काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)अध्यक्ष सन्तोषनारायण श्रेष्ठले आफैंले स्वीकृति गरेको सेयर बजार सूचकांक गणनाको विषयमा अध्ययन गर्न ६ महिनापछि समिति बनाएका छन्।
सेयर कारोबारको अन्तिम १५ मिनेटको मूल्यको भारित औसतका आधारमा कम्पनीको अन्तिम मूल्य तय गर्ने नेप्सेको प्रस्ताव स्वीकृत गरेका सन्तोषनारायणले अहिले उपकार्यकारी निर्देशक दीपेश ताम्राकारको संयोजकत्वमा अध्यययन समिति बनाएका हुन्।
समितिमा ताम्राकारसहित ४ सदस्य छन्। वित्तीय अवस्था नाजुक भएका तथा लोक्याप कम्पनीको सेयर मूल्य उचाल्न अन्तिममा आएर बजारमा हुने चलखेल रोक्न नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली संशोधनको प्रस्ताव सन्तोषनारायणसमक्ष गरेको थियो।
सन्तोषनारायणले गत फागुनमा विनियमावली स्वीकृति गरेपछि नेप्सेले चैतदेखि अन्तिम १५ मिनेटको कारोबारको भारित औसतका आधारमा अन्तिम सूचकांक गणना हुने व्यवस्था कार्यान्वयन गरिरहेको छ।
सेयर बजारको कारोबार सत्रमा २:४५ देखि ३ बजेसम्म कायम मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानेर गणना हुन्छ।
आफैंले स्वीकृति दिएको विषयबारे अध्ययन गर्न सन्तोषनारायणले समिति बनाएपछि सेबोनका कर्मचारी नै चकित परेका छन्।
‘नेप्सेले कारोबारको अन्तिममा हुने चलखेल रोक्न ल्याएको प्रस्ताव सन्तोषनारायण आफैंले स्वीकृत गरेका हुन्। त्यतिबेला ठिक छ भनेर स्वीकृत गर्ने अनि अहिले आफैं अध्ययन समिति बनाउने लाजमर्दो भयो,’ सेबोनका एक कर्मचारीले भने।
सेबोनका सहप्रवक्ता तोलाकान्त न्यौपाने लगानीकर्ताको गुनासो आएपछि सेबोनले अध्ययन समिति बनाएको बताउँछन्। ‘लगानीकर्ताबाट गुनासो आएपछि अध्ययन गर्न सेबोनले समिति बनाएको हो। त्यसमा अन्यथा केही छैन। समितिले थप अध्यनन गर्नेछ,’ उनले भने।
सूचकांक गणनामा लगानीकर्ताले प्रश्न गर्न थालेपछि नेप्सेले स्पष्टीकरण दिइसकेको। आफैंले स्वीकृति गरेको विनियमावलीका विषयमा ६ महिनामै अध्ययन समिति बनाउनु हास्यास्पद भएको नेप्सेका कर्मचारीहरु बताउँछन्।
‘नेप्सेको बोर्ड छ। त्यसले अध्ययन गरेरै यो विषय सेबोनमा पठाएको हो। सेबोनमा पनि अध्यक्षसहित विज्ञ सञ्चालक छन्। कम्पनीको सेयर मूल्य अन्तिममा उचाल्ने प्रवृत्ति रोक्न यो अन्तर्राष्ट्रिय असल अभ्यास हो भन्ने उनीहरुलाई पनि थाहा छ। तर, अहिले आएर अध्ययन समिति बनाउनु हास्यास्पद छ,’ नेप्सेका कर्मचारी भन्छन्।











