ अर्ब रुपैयाँ निक्षेप बढाउँदा पनि हामी सबैभन्दा बढी निक्षेप बढाउने बैंकमा छैनौ। मलाई लाग्छ हामी दोस्रो वा तेस्रोमा छौं। दोस्रोमा रहेछौं भने पनि पहिलो र दोस्रोको बीचमा निकै ठूलो ग्याप छ। के हो भने, अघिल्ला वर्षहरुमा हाम्रो वृद्धि अलि सुस्त नै थियो। यस वर्ष अलि बढी देखिएको हो। १५, १४, १३ अर्वको हाराहारीमा निक्षेप बढाउने दशौं बैंक छन्। त्यसैले अहिलेको बृद्धि निकै धेरै होइन्। तर, यो हाम्रा लागि धेरै थियो, किनभने विगतमा ६÷७ अर्बको वृद्धि हुन्थ्यो।

अनि यो वर्ष यति धेरै वृद्धि कसरी आयो?
गएको वर्ष हाम्रो बैंक प्रति ग्राहकको धारणा के हो भनेर बुझ्ने कोशिस गरेका थियौं। त्यसको रिजल्ट आएपछि यो बैंकलाई हेर्ने धारणामा परिवर्तन गर्न के गर्नुपर्छ भनेर दुई तीन वटा क्षेत्रमा फोकस गर्यौ। एउटा हो हाम्रो प्रडक्ट, बजारमा गरेको अध्ययनका आधारमा के देखियो भने हाम्रा प्रडक्टहरु त्यति ग्राहकमैत्री छैनन्। दोस्रो हाम्रो बैंकमा कर्जा लिन धेरै समय लाग्छ। तेस्रो, हामी जति पुरानो बैंक हौं त्यसअनुसार ब्राण्ड भने परिचित छैन्। त्यसपछि हामीले यही तीन कुरामा फोकस गर्यौं। अरु धेरै ठूलो केही गरेको होइन। फेरि बैंक एकस्तरको बैंकिङ नम्समा बस्नै पर्छ, जोखिम हेर्नै पर्छ, ऋणीको रिपेमेन्ट क्यापासिटी हेर्नै पर्छ।

अध्ययनका आधारमा हामीले तीन क्षेत्रमा सुधारको प्रयास थाल्यौं। ग्राहकमत्रै प्रडक्ट ल्याउने प्रयास गर्यौं। प्रतिस्पर्धीले कस्तो प्रडक्ट ल्याइरहेका छन्? र हामीले कस्तो प्रडक्ट ल्याउँदा ग्राहकलाई उपयुक्त हुन्छ भनेर हेर्यौं। यो काम विशेषगरी साना तथा मझौला (एसएमइ) र रिटेलमा गरेका हौं।

गत वर्षको बृद्धिलाई हेर्नुभयो भने १६ अर्बमा करिब ८० प्रतिशत वृद्धि यही दुई वटा क्षेत्रबाट आएको छ। हामीकहाँ ऋण लिन प्रोसेसिङमा समय लाग्ने गरेको थियो, त्यो घटायौं। हरेक प्रोडक्टमा लाग्ने समय नै तोक्यौं र प्रभावकारी अनुगमन गर्ने व्यवस्था गर्यौं। अहिले हामीकहाँ प्रोसेसिङमा लाग्ने समय निक्कै घटेको छ। ग्राहकले बैंकलाई चाहिने सबै कागज बुझाएको तीन दिनमा हामी अहिले निर्णय दिन्छौं। त्यसपछि हामीले ब्राण्डिङमा रि–फोकस गर्यौ। यो तीन वटै सुधारको संयुक्त नतिजा हो अहिलेको परिणाम।

 

