
काठमाडौं । व्यावसायिक सम्भाव्यता अध्ययन नै नगरी शाखा विस्तारमा प्रतिस्पर्धा गरेका बैंकहरु अहिले आफैं बन्द गर्न तम्सिएका छन्।
अन्धाधुन्ध खोलिएका शाखामार्फत व्यवसाय बढाउन नसकेपछि बैंकहरु अहिले बन्द गर्न तम्सिएका हुन्। संचालन खर्च नै ‘भारी’ परेपछि बैंकहरुले त्यस्ता शाखा बन्द गर्नका लागि हारगुहार थालेका हुन्।
शाखा बन्द गर्न राष्ट्र बैंकको अनुमति चाहिन्छ। वाणिज्य बैंकका शाखा मंसिर मसान्तसम्म देशभर ५ हजार ७० रहेकामा २०० भन्दा बढी शाखा बन्द गर्न अनुमति मागिएको छ।
नयाँ व्यवसाय बढाउन नसकिने र पुरानो असुलीमा सुधार नहुँदा बढ्दो प्रोभिजनिङले नाफा प्रभावित हुन थालेपछि संचालन खर्च घटाउने उपायस्वरुप बैंकहरुले शाखा घटाउन खोजेका हुन्। उनीहरुलाई यतिखेर विगतमा शाखा विस्तारमा प्रतिस्पर्धा गरेकामा पछुतो लागिरहेको छ।
पछिल्लो दुई वर्षयता आर्थिक गतिविधि सुस्त भइ व्यवसाय बढाउन नसक्दा आम्दानी खुम्चिन थालेकाले शाखा बन्द गर्न खोजेको एक बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ)ले बताए।
‘कतिपय शाखाको खर्च आम्दानीभन्दा धेरै रहेको अवस्था छ। अरु शाखाको पनि असुली प्रभावित भइरहेको छ। यस्तो अवस्थामा सबै शाखालाई निरन्तरता दिन सकिँदैन। बन्द गराउनुको विकल्प छैन,’ ती सीइओले भने, ‘विगतमा अन्धाधुन्धरुपमा शाखा खोलेकै हो। सानो बजार क्षेत्र देख्नासाथ व्यावसायिक सम्भाव्यता अध्ययन नगरी शाखा विस्तार गरि निक्षेप संकलन र कर्जा प्रवाहका लागि हानथाप गरेकै हो। अहिले ठूला सहरमा त कर्जाको माग छैन भने सानातिना बजारमा के व्यवसाय गर्न सक्नु र?’
चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा बैंकहरुको खराब ऋण बढेर ४.४८ प्रतिशत पुगेको छ भने मुनाफा ४.६२ प्रतिशतले खुम्चिएको छ। बिग्रँदो ब्यालेन्स सिटका कारण पनि बैंकहरु यतिखेर खर्च कटौतीको उपाय खोज्नतिर लागेका हुन्।
‘कर्जा असुली प्रभावित भएको छ। नयाँ ऋणको माग छैन। अपरेटिङ कस्ट हाइ छ तर बिजनेस ग्रोथ छैन। जसले गर्दा घाटामा जाने शाखाको संख्या थपिँदो छ। देशको आर्थिक अवस्था सुधार हुन्छ भनेर कहिलेसम्म कुरिरहने?,’ अर्का बैंकका सीइओले भने, ‘यस्तो बेला शाखा नघटाए बैंकको नाफा अझै घट्छ। सेयरधनीलाई के जवाफ दिने?’
दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकहरुले ६ महिनामा २७ अर्ब ४३ करोड रुपैयाँ खुद नाफा कमाए पनि प्रतिफल क्षमता ३ अर्ब ७९ करोड रुपैयाँले ऋणात्मक छ।
अहिलेका सबै शाखालाई निरन्तरता दिए बैंकको खुद नाफा थप घट्ने निष्कर्षमा बैंकहरुले बन्द गर्नका लागि राष्ट्र बैंकसँग अनुमति मागेका छन्। राष्ट्र बैंकका अधिकारीहरुका अनुसार एउटै बैंकले १०० वटासम्म शाखा बन्द गर्न अनुमति मागेको अवस्था छ।
बढ्दो डिजिटलाइजेसनले अधिकांश सेवा अनलाइनबाट दिन थालेका कारण पनि बैंक तथा वित्तीय संस्थाहरु कतिपय शाखा नचाहिने निष्कर्षमा पुगेका हुन्।
‘डिजिटलाइजेसनले अधिकांश सेवा अनलाइनबाट दिन सकिन्छ भन्ने प्रक्षेपण नगरि एकोहोरोरुपमा शाखा विस्तार गरियो। अहिले बैंकिङ सर्भिस हातहातमै छ। सहरी क्षेत्रकै शाखामा ग्राहकहरु भौतिकरुपमा उपस्थित हुने क्रम घटेको छ,’ ती सीइओले भने, ‘मोबाइल र इन्टरनेट बैंकिङको सुविधाले अहिले धेरै परिवर्तन भयो। कर्जा दिने र मुद्दती खाता खोल्ने काम पनि फोनबाटै हुन थाल्यो। त्यसकारण कतिपय शाखाको औचित्य रहेन।’
राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेलले पछिल्लो समय शाखा बन्दका लागि अनुमति माग्ने क्रम बढिरहेको बताए।
‘आर्थिक शिथिलताका कारण बैंकका कतिपय शाखाले व्यवसाय गर्न सकिरहेका छैनन्। दोस्रो त्रैमासको रिपोर्टमा पनि यो देखिन्छ। त्यसमा फेरि अहिले बैंकिङको सिनारियो चेन्ज हुन पुग्यो,’ पौडेलले भने, ‘कारोबारका लागि ग्राहकहरु बैंकका शाखामा जान छोडे। हातबाटै सबै किसिमको सेवा पाएपछि बैंकमा धाइरहनुपर्ने कुरा पनि भएन। कर्जा डिजिटल भइसक्यो। अनलाइनबाट अप्लाई गरेपछि अनलाइनबाटै अप्रुभल हुने सिस्टम छ। अन्य पेमेन्ट पनि डिजिटाइज भइसकेको छ। त्यही कारण पनि बैंकले शाखा घटाउन चाहिरहेका हुन्। विभिन्न बैंकले २०० भन्दा बढी शाखा बन्द गराउन चाहेका छन्।’
त्यसो त बैंक तथा वित्तीय संस्थालाई गाउँ गाउँमा जान सरकार र राष्ट्र बैंकले पनि बाध्य पारेका थिए। सबै स्थानीय तहमा वित्तीय पहुँच पुर्याउने सरकारको नीतिका कारण पनि बैंकहरु गाउँसम्म शाखा खोल्न बाध्य भएका थिए।
७७ जिल्लामा हाल बैंक तथा वित्तीय संस्थाका ६ हजार ४९१ वटा शाखा छन्। तीमध्ये सबैभन्दा धेरै ३५९ शाखा एनआईसी एसिया बैंकका हुन्।
राष्ट्र बैंकले शाखा बन्द गर्न दिने/नदिनेबारे निर्णय गरिसकेको छैन। निर्णय नभए पनि राष्ट्र बैंक खासगरी सहरी क्षेत्रमा शाखा संख्या घटाउन लचिलो छ।
‘सहरी क्षेत्रमा एउटै ठाँउमा ५० भन्दा बढी शाखा छन। काठमाडौंको न्यूरोड, पोखराको न्यूरोड र विराटनगरको मुख्य क्षेत्रमा धेरै शाखा देखिन्छन्। यस्तो ठाँउमा शाखा केही घटाउन सकिन्छ,’ पौडेलले भने।
राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा ‘व्यावसायिकरुपमा भायबल नदेखिएका ठाउँमा शाखा बन्द गर्न दिनुपर्छ’ भन्छन्।
‘व्यवसाय नै गर्न सक्ने अवस्था छैन भने राष्ट्र बैंकले शाखा बन्द गर्न दिनुपर्छ। बैंकहरुको वित्तीय अवस्था बिग्रिरहेको राष्ट्र बैंकलाई पनि थाहा छ,’ थापाले भने, ‘अब कुनै ठाउँमा शाखा नभइ हुँदैन भने सरकारले अनुदान दिनुपर्छ। बैंकलाई घाटा सहेर पनि चलाउनुपर्छ भनेर दबाब दिनु गलत हुन्छ।’
१८ वर्षमाथिको उमेरका सबैको खाता रहेको मान्ने हो भने अहिले बैंक तथा वित्तीय संस्थाका एउटा शाखाले २ हजार ८६३ जनालाई सेवा दिइरहेका छन्। छिमेकी मुलुक भारतमा बैंकको एउटा शाखाले ५ हजार ८०० ग्राहकलाई सेवा दिने गरेको छ।