काठमाडौँ । ४० लाख जनसंख्या रहेको राजधानीका बासिन्दाहरुले सम्झनु पर्ने एउटा अर्को तालिका प्रकाशित भएको छ। बत्ती आउने नआउने थाहा पाउन लोडसेडिङ तालिका, पानी कहिले आउने थाहा पाउन त्यसको तालिका कण्ठ पारी त्यसै अनुसार जीविका चलाउन बाध्य बासिन्दाहरुले अब ग्यास किन्ने तालिका पनि याद गर्नुपर्ने भएको छ।
बजारमा चर्को अभाव भएपछि आपूर्ति मन्त्री सुनीलबहादुर थापा नै गएर तामझामका साथ उद्घाटन गर्दै सुरु गरिएको नेसनल ट्रेडिङबाट ग्यास बेच्ने अभियान दुई दिनमै फेल खाएपछि आयल निगमले नयाँ बिक्री योजना सार्वजनिक गरेको पहिलाेपाेस्ट अनलाइनले लेखेको छ ।
निगमले प्रकाशन गरेको सूचना अनुसार काठमाडौँ महानगरपालिकाका सात ठाउँमा एक दिन बिराएर आफूले जुन ठाउँमा ग्यास लिइरहेको हो, सोही ठाउँमा ग्यास किन्ने दिन छुट्याइएको छ।
ग्यास लिन ग्राहकले आफ्नो नाम र फोन नम्बर समेत टिपाउनु पर्नेछ।
हेर्नुस् सूचना-
भारतबाट कम ग्यास आएको मौका छोप्दै ग्यास उद्योगीलेनै अभाव सिर्जना गराएका थिए। डिसेम्बर महिनामा बरौनी रिफाइनरी मर्मतका कारण १८ हजार टन ग्यास आएपछि केही अभाव भएको थियो।
यही मौकामा उद्योगीले कोटा बढाउन भन्दै आयल निगमलाई असहयोग गरेपछि ग्यासको चरम अभाव भएको हो।