मैले जागिरका लागि दिएको अन्तरर्वार्तामा तत्कालिन ग्रीनलेज बैंकका जनरल म्यानेजर रोविन ब्राटशाले पनि यही प्रश्न गर्नु भएको थियो, तपाईं साइन्स पढेको व्यक्ति बैंकमा के गर्नुहुन्छ< त्यसबेला पनि मैले जे बुझेको थिएँ त्यही उत्तर दिएँ। मैले भनें, बैंकिङ भनेको ‘लजिक’ प्रयोग गर्नुपर्ने विषय हो र साइन्स पढेको मान्छेको लजिक अरुको भन्दा राम्रो हुन्छ
 —

अहिलेसम्म एनआइसी एसिया बैंकको इमेज निजीक्षेत्रको सरकारी बैंक जस्तो थियो। त्यसो भए अब त्यो इमेज पूर्णरुपमा परिवर्तन भएको हो?
मलाई त त्यस्तो इमेज थियो जस्तो लाग्दैन।
 
कर्जा दिन लामो समय लगाउने, आवश्यक नभएका डकुमेन्ट पनि खोज्ने, कर्जा दिएपछि पनि अलि बढि नै सोधखोज गरिरहने?
हामीले गर्न खोजेको सुधार पनि त्यही नै हो। समय अलि बढी लाग्थ्यो, कर्जा दिने समय छोट्यौ। कष्टमरलाई चाहिएको प्रडक्ट कस्तो हो भनेर नयाँ प्रडक्ट ल्यायौं। आन्तरिक सुधारका लागि भर्खरै हामीले करिब पाँच हजार ग्राहकसँग इमेलबाट कष्टर सर्भे गरेका छौं।

जे फिडव्याक पायौं, त्यो फिडव्याकका आधारमा हामीले एक वर्षको अवधिमा केही सुधार गर्यौं। त्यो सुधारबाट जे परिणाम पायौं, त्यसबाट हामीलाई हौसला मिलेको छ। अझ बढि हौसला मिलेको कुरा के भने, हामीले फेरी गरेको सर्भेमा ८७ प्रतिसत ग्राहकले एनआईसी एशिया बैंक अरुका लागि पनि सिफारिस गर्छौ भनेका छन्।

त्यो गतवर्ष पनि देखियो। गएको वर्ष एसएमइ र रिटेलको व्यापार बढ्नुमा महत्वपूर्ण स्रोत नै रिफरल ग्राहक नै हो, अरुले सिफारिस गरेका ग्राहक। हाम्रो एक जना ग्राहक बनेपछि तपाई चिनेको पाँच जनाको नाम दिनुस् भनेर हामी सोध्छौं। त्यसपछि हामी भिजिट गर्ने, फलोअप गर्ने गछौं।

अहिले बजारमा एनआईसी बैंक ग्राहक मैत्री बैंक हो भनेर इमेज बनिरहेको छ। हाम्रो चाहना पनि ग्राहकमैत्री बैंक भनेर चिनाउने नै हो। हामी त्यही बाटोमा अघि बढिरहेका छौं र सफलता पनि पाएका छौं।
 
तपाईले एसएमईज् र रिटेलमा केन्द्रित हुँदैछौं त भन्नुभयो, तर यो बैंकको इमेज त हाउजिङमा राम्रो स्किम ल्याउने, बाँकी कर्पोरेट केन्द्रित व्यवसाय गर्ने थियो?
तपाईले भनेको ठिकै हो,  अहिले हामीले गरेको नयाँ कुरा पनि यही हो। हाम्रो फोकस सिफ्ट भएको हो। हामी रिटेल र एसएमइमा केन्द्रित भइरहेका छौं। रिटेलमा त पहिलो स्थान वा दोस्रोमा छौं। मलाई लाग्छ हामी पहिलो मै छौं। हाउजिङमा के हुन्छ भने नि, डिकेइङ भन्छ नि साइन्समा, खिइदै जाने। यो त इएमआई बेस हो, इएमआई त घट्दै जान्छ। जति बढाए पनि पुरानोको इएमआई त घटि नै रहेको हुन्छ। एसएमइ त ग्रोइङ पोर्टफोलियो हुन्छ।

