राष्ट्र बैंकका गभर्नर करिब १० घण्टा कार्यकक्षमै घेरिए, एमाले समर्थित युनियनले रातीसम्म घेर्यो

बिजमाण्डू
२०७२ मंसिर २ गते ००:०० | Nov 18, 2015
राष्ट्र बैंकका गभर्नर करिब १० घण्टा कार्यकक्षमै घेरिए, एमाले समर्थित युनियनले रातीसम्म घेर्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीले गभर्नरलाई १० घण्टा भन्दा बढी समय कार्यकक्षमै घेराउ गरेका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी संघले गभर्नर डा. चिरञ्जीवी नेपाललाई विहान १० बजेदेखि बेलुका साढे आठ बजेसम्म कार्यकक्ष मै घेराउ गरेको हो । 
 
संघले यस अघि डेपुटी गभर्नर र प्रशासन प्रमुखलाई घेराउ गर्दै आएकोमा बुधबार देखि गभर्नरको कार्यकक्ष ठप्प बनाएको हो । सेवा सुविधा बृद्धिका ३७ सुत्रीय माग राख्दै केन्द्रिय बैंकमा संघले आन्दोलन गरिरहेको छ । 
सत्तारुढ दल नेकपा एमाले समर्थित यो युनियन मुलुक नाकाबन्दीको कारण चरम संकटतर्फ धकेलिएपछि सेवा सुविधा बृद्धिको माग राख्दै आन्दोलनमा उत्रिएको हो । केन्द्रिय बैंकमा रहेका अन्य दुई वटा युनियन भने आन्दोलनमा सहभागि छैनन् ।
 
भूकम्पले अर्थतन्त्र निकै कमजोर भएको बेलामा कर्मचारीको तलब बृद्धि गर्न नसकिने जवाफ गभर्नरले दिएपछि कर्मचारीले आन्दोलन चर्काएका हुन् । भूकम्पले मुलुकको अर्थतन्त्रमा निकै ठूलो असर परेको भन्दै सरकारले कर्मचारीको तलब तथा सुविधा बृद्धि गरेको थिएन । सरकारले कर्मचारीको तलब बढाउँदा केन्द्रीय बैंकले पनि आफ्ना कर्मचारीको तलब बढाउने गरेको थियो ।
 
कर्मचारीको अन्दोलनका कारण केन्द्रीय बैंकको नीतिगत काममा भने असर देखिएको छ । बुधबार देखि केन्द्रीय बैंकमा हुने बैठक, गभर्नरसँग अन्तर्राष्ट्रिय प्रतिनिधि तथा स्थानीय प्रतिनिधिहरुको भेटघाट र बोर्ड बैठक समेत प्रभावित भएको छ । 
कर्मचारीको मागका सम्बन्धमा वार्ता गर्न र समस्या समाधानका लागि डेपुटी गभर्नर गोपाल प्रसाद काफ्लेको संयोजकत्वमा समिति गठन गरेको भएको भएपनि संघले त्यो समितिसँग छलफल गरेको छैन । समितिले पुरा गर्न सकिने मागमा छलफल गर्न आग्रह गरेपनि संघले वेवास्ता गर्दै गभर्नरको कार्यकक्ष घेराउ थालेको हो ।
 
गत बैशाखमा गएको भुकम्पका कारण आर्थिक बृद्धि दर ३।०४ प्रतिशतमा झरेको छ । भारतको अघोषित नाकाबन्दी गरेपछि पेट्रोलियम पदार्थको हाहाकार छ । उद्योगधन्दा लगभग बन्द भएका छन् । करिव तीन महिना देखि मुलुकको आर्थिक क्षेत्र ठप्प छ ।
 
मुलुकको बिग्रिदो अवस्थाका वावजुद एमाले निकट कर्मचारीले आफ्नो व्यक्तिगत स्वार्थ पुरा गर्न तलव बृद्धिको माग राख्दै कडा आन्दोलनमा उत्रिएका हुन् । 
 
कर्मचारीले राखेको ३७ बुँदे मागका अधिकांस बुँदा आर्थिक लाभमा केन्द्रीत छन् । उनीहरुले पत्रपत्रिका खर्च बढाउनु पर्ने, घरभाडा सुविधा बृद्धि गर्नु पर्ने, खाजा खर्च ५० प्रतिशतले बढाउनु पर्ने, भ्रमण तथा पोशाक भत्तामा बृद्धि गर्नु पर्ने, कर्मचारीको टेलिफोनको विल बैंकले नै तिरिदिनु पर्ने, सुविधामा लाग्ने करहरु तिरिदिनु पर्ने जस्ता माग राखेका छन् ।
 
सरकारी कर्मचारीको हाराहारीमै राष्ट्र बैंकका कर्मचारीको बेसिक तलव हुने भएपनि अन्य सुविधाका कारण मासिक हात पर्ने रकम निकै मोटो हुन्छ । राष्ट्र बैंकको कार्यालय सहयोगीको मासिक वेसिक तलव १३९०० रुपैयाँ हुन्छ । 
 
उसले तलववाहेक मासिक रुपमा केन्द्रीय बैंक भत्ता भनेर आधा तलव बराबरको रकम पाउँछ । 
 
साथै बार्षिकोत्सव भत्ताका नाममा २१ दिनको तलव, असार मसान्तका दिनमा १४ दिनको तलव पनि अतिरिक्त पाउँछ । उसले भ्रमण भत्ता वेग्लै पाउँछ भने बिमा रकम एकमुष्ट लैजान पाउँछ । यस वाहेक कर्मचारीको परिवारकै स्वास्थ उपचार खर्च पनि केन्द्रीय बैंकले व्यहोर्छ । सबै गरेर एक कार्यलय सहायकले मासिक ३१४०० रुपैयाँ घर लैजान्छन् ।
 
कार्यालय सहयोगीदेखि गभर्नरसम्म वेसिक तलवको स्केल फरक परे पनि बाँकी सुविधा मोटामोटी उही हुन्छ । गभर्नरको वेसिक तलव ७८३०० रुपैयाँ छ भने डेपुटी गभर्नरहरुको ७०३०० रुपैयाँ छ ।
 

Tata
GBIME
Nepal Life