Bizmandu Exclusive: सासुआमालाई अवैध ‘बिजनेस’ दिएर दीपक भट्टले हिमालयन रिबाट लगे ५२ करोड



सुदर्शन सापकोटा
२०८२ साउन १३ गते ०९:२९ | Jul 29, 2025
Bizmandu Exclusive: सासुआमालाई अवैध ‘बिजनेस’ दिएर दीपक भट्टले हिमालयन रिबाट लगे ५२ करोड

काठमाडौं। सरकारी ठेक्कापट्टा, लाइसेन्स, कर्मचारी सरुवा, बढुवा तथा नियुक्तिमार्फत लाभ लिनका लागि २५ व्यावसायिक घरानालाई मिलाएर ‘प्रिपेड’ समूह तयार पारेका विवादास्पद व्यवसायी दीपक भट्टले सरकारी र सर्वसाधारणको लगानी भएको कम्पनीमा समेत धोकाधडी गरेको बिजमाण्डूले फेला पारेको छ।

Tata
GBIME
Nepal Life

भट्टले यो घोकाधडीमार्फत हिमालयन रिइन्स्योरेन्सलाई आधा अर्ब रुपैयाँभन्दा बढी क्षति पुर्‍याएका छन्। यसका लागि उनले ‘कर्पोरेट भेहिकल’का रुपमा सासुआमा र श्रीमतीका नाममा कम्पनी र खाता खोली ‘प्लेसमेन्ट तथा लेयरिङ’ समेत गरेका छन्।

पब्लिक लिमिटेड कम्पनीका रुपमा रहेको हिमालयन रिइन्स्योरेन्सलाई वित्तीय क्षति हुँदा कम्पनीमा ३० प्रतिशत सेयरधनी रहेका सर्वसाधरण र १० प्रतिशत स्वामित्व राख्ने सरकार नियन्त्रित दुई बैंक- नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकलाई पनि ठूलो हानि भएको छ।

हिमालयन रिइन्स्योरेन्स, त्यही कम्पनी हो जो लाइसेन्स लिँदा, संस्थापकलाई सेयर बाँडफाँट गर्दा र सर्वसाधारणलाई प्रिमियममा सेयर जारी गर्दा विवादित बनेको थियो। एकल स्वामित्वको इन्फिनिटी होल्डिङमार्फत साढे चार प्रतिशत सेयरधनी रहेका भट्टको हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति र व्यवस्थापनमा गहिरो पकड छ। र, यो कम्पनीमा उनका ‘प्रिपेड समूह’को महत्त्वपूर्ण लगानी समेत छ।

कर्पोरेट भेहिकल बन्यो एलियन्ट

कुनै पनि संस्थाबाट गैरकानुनी लाभ लिने र त्यो लाभलाई विभिन्न कम्पनी तथा बैंक खाता (कर्पोरेट भेहिकल)मार्फत अन्तिम हिताधिकारीमा ‘ट्रान्सफर’ गर्ने विषयलाई सम्पत्ति शुद्धीकरणको भाषामा ‘लेयरिङ वा प्लेसमेन्ट’ भनिन्छ।

पछिल्ला दुई आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा सासुआमाको कम्पनी र श्रीमतीको खाता हुँदै भट्टले लेयरिङ र प्लेसमेन्टमार्फत हिमालयन रिइन्स्योरेन्सबाट ५२ करोड रुपैयाँ लगेका छन्। र, त्यसको अधिकांश हिस्सा भट्टको सिद्धार्थ बैंकमा रहेको व्यक्तिगत खातामा पुगेको छ।

हिमालयन रिइन्स्योरेन्सबाट गैरकानुनी लाभ लिनका लागि भट्टले सबैभन्दा पहिले २०७८ फागुन १६ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा २८५३८३ दर्ता नम्बर भएको एलियन्ट इन्स्योरेन्स ब्रोकर प्रालि नामको कम्पनी खोले। हिमालयन रिइन्स्योरेन्सले पनि त्यही साल जेठ २३ गते स्थापना भएर असार ३१ गते कारोबार सुरु गरेको थियो।

