वीरगंज। आन्तरिक राजस्व कार्यालय वीरगंजले चालू आवको गत साउनदेखि कात्तिक मसान्तसम्म गरी चार महिनामा २ अर्ब १ करोड ९८ लाख ५३ हजार राजस्व असुलेको छ ।
कार्यलयले राजस्व विभागबाट सो अवधिको लागि पाएको २ अर्ब २० करोड ५६ लाख ४४ हजारको लक्ष्यको करिब ९१.५८ प्रतिशत राजस्व असुल गरेको कार्यालयका सूचना अधिकारी हृदयनारायण महतोले जानकारी दिए।
उनका अनुसार आयकरतर्फ ४० करोड ६ लाख ८८ हजार लक्ष्य पाएकोमा सोही अवधिमा लक्ष्यभन्दा ४२.६९ प्रतिशत बढी अर्थात ५७ करोड १७ लाख ५४ हजार संकलन गरेको छ।
यसैगरी मूअकरतर्फ ६६ करोड ८७ लाख ८० हजार लक्ष्य पाएकोमा लक्ष्यको ८८.४५ प्रतिशत अर्थात ५९ करोड १५ लाख ५३ हजार असुली भएको छ। अन्तशुल्कतर्फ १ अर्ब ९ करोड २ लाख ९१ हजार लक्ष्य पाएकोमा लक्ष्यको ७६.४६ प्रतिशत अर्थात ८३ करोड ३६ लाख ७९ हजार गरी कुल २ अर्ब १ करोड ९८ लाख ५३ हजार लक्ष्य पाएको जनाइएको छ ।
गत आव २०७७/०७८ को पछिल्लो चौमासिक अर्थात साउनदेखि कात्तिकसम्म २ अर्ब १५ करोड १३ लाख ३३ हजार लक्ष्य पाएकोमा लक्ष्यको ७७.३७ प्रतिशत अर्थात १ अर्ब ६६ करोड ४४ लाख ९ हजार असुली भएको थियो ।
गत आवको पहिलो चौमासिकभन्दा चालू आवको प्रथम चौमासिकमा करिब ४४ करोड बढि राजस्व उठेको कार्यालयले जनाएको छ ।
भन्सार अधिकारीका अनुसार त्यसैगरी आव २०७७/०७८ को १२ महिनामा कार्यालयले पाएको ९ अर्ब ८१ करोड ६८ लाख १२ हजारको लक्ष्य मध्ये ८२.९४ प्रतिशत अर्थात ८ अर्ब १४ करोड २१ लाख १ हजार राजस्व असुली गरेको थियो ।
गत आवको १२ महिनामा आयकरतर्फ कार्यालयले १ अर्ब ७९ करोड ५२ लाख ६० हजार लक्ष्य पाएकोमा ४१.४१ प्रतिशत बढि अर्थात २ अर्ब ५३ करोड ८६ लाख ९६ हजार संकलन गरेको थियो।
यस्तै उक्त अवधिमा मूअकरतर्फ १ अर्ब ४५ करोड ३७ लाख २ हजार लक्ष्य पाएकोमा ४४.४० प्रतिशत बढी अर्थात २ अर्ब ९ करोड ९० लाख ८७ हजार र अन्तःशुल्कतर्फ ६ अर्ब ४९ करोड १३ लाख १७ हजार लक्ष्य पाएकोमा जम्मा ५२.७१ प्रतिशत अर्थात ३ अर्ब ४२ करोड १७ लाख २८ हजार राजस्व असुली गरेको थियो ।