काठमाडौं। व्यवसाय विस्तार प्रभावित भएर लागत घटाउने उपाय सोचिरहेका बैंक तथा वित्तीय संस्थाले दोस्रो चरणमा उपहानगरपालिकाभित्रका शाखा पनि बन्द वा समायोजन गर्न पाउने भएका छन्।
बढ्दो डिजिटलाइजेसनले बैंक तथा वित्तीय संस्थामा सेवाग्राहीको भैतिक उपस्थिति घटिरहेको सन्दर्भमा नेपाल राष्ट्र बैंकले उपमहानगरपालिकाभित्रका शाखा बन्द वा समायोजन गर्न दिने भएको हो। बैंक तथा वित्तीय संस्थाले अहिले महानगरभित्रका शाखा बन्द तथा समायोजन गर्न पाइरहेका छन्।
दोस्रो चरणमा उपमहानगरभित्रका शाखा बन्द वा समायोजन गर्न दिने तयारी भइरहेको राष्ट्र बैंकका एक अधिकारीले बताए।
‘डिजिटल कारोबार निरन्तर बढ्दो छ। बैंकहरुले १० लाखसम्मको कर्जा अनलाइनबाट नै दिइरहेका छन्,’ ती अधिकारीले भने,’ त्यसैले उपमहानगरभित्र छोटो दूरीमा रहेका शाखा बन्द गर्नलाई अनुमति दिनुपर्छ भन्ने निष्कर्षमा पुगेका हौं।’
अहिले बैंकिङ कारोबारका लागि बैंकमा जानुपर्ने धाउनुपर्ने बाध्यता छैन। कर्जा स्वीकृति बाहेकका कारोबार बैंकमा नगइ सम्भव हुन्छ। शहरी मात्र नभइ ग्रामिण क्षेत्रमा समेत अहिले अनलाइन कारोबार बढिरहेको छ।
पछिल्लो एक महिनामा मोबाइल बैंकिङमार्फत ७ करोड ८८ लाख ९२ हजार पटकमा ६ खर्ब १२ अर्ब ३९ करोड रुपैयाँ कारोबार भएको छ।
त्यसैगरी, क्यूआरमार्फत एक महिनामा ५ करोड ९२ हजार ६३ हजार पटकमा १ खर्ब ६२ अर्बको कारोबार भएको छ। कोभिडपछि निरन्तर यस्तो कारोबार वृद्धि भएको छ।
ग्राहकहरु डिजिटल कारोबारमा अभ्यस्त हुँदै जाँदा बैंकहरुले डिजिटल सुरक्षामा लगानी बढाइरहेका छन्।
राष्ट्र बैंकको सहजीकरणका कारण बैंक तथा वित्तीय संस्थाले पछिल्लो १० महिनामा १६७ वटा शाखा घटाएका छन्। चालु आर्थिक वर्ष वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाका शाखा ११ हजार ३५९ वटा छन्। पोहोर असारसम्म शाखा संख्या ११ हजार ५२६ थियो।
कुमारी, आइसी एसिया, प्राइम कमर्सियल, नेपाल इन्भेष्टमेन्ट मेगा, एभरेष्ट, प्रभु, एनएमबि, मुक्त्तिनाथ विकास, महालक्ष्मी विकास र सप्तकोशी डेभलपमेन्ट बैंकले शाखा बन्द गरेका हुन्।
बैंकमा ग्राहकको भौतिक उपस्थिति घटिरहेको अवस्थामा महानगरभित्रका शाखा बन्द वा समायोजन गर्न पाउने सुविधाले खर्च कटौती गर्न सहयोग पुगेको बैंकरहरुले बताएका छन्।
‘डिजिटलाइजेसनका कारण शहरी क्षेत्रका शाखामा ग्राहकहरुको उपस्थिति घटिरहेको छ जसले गर्दा हामीले कतिपय शाखाको औचित्य नदेखेको अवस्थामा राष्ट्र बैंकले बन्द वा समायोजन गर्न सहजीकरण गरेकाले राहत पुगेको छ,’ एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले भने, ‘शाखा घटाउन पाउँदा हाम्रो सञ्चालन खर्च कटौती भएको छ।’
बैंकरहरुले लगानीयोग्य रकम प्रणालीमा थुप्रिरहेको र ग्राहकहरुमा डिजिटल रुपमा नै कारोबार गर्ने बानी बढेको अवस्थामा शाखा संख्या अझै घटाउनुपर्ने देखेका छन्।
‘अहिले व्यवसाय बढाउन सकिएको छैन। तरलता थुप्रिएको छ,’ ती सीइओले भने,’ आर्थिक गतिविधि सुस्त हुँदा असुलीमा समेत समस्या छ। यस्तो अवस्थामा खर्च कटौती गर्न थप शाखा पनि समायोजन गर्न आवश्यक देखिएको छ।’
यस अवधिमा केही बैंकले भने शाखा विस्तार समेत गरेका छन्। राष्ट्रिय वाणिज्य बैंकका सीइओ देवेन्द्ररमण खनालले व्यवसायको अवसर देखेर शहरीदेखि ग्रामिण क्षेत्रमा शाखा विस्तार गरेको बताए।
‘राष्ट्र बैंकले महानगरभित्रका शाखा बन्द र समायोजन गर्न दिएको छ। शाखा बन्द गर्ने वा विस्तार गर्ने लगानी रणानीति अनुसार हुन्छ,’ उनले भने, ‘बिजनेसको अवसर हेरेर हामीले कतिपय ठाउँमा शाखा बढाएका छौं।’