यो कम्पनीकी सेयरधनी हुन्, मोरङको विराटनगर महानगरपालिका वडा नम्बर १६ रानीमा स्थायी ठेगाना भएकी अन्जना नेपाल। महालक्ष्मी विकास बैंकमा खाता खोल्दा भर्नुपर्ने ‘नो योर कस्टमर’ (केवाइसी) फाराममा अन्जनाको पेसामा लेखिएको छ : साधारण गृहिणी।

अन्जनाकी छोरी आयुष्मा नेपाल भट्ट दीपक भट्टकी श्रीमती हुन्। एउटा छोरा अमेरिकामा रहेकाले अन्जना पनि प्रायजसो उतै बस्छिन्। त्यही भएर यो कम्पनी सञ्चालनमा प्रयोग भएका सेयर दर्ता किताब, प्रबन्ध पत्र, नियमावली र वित्तीय विवरणहरुमा अन्जना नेपालका हस्ताक्षर पुरै फरक-फरक छन्।

कम्पनी स्थापना भए पनि साधारण गृहिणीका नामबाट झण्डै पाँच करोड रुपैयाँ लगानी गर्ने सम्भावना रहँदैन। त्यही भएर एलियन्ट इन्स्योरेन्स ब्रोकरमा लगानी पनि अर्कै व्यक्तिबाट आएको छ। २०७८ फागुन १६ गते दर्ता भएको कम्पनीको नेपाल इन्भेष्टमेन्ट बैंकमा चैत ११ गते खाता खुलेको थियो।

कसरी पुग्यो हिमालयनबाट पैसा एलियन्टमा?

यसरी कम्पनी खोलेपछि त्यो आर्थिक वर्ष एलिएन्ट इन्स्योरेन्स ब्रोकरले खातामा आएको पैसालाई फिक्स्ड डिपोजिट गरेर आर्थिक वर्ष २०७८/७९ मा ब्याज आम्दानी मात्रै गरेको छ। र, त्यो नगण्य मात्रै छ।

भट्टले एलियन्टमार्फत हिमालयन रिइन्स्योरेन्सबाट आफ्नो खातामा पैसा ल्याउने खेल भने अर्को आर्थिक वर्ष २०७९/८० बाट सुरु गरेका छन्। एलियन्टको आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरणअनुसार कम्पनीले रिइन्स्योरेन्स ब्रोकरेजबापत २६ करोड २८ लाख ३७ हजार ८०२ रुपैयाँ आम्दानी गरेको देखिन्छ।

हिमालयन रिइन्स्योरेन्सको त्यो आर्थिक वर्षको वित्तीय विवरणको क्यास फ्लोमा ‘ब्रोकरेज’ भुक्तानी भनेर कम्पनीले २५ करोड ४ लाख ८७ हजार रुपैयाँको खर्च लेखेको छ। एलियन्टको आम्दानीभन्दा हिमालयन रिइन्स्योरेन्सको खर्च कम देखिएपछि बिजमाण्डूले प्राप्त गरेको स्रोतमा कर कट्टी सम्बन्धी अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त एउटा विवरणलाई ‘भेरिफाइ’ गरेको थियो।

विवरणअनुसार त्यो आर्थिक वर्षमा हिमालयन रिइन्स्योरेन्स (प्यान नम्बर ६१००१३३५७)ले एलियन्टको नाममा ३ करोड ९३ लाख ५८ हजार ९३५ रुपैयाँ स्रोतमा कर कट्टी गरेर कर कार्यालयमा बुझाएको छ।

स्रोतमा १५ प्रतिशत करकट्टी हुने हुँदा त्यो आर्थिक वर्षमा हिमालयनले एलियन्टलाई खर्चमा देखाएभन्दा बढी कम्तीमा पनि २६ करोड २३ लाख ९२ हजार रुपैयाँ भुक्तानी गरेको छ। यो आम्दानी एलियन्टले देखाएकोभन्दा जम्मा चार लाख रुपैयाँ मात्रै कम हो।

