काठमाडौं। नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ११६ र डिजेल र मट्टितेलको ९९ रुपैयाँ पुगेको छ।
साथै, हवाई इन्धनको आन्तरिकतर्फ साविकको मूल्यमा ५ रुपैयाँ वृद्धि गरी ७२ रुपैयाँ प्रतिलिटर पुर्याएको छ। त्यस्तै, अन्तर्राष्ट्रियतर्फ २५ डलर वृद्धि गरी ८९३ अमेरिकी डलर प्रतिकिलोलिटर पुर्याएको छ।
मूल्य बढाउँदा समेत निगमलाई पेट्रोलमा ८ रुपैयाँ ४२ पैसा र डिजलमा प्रति लिटर ६ रुपैयाँ ५६ पैसा घाटा छ। निगमलाई एक सिलिण्डर ग्यासमा ३ सय ९२ रुपैयाँ ८२ पैसा छ। मूल्य बढाउँदा समेत निगमको नोक्सानी १५ दिनको मात्रै १ अर्ब ३२ करोड रुपैयाँ रहेको दाबी छ।