व्यवसायलाई कर्जा दिने हो। उसले आज एक करोड कर्जा लिएर व्यवसाय गरिरहेको छ भने व्यवसाय बढाउँछ र भोलि एक करोड २० लाख र पर्सि तीन करोड चाहियो भन्छ। यहाँ एउटा पोर्टफोलियो घट्दो र अर्को बढ्दो भयो। त्यसैले विगत दुई वर्षदेखि हामी एसएमईमा काम गर्यौं।

फेरी यसको अर्थ पुरै कर्पोरेट छाड्ने भनेको होइन, नगरी उपाय पनि छैन। कुल कर्जाको ठूलो हिस्सा कर्पोरेटमै छ। हाम्रो कुल कर्जाको लगभग ३० प्रतिसत भन्दा बढी बुक कर्पोरेटमा गर्छौं। हामी यो ३० कर्पोरेट ७० रिटेलको रेसियोमा छौं, त्यसलाई विग्रन नदिने पक्षमा छौं।
 

तपाई प्रमुख कार्यकारी अधिकृत नियुक्त हुँदा यो बैंकको दीर्घकालिन स्ट्राजेजिक प्लान पेश गर्नुभएको थियो यो बैंकलाई आगामी चार वर्षमा कहाँ पुर्याउने भनेर। अहिलेको रिजल्टले त्यही प्लान अनुसार बैंक अघि बढ्दै छ, लाइनअपमा हुनुहुन्छ भन्ने हो?
हामी एकदम लाइन अपमा छौं। त्यो स्ट्राटेजीलाई निरन्तर मोनिटरिङ गरिरहन्छौं। यसलाई एउटा डकुमेन्ट बनाएर थन्क्याउने काम भएको छैन। यसलाई केही परिवर्तन पो गर्नुपर्छ कि भनेर ६/६ महिनामा पुरै रिभ्यु गर्छौं। त्यो स्ट्राटेजी अनुसार यो पहिलो वर्ष हो। पहिलो वर्षको उपलब्धि सबै पक्षमा एचिभ वा एक्सिड भएको छ। यो हिसावले सुरुवात अत्यन्त राम्रो छ। सुरुवात राम्रो भएपछि भविष्य पनि राम्रो हुन्छ भन्ने हाम्रो आत्मविश्वास छ।
 
त्यो स्ट्राटेजी अनुसार अर्को चार वर्ष पछि बैंक कुन स्टेजमा पुगेको देख्न पाइएला ?
यसलाई हामी मात्रै होइन, अरु बैंकहरु पनि कसरी अघि बढ्छन भनेर हेर्नु पर्ने हुन्छ । हामी नम्बर एक, दुई वा तेस्रो पोजिसनमा हुन्छौ भन्ने होइन।
 
पोजिसन मात्रै होइन, व्यालेसिन्टको आकार, नाफा
व्यालेन्सिटको आकारमा, प्रोफिटाविलिटीको कुरा गरौं। स्ट्राटेजीक पिरियडको अन्त्य अर्थात सन् २०२०को जुलाईमा हाम्रो लक्ष्य तीन सय करोड खुद नाफा गर्ने हो। अहिले नाफा एक सय सात करोड छ, यसलाई बढाएर तीन सय करोड पुर्याउने हो। त्यसै अनुसारको विजनेश, क्यापिटल प्रयोग गर्ने हो,  त्यो त हिसाव गरेर निकाल्ने कुरा हो। यो वर्ष हामी सहि ट्रयाकमा छौं। त्यस्तो अकल्पनीय दुर्घटना हुँदा बाहेक हामी लक्ष्य भेट्छौं।
 
