
काठमाडौं। नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य बुधबार कारोबार खुलेदेखि निरन्तर ओरालो लाग्यो। बैंकको सेयर भाउ बजार बन्द हुनु १० सेकेण्ड अघिसम्म घटेको थियो। अन्तिम १० सेकेन्डमा बैंकको भाउ एकाएक ७ रुपैयाँ बढ्यो।
अन्तिम समयमा मूल्य उचालेको यो पहिलो पटक होइन। नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले धेरै कम्पनीका हकमा अन्तिम समयमा स्वाभाविक नलाग्ने गरी मूल्य बढाएको देखेको छ।
अन्तिम समयमा हुने अस्वाभाविक चलखेल रोक्न नेप्सेले नयाँ व्यवस्था लागू गरेको छ। धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा चौंथो संशोधन गरेर नेप्सेले १५ मिनेटको अवधि तोकेर क्लोजिङ प्राइसमा भारित औसतबाट मूल्य तय हुने व्यवस्था लागू गरेको हो।
नेप्सेको सञ्चालक समिति बैठकले बिहीबारदेखि सेयर कारोबारको अन्तिम १५ मिनेटको मूल्यको भारित औसतका आधारमा कम्पनीको मूल्य तय गर्ने व्यवस्था लागू गर्ने निर्णय गरेको छ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले १५ मिनेटको कारोबार मूल्यको भारित औसत मूल्यलाई अन्तिम मूल्य तय गर्ने गरी गरिएको व्यवस्था बिहिबारदेखि कार्यान्वयन गर्ने बताए।
‘सेयर बजारको कारोबार सत्रमा २:४५ देखि ३ बजेसम्म कायम कम्पनीको मूल्यको भारित औसत मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने व्यवस्थासहित संशोधन गरिएको विनियमावली नेप्से बोर्डले लागू गर्ने निर्णय गरेको छ,’ उनले भने।
अन्तिम १५ मिनेटमा कम्पनीको कुनै सेयर कारोबार नभएमा पछिल्लो कारोबार मूल्यलाई अन्तिम कारोबार मूल्य मानिने छ।

अहिलेसम्म कम्पनीको अन्तिम पटकको कारोबार मूल्य त्यसदिनको अन्तिम मूल्य कायम हुँदै आएको छ। कतिपय कम्पनीका हकमा अन्तिम समयमा मूल्य अस्वाभाविकरुपमा उचाल्ने गरिएकाले त्यसलाई रोक्ने उद्देश्यसहित भारित औसत मूल्य लागू गरेको नेप्सेको भनाइ छ।
‘एउटा कारोबारबाट कम्पनीको मूल्य निर्धारण र बजारमा म्यानुपुलेसन नहोस् भन्ने उद्देश्यले नेप्सेले भारित औसतका आधारमा मूल्य निर्धारणको व्यवस्था लागू गरेका हौं,’ नेप्सेका प्रवक्ता पराजुलीले भने, ‘यसले बजारमा अन्तिममा आएर कम्पनीको मूल्य बढ्छ वा घट्छ भन्ने गुनासो सम्बोधन हुन्छ। मार्केटलाई फेयर बनाउँछ।’
सेयर कारोबारमा कम्पनीको अन्तिम मूल्य निर्धारणका लागि लागू अन्तर्राष्ट्रिय अभ्यास अध्ययन गरेर १५ मिनेटको विधि अनुकूल हुने देखिएपछि कार्यान्वयनमा ल्याएको नेप्सेको भनाइ छ। नेप्सेको प्रणालीले नै कम्पनीको १५ मिनेटको कारोबार मूल्यको औसत निकालेर अन्तिम मूल्य निर्धारण गर्नेछ।
नेप्सेले ओपनिङमा माग र आपूर्तिको आधारमा प्रणालीबाटै कम्पनीको औसत मूल्य निर्धारणको व्यवस्था कार्यान्वयन गरिरहेकामा क्लोजिङमा पहिलो पटक लागू गरेको हो। कारोबारको अन्तिम कायम मूल्यका आधारमा भोलिपल्ट २ प्रतिशत सीमाभित्र रहेर कारोबार खुल्छ।

अहिले कारोबार खुल्नु आधा घण्टा पहिले नै अर्डर प्रणालीमा बस्छ। त्यसकै औसतका आधारमा प्रणालीले नै कारोबार खुल्नु एक मिनेटअघि ओपनिङ मूल्य निर्धारण गर्छ।
खराब वित्तीय अवस्था भएका लोक्याप कम्पनीको सेयर मूल्य कारोबार अवधिभर ओरालो लागेर अन्तिममा एकैपटक पोजेटिभ सर्किट लाग्ने गरेको पृष्ठभूमिमा १५ मिनेटको औसत कारोबारका आधारमा मूल्य तय गरिने व्यवस्थाले बजारमा शुद्धीकरण हुने जानकारहरुको विश्वास छ।