सेयर कारोबारमा दोहोरो आइजीनको विपक्षमा सेबोन अध्यक्ष भट्ट, सीडीएससीलाई दिए लागू नगर्ने संकेत



सुनिल कुँवर
२०८३ साउन १८ गते ०६:१० | Aug 3, 2026
सेयर कारोबारमा दोहोरो आइजीनको विपक्षमा सेबोन अध्यक्ष भट्ट, सीडीएससीलाई दिए लागू नगर्ने संकेत


काठमाडौं। आइपीओ बिक्रीपछि कम्पनीको दोहोरो इन्टरनेसनल सेक्युरिटी आइडेन्टिफिकेसन नम्बर (आइजीन)को विषयलाई लिएर संस्थापक लगानीकर्ताको सेयर नै बन्धक बनेको डेढ वर्षपछि बल्ल नेपाल धितोपत्र बोर्ड (सेबोन) सक्रिय बनेको छ।

Tata
GBIME

आइजीनका कारण कम्पनीको संस्थापक सेयर बिक्री र अभौतिकीकरण रोकिएपछि सेबोनले सीडीएससी र नेप्सेसँग छलफल गरेको छ। सेबोन अध्यक्ष डा. गोपाल भट्टले शुक्रबार नेप्से र सीडीएससीका कामु सीइओलाई बोलाएर सर्टसेलिङ र आइजीनको विषयमा छलफल गरेका हुन्।

सीडीएससीले धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिकामार्फत दोहोरो आइजीन प्रस्ताव गरेको एक वर्षपछि सेबोन सक्रिय बनेको हो।

सीडीएससीले पोहोर साउनमा आइपीओ बिक्रीपछि दोस्रो बजारमा सूचीकृत हुने कम्पनीमा संस्थापक र साधारणलाई छुट्टै आइजीन दिने प्रस्तावसहित निर्देशिकाको मस्यौदा बनाएर सेबोन पठाएको थियो। त्यसबारे सेबोनका नयाँ अध्यक्ष भट्टले छलफल थालेका हुन्।

सेबोन आइपीओपछि कम्पनीलाई दोहोरो आइजीन दिने सीडीएससीको प्रस्ताव लागू गर्ने पक्षमा नरहेको कर्मचारीहरूले बताएका छन्।

स्रोतका अनुसार अध्यक्ष डा. भट्टले सीडीएससी र नेप्सेका कामु सीइओसामु दोहोरो आइजीन अन्तर्राष्ट्रिय अभ्यासविपरीत भएकाले लागू गर्न नहुने कुरा राखेका छन्।

सेबोन अध्यक्ष डा. गोपाल भट्ट सीडीएससीकी निमित्त सीइओ कञ्चन सापकोटा लगायतसँग

‘हामीले आइजीनको विषय अन्तर्राष्ट्रिय अभ्यास अनुसार गर्छौं भनेर बोर्डको नीतिमै स्पष्ट रुपमा लेखेका छौं। अब त्यसैलाई कार्यान्वयनमा लैजाने तयारी अनुसार अध्यक्षज्यूले सबैसँग छलफल गरिरहनु भएको छ,‘ स्रोतले भन्यो, ‘संस्थापक र साधारण सेयरलाई छुट्टै आइजीन लागू गर्दा अन्तर्राष्ट्रिय अभ्यासविपरीत हुन्छ। यो हाम्रो मात्रै विषय होइन। त्यसैले कम्पनीको संस्थापक र साधारण सेयरमा यसअघिको व्यवस्था नै कायम रहन्छ।’

लकइन अवधि सकिएका कम्पनीका संस्थापक सेयरको बिक्री समेत दोहोरो आइजीनको सीडीएससीको प्रस्तावका कारण रोकिएको छ। सीडीएससीले संस्थापक र साधारण सेयरलाई एउटै आइजीनमा कारोबार गर्न नदिंदा संस्थापकहरूको लगानी बन्धक बनेको हो।

लकइन सकिएको डेढ वर्षसम्म संस्थापक लगानीकर्ताले सेयर किनबेच गर्न पाएका छैनन्। पछिल्लो समय लकइन सकिएका कम्पनीका संस्थापकको सेयर बिक्री पनि रोकिएको छ।

दोहोरो आइजीनलाई लिएर इनर्जिङ नेपालका संस्थापकले लकइन सकिएको डेढ वर्षसम्म संस्थापक सेयर खरिद बिक्री गर्न पाएका छैनन्। कम्पनीको संस्थापक सेयरमा २०८१ फागुनमा लकइन सकिएको थियो।

२०८२ फागुनमा लकइन अवधि सकिएको कालिञ्चोक दर्शनको संस्थापक सेयरमा पनि यही समस्या छ। कम्पनीका संस्थापक सेयरधनीले लकइन अवधि सकिए पनि बेच्न पाएका छैनन।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली अनुसार आइपीओ निष्कासन गरेको तीन वर्षसम्म संस्थापक सेयर लकइनमा रहन्छ। यो बीचमा संस्थापकहरूले सेयर बेच्न पाउँदैनन्।

बैंक तथा वित्तीय संस्था बाहेकका कम्पनीको हकमा लकइन अवधि सकिएपछि सर्वसाधारण सरह कारोबार हुन्छ। तर, इमर्जिङ नेपाल र कालिञ्चोक दर्शनको संस्थापक सेयर किनबेच सीडीएससीले रोकेको छ।

इनर्जिङ नेपाल र कालिञ्चोक दर्शनको अहिले संस्थापक र साधारण सेयरको छुट्टै आइजीन छ। लकइन अवधि सकिएपछि दुईवटै सेयर एउटै आइजीनमा कारोबार हुने यसअघिको अभ्यासलाई सीडीएससीले रोकेपछि संस्थापक सेयर बन्धक बनेको हो।

लकइन सकिएका सेयरको खरिद बिक्री मात्र नभइ आइपीओ निष्कासनपछि संस्थापक सेयरको अभौतिकीकरण नै डेढ वर्षदेखि रोकिएको छ। आइपीओ बिक्रीपछि दुई दर्जन कम्पनीको सेयर सीडीएससीले अभौतिकीकरण नगर्दा संस्थापककै डिम्याट खातामा देखिएको छैन।

कम्पनीको सेयरमा दोहोरो आइजीन लागू गर्ने सीडीएससीको प्रस्तावको ऊर्जा उत्पादकहरूले विरोध गर्दै आएका छन्।

सीडीएससीकी तत्कालीन प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकले दोहोरो आइजीन लागू गराउनका लागि गत वर्ष साउनमा धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ को मस्यौदा सेबोनमा पठाएकामा तत्कालीन अध्यक्ष सन्तोषनारायण श्रेष्ठले रोकेर राखेका थिए।

सन्तोषनारायण अनिर्णित बनेको निर्देशिका अहिले पनि सेबोनको संचालक समितिमै छ। सन्तोषनारायण सेबोनबाट गत वैशाख पहिलो साता बिदा भएपछि असार दोस्रो सातादेखि डा. भट्ट अध्यक्षको जिम्मेवारीमा छन्।

भट्टले आइजीनको विषय नेप्से र सीडीएससीसँग थप छलफल गरेर निष्कर्षमा पुर्‍याउन चाहेको सेबोन स्रोतले बतायो।