एलियन्टको आम्दानीमा बैंकको ब्याज आम्दानीबाहेक हिमालयन रिइन्स्योरेन्सले दिएको पैसा मात्रै आय हो। यस्तै अवस्था आर्थिक वर्ष २०८०/८१ मा पनि छ। आर्थिक वर्ष २०८०/८१ मा एलियन्टले २५ करोड ५९ लाख ०२ हजार ६४२ रुपैयाँ रिइन्स्योरेन्स ब्रोकरेज आम्दानी देखाएको छ।

तर, यो वर्ष हिमालयन रिइन्स्योरेन्सले भने ब्रोकरेज खर्च भनेर ३३ करोड ६२ लाख रुपैयाँ खर्च देखाएको छ। स्रोतमा कर कट्टी विवरण हेर्दा हिमालयनले एलियन्टका नाममा तीन करोड ८१ लाख ७५ हजार ६४० रुपैयाँ आग्रिम कर कट्टी गरेको छ।

यो एलियन्टले आम्दानी देखाएभन्दा १४ लाख रुपैयाँमात्रै कम हो।

एलियन्ट टु दीपक भट्ट

अघिल्लो वर्ष अन्य व्यक्तिले हालिदिएको पैसाले खोलेको एलियन्टमा अर्को आर्थिक वर्षको मध्यबाट हिमालयन रिइन्स्योरेन्सले पैसा दिन थाल्यो। सुरुमा छुटपुट पैसा दिएको हिमालयन रिइन्स्योरेन्सले आर्थिक वर्षको अन्तिमतिर आएर अधिकांश पैसा दियो।

यसरी आएको २६ करोड रुपैयाँमध्ये सामान्य खर्च कटाएपछि एलियन्टले २०७९/८० मा २४ करोड ७६ लाख रुपैयाँ र आर्थिक वर्ष २०८०/८१ मा २१ करोड ८२ लाख रुपैयाँ मुनाफाका रुपमा देखायो। त्यो मुनाफाबाट एलियन्टले आर्थिक वर्ष २०७९/८० का लागि १८ करोड ५५ लाख ७९ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गर्‍यो।

त्यसबाट एलियन्टले २०८१ जेठ २८ गतेदेखि असार ११ गतेसम्म पाँच किस्तामा सेयरधनीका रुपमा रहेकी अन्जना नेपालको महालक्ष्मी विकास बैंकको खातामा १६ करोड ९२ लाख ४८ हजार ११६ रुपैयाँ भुक्तानी गर्‍यो।

जेठ २८ गते एलियन्टबाट अन्जनाको खातामा चार करोड ७५ लाख रुपैयाँ पैसा गयो। त्यसको भोलिपल्ट जेठ २९ गते महालक्ष्मी विकास बैंकको अन्जनाको खाताबाट त्यो पैसा आयुष्मा नेपाल भट्टको सिद्धार्थ बैंकको खातामा पुग्यो। र, जेठ २९ गते नै त्यो ४ करोड ७५ लाख रुपैयाँ आयुष्माको खाताबाट दीपक भट्टको सिद्धार्थ बैंकको खातामा ‘ट्रान्सफर’ भयो।

त्यसैगरी असार २ गते दुई करोड रुपैयाँ एलियन्टबाट अन्जना नेपालको खातामा, त्यो पैसा असार ३ गते अन्जनाको खाताबाट छोरी आयुष्माको खातामा र असार ४ गते दीपक भट्टको खातामा पुग्यो।

असार ५ गते फेरि एलियन्टले अन्जना नेपाललाई चार करोड ५० लाख रुपैयाँ भुक्तानी दियो। त्यो पैसा असार ६ गते आयुष्माको खातामा र त्यही दिन दीपक भट्टको खातामा पुग्यो।

असार ९ गते एलियन्टले चार करोड ९० लाख रुपैयाँ अन्जनाको खातामा पठायो, त्यही दिन अन्जनाको खाताबाट आयुष्माको खाता र आयुष्माको खाताबाट दीपक भट्टको खातामा पैसा ‘ट्रान्सफर’ भयो।