यो बैंकको सन्दर्भमा एनआइसी र बैंक अफ एशिया मर्ज भए, मर्जपछि तत्कालै सिनर्जी देखिएन्। अहिलेको रिजल्टमा त्यो मर्जको सिनर्जी पनि देखिएको हो?
दुई वटा बाणिज्य बैंकको मर्जरबाट पूर्णरुपमा सिनर्जी प्राप्त गर्न केही समय लाग्दो रहेछ। त्यो हामीले पनि अनुभव गर्यौं। तपाईले भनेको जस्तै आंशिक रुपमा मर्जको सिनर्जी प्राप्त भएको पनि हो भने आंशिक रुपमा सुधारको प्रतिफल पनि हो। अहिले हामी कष्टमर सेन्ट्रिक बैंक बनिरहेका छौं। त्यसैले यो सबैक्षेत्रमा भएको सुधारको परिणाम हो। आगामी दिनमा यिनै आधारमा टेकेर हामी अघि बढ्ने हो। सिजर्नी इफेक्ट पक्कै छ यसको कुनै योगदान छैन भन्ने होइन।
 
राष्ट्र बैंक त अझै बैंक तथा वित्तीय सस्थाको संख्या बढी भयो भनिरहेको छ, संख्या घटाउन चाहन्छ। तपाईहरुले केही हदसम्म मर्जरको सिनर्जी इफेक्ट प्राप्त गर्यौ भन्नुभयो, अब यो बैंकले अरु सस्थासँग मर्ज गर्ने वा अक्वायर गर्ने सम्भावना कति रहन्?
मर्ज वा एक्वीजीशनमा अहिले तत्काल हाम्रो योजना छैन। अहिले हामीले जुन किसिमको ग्रोथ हाँसिल गर्यौं त्यो अर्गानिक नै हो। पुँजी बृद्धि पनि हाम्रो योजनाअनुसार नै अघि बढिरहेको छ। मर्ज वा एक्वीजीशनका लागि एकदमै आकर्षक प्रस्ताव आयो भने किन हुँदैन भन्ने हो, तर हाम्रो योजनामा चाँही होइन।
 

अहिलेको नाफा, लगानीकर्ता दिने बोनसको दर, हकप्रद सेयर समेतलाई हेर्यो भने राष्ट्र बैंकले तोकेको आठ अर्ब पुँजी पुर्याउन धेरै कसरत गर्नुपर्दैन?
पक्का हो, हामीले धेरै कसरत गर्नुपर्दैन। हामीसँग मर्जरबाट क्यापिटल रिजर्भमा आएको रकममध्ये करिब आधा जति बाँकी नै छ। एक सय करोडमध्ये करिब ५० करोड बाँकी छ। त्यसपछि यस वर्षको नाफा छ। राम्रो प्रतिफल दिन सक्ने अवस्थामा हामी छौं। नपुगेको पुँजी बढाउने हाम्रो अहिलेसम्मको योजना राइट्स बाटै हो। यो ओपन सेक्रेट नै छ, राष्ट्र बैंकमा बुझाइसकेको योजना हो। हामीसँग अब एक वर्षको समय छ, यो अवधिमा बैंकको हित हुने, राम्रो लाभ हुने, इमेज बढ्ने अवसर आउँछ भने मर्ज र एक्वीजीशनमा पनि हामीले ढोका बन्द भने गरेका छैनौं।
 
अलिकति प्रसङ बदलौं, गत वर्षको तेस्रो त्रैमासिक अवधिको नतिजा र अहिले केही बैंकले सार्वजनिक गरेको चौथो त्रैमासिकको नतिजाले के देखायो भने बैंकिङ क्षेत्रमा भूकम्प र नाकाबन्दीको असर बाँकी छैन? बैंकले भूकम्प र नाकाबन्दीको असर विर्सिए पनि हुने भयो?
नाकाबन्दीको असर त थियो तर भूकम्पको असर चाहीँ हामीले सोचे जति भएन । त्यसमा के कारण हुनसक्छ भनेर पनि हामीले विश्लेषण गर्यौं। पहिलो, जुन जुन जिल्लाहरु भूकम्पबाट अति प्रभावित भए त्यहाँ बैंकहरुको उपस्थिति नौ न्युन थियो। दोस्रो, बैंकले कर्जा दिएपछि बीमा गरिएको हुन्छ। जुन व्यवसायमा क्षति पुग्यो त्यहाँ बीमा थियो। बीमाबाट क्षतिपुर्ति प्राप्त भयो। यसले उकास्यो।