असार ११ गते एलियन्टले फेरि ७७ लाख ४८ हजार ११६ रुपैयाँ अन्जना नेपाललाई दियो। त्यो पैसा असार १२ गते आयुष्माको खातामा पुग्यो भने असार १३ गते दीपक भट्टको खातामा पुग्यो।

त्यसबाहेक एलियन्टको खाताबाट जग्गाका लागि ‘एडभान्स’ भनेर २० करोड रुपैयाँ पनि पैसा ‘ट्रान्सफर’ भएको छ।

राष्ट्र बैंकले यही विषयमा उठाएको थियो प्रश्न

पेसा गृहणी लेखिएकी अन्जना नेपालको खातामा दुई साताको बीचमा अचानक झण्डै १७ करोड रुपैयाँको कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइको गो एमएल सफ्टवेयरमा ‘सस्पिसियस ट्रान्जेक्सन रिपोर्ट(एसटीआर) जेनेरेट भयो।

इकाइले भुक्तानीको ट्रेल हेर्दै जाँदा त्यो पैसा दीपक भट्टको खातामा ‘ल्याण्ड’ भएको देख्यो। भट्ट यसै पनि जगदम्बा स्टीलबाट भुक्तानी भएको साढे ६७ करोड रुपैयाँको स्रोतविनाको पैसाका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा थिए।

उता अन्जना नेपालको छानबिनमा एलियन्ट इन्स्योरेन्स ब्रोकर पनि जोडियो। त्यो खोज्दै जाँदा शंकास्पद कारोबारी र नागरिकताका विषयमा समेत विवादमा रहेका गोविन्दराम सरिया र मनोजकुमार अग्रवालसमेत जोडिए।

त्यसपछि नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइले यो विषयमा थप छानबिनका लागि सम्पत्ती शुद्धीकरण अनुसन्धान विभाग पठायो। इकाइलेले दीपक भट्टले लेयरिङ र प्लेसमेन्टमार्फत गैरकानुनी सम्पत्तिलाई शुद्धीकरण गरेको भन्दै एलियन्ट, अन्जना नेपाल, आयुष्मा नेपाल र दीपक भट्टका चार खाताको विवरण समेत पठायो।

तर, विभागले यो विषयमा थप छानबिन गरेन, बरु प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो दबाबमा विभागका महानिर्देशक सुमन दाहालले यो छानबिनलाई किनारा लगाउने गरी राष्ट्र बैंकको पत्र फेरि उसैलाई फिर्ता पठाए।

यही शीर्षकमा कति खर्च गर्छ नेपाल रिइन्स्योरेन्सले?

नेपालमा अहिले दुई वटा रिइन्स्योरेन्स कम्पनी हिमालयन र नेपाल रि मात्रै सञ्चालनमा छन्। त्यसमध्ये हिमालयन रिले ब्रोकरेजमा करोडौं रुपैयाँ खर्च देखाएर दीपक भट्टलाई भुक्तानी गरिरहँदा नेपाल रिले भने त्यसमा एक सुको पनि खर्च गरेको छैन।

हिमालयन रिको जस्तै नेपाल रिले पनि आफ्नो वित्तीय विवरणको क्यास फ्लोमा ब्रोकरेज भुक्तानी शीर्षक खडा गरेको छ। तर, कम्पनीको आर्थिक वर्ष २०७९/८० र त्यसअघिको वित्तीय विवरण अनुसार यो शीर्षकमा कम्पनीले एक रुपैयाँ पनि खर्च गरेको छैन।

निक्कै गोप्य राखिएको थियो भुक्तानी

नेपालमा बीमा समितिले पुनर्बीमा दलालका लागि १६ वटा कम्पनीको सूची सार्वजनिक गरेको छ। पाँच वटा पुनर्बीमा दलाल कम्पनी विदेशी र ११ वटा कम्पनी नेपाली हुन्।