तर नाकाबन्दीसँग भएको अवरोधले व्यवसायमा असर पर्यो। विशेषगरि वीरगञ्ज र त्यस आसपासमाका व्यापार व्यवसायमा असर गर्यो। त्यो क्षेत्रमा कर्जाको माग घट्यो। त्यसको क्षतिपुर्ति विराटनगर र भैरहवा क्षेत्रबाट भयो। यी क्षेत्रमा कर्जाको माग बढ्यो। नाकाबन्दी र त्यसलगतै भएको अवरोधमा सबै क्षेत्र ठप्प भएको होइन, केही ढिला भएको मात्रै हो। सामान आउन समय लाग्यो। ठप्पै भएको निकै थोरै उद्योगमा मात्रै हो, पर्यटनमा त्यस्तो असर पर्यो। व्यापार र रेमिटेन्स डोमिनेट व्यवसायमा ठूलो असर देखिएन।
 
राष्ट्र बैंकले भर्खरै मौद्रिक नीति सार्वजनिक गर्यो। केन्द्रिय बैंकले काउन्टर साइक्लिकल बफरको व्यवस्था गरेको छ। अब अर्को वर्षको नाफामा त यही बृद्धिदर त कायम नहोला?
काउन्टर सालक्लिङ बफरको व्यवस्था नराम्रो होइन् । यसलाई सामान्य रुपमा बुझ्दा समग्र अर्थतन्त्रले राम्रोसँग काम गरेको छैन भने अधिक क्रेडिट विस्तार राम्रो हुँदैन, यस्तो बेला बफरले जोगाउन सक्छ। यस्तो बेला कर्जा विस्तार नगर भन्नुभन्दा पनि कर्जा विस्तार गर्छौ भने थप क्यापिटल राख भनेको हो। नियमित रुपमा कर्जा विस्तार गरेर आवश्यक क्यापिटल राख्न कुनै समस्या छैन। रिटेन्सन चाँही बढ्छ, नगद दिनेभन्दा पनि बोनस दिएर नगद रिटेन्सन गर्ने क्रम बढ्छ।
 

तपाईहरुले, बैंकर्स एशोसिएसनले नै राष्ट्र बैंकलाई कर्जा निक्षेप अनुपात घटाइदिन आग्रह गरेको थियो, बैंकको पुँजी ठूलो भयो, निक्षेप र कर्जाको मात्रा पनि ठूलो भयो, अब सिडी रेसियो २० प्रतिसत चाहिँदैन भनेको थियो। तर राष्ट्र बैंकले त झन वफर पो बढाइदियो?
हाम्रो मागको लजिक के हो भने हामी दुई तिरबाट नियन्त्रित छौं । एउटा सिसिडि रेसियो र अर्को तरलताको रेसियोबाट। तरलताको रेसियोले के भन्छ भने तपाईको कुल सम्पत्तिको २० प्रतिसत तरल सम्पत्ति राख्नु पर्छ भन्छ। त्यो तरल सम्पत्ति नगद, सरकारी बण्ड वा अन्तरबैंक लगानीमा हुनुपर्छ।

यसबाट बैंकहरुले पाउने रिटर्न निकै थोरै छ। सय रुपैयाँ निक्षेप लिने अनि त्यसको २० रुपैयाँ एक प्रतिशतभन्दा पनि कममा लगानी गर्नुपर्ने, अनि ८० रुपैयाँ मात्रै कर्जा लगानी गर्ने अवस्था छ। यो अवस्थामा सिसिडि रेसियो ८० प्रतिसत भनेको छ, सँगसँगै २० प्रतिसत तरल सम्पत्ति राख्नुपर्छ। ८० प्रतिसत मै बस्दा पनि रेसिया २३ देखि २४ सम्म पुग्छ। हामीले त्यो मिसम्याच करेस्पोन्ड गरिदेउ भनेको हो।

सिसिडि २० हो भने तरलसम्पत्ति २४ किन चाहियो त, २० भए पुगि हाल्छ नि भनेको हो। सिसिडि रेसियो खुला छाडिदेउ भन्ने माग हाम्रो होइन। अन्तराष्ट्रिय नम्सअनुसार नै हाम्रो पनि सिस्टम बस्नुपर्छ। हामीले यो मिसम्याच मात्रै सुधार गरिदेउ भनेको हो।
 
मौद्रिक नीतिले गरेको अर्को परिवर्तन भनेको विपन्न वर्ग कर्जामा हो, बाणिज्य बैंकहरुलाई दुई प्रतिसत विपन्न वर्ग कर्जा आफै लगानी गर भनियो। यसमा बाणिज्य बैंकहरुले असहमति जनाए। लगानी गर्न नसक्ने नै भएर हो?
यसले सबैलाई गाह्रो पार्छ। अब राष्ट्र बैंकले निर्देशन कसरी जारी गर्छ त्यो हेर्न बाँकी छ। तत्काल एक वा दुई प्रतिशत विपन्न वर्ग कर्जा बैंकले नै लगानी गर्न त असम्भव नै छ। अहिलेको बैंकको बुक साइजका आधारमा करिब ७५ अर्ब यो क्षेत्रमा लगानी गरेका छन्। यो पाँच प्रतिसत हो। दुई प्रतिसत भनेको करिब ७५ अर्बको ४० प्रतिसत जति हुन्छ। यो क्षेत्रमा यति धेरै लगानी गर्नु भनेको त्यति सहज छैन। यो निकै ठूलो रकम हो। यो सोच कसरी आयो भन्ने कुरा नै हामीले बुझेका छैनौं।

स्पेशलाइज केही सस्थाहरु त्यही क्षेत्रमा काम गरिरहेका छन्। सरकारले विपन्न वर्गमा पनि पैसा जानुपर्छ भनेर सोचेको होला, त्यसमा कुनै आपत्ति होइन, ठीक कुरा हो। त्यही काम गर्न स्पेसलाइज फाइनान्सिल इन्ष्टिच्युसन नै बनाएका छौं । त्यो क्षेत्रमा पैसा जाने ग्यारेन्टी गर्न र उनीहरुलाई कर्जा दिने पैसाको कमि नहोस भन्नका लागि मेकानिजममा ध्यान दिएको भए राम्रो हुन्थ्यो।

अब त्यही क्षेत्रमा जाँदा माइक्रोफाइनान्सको भन्दा बैंकको कस्ट बढी हुन्छ। पुर्वाधारमा बैंकहरुको लागत धेरै गुणा बढी हुन्छ । धेरै लागत व्यहोरेर सानो सानो पैसा लगानी गर्न कठिन हुन्छ । बैंक भनेको त स्प्रेडमा काम गर्ने सस्था हो। त्यसले गर्दा अन्तिम उपभोक्तालाई नै भार पर्ने हो। बैंकले कस्ट त उठाउनै पर्छ । अर्को कुरा माइक्रोफाइनान्सले बैंकबाटै लिएको ७५ अर्ब रुपैयाँ लगानी गरेका छन्। बैंक आफैले लगानी गर्नुपर्ने भएपछि त्यो पैसा त बैंकमै फर्किहाल्छ। यसले ती सस्थाहरुलाई अप्ठ्यारो पर्छ। त्यसैले यसमा पुनर्विचार हुनुपर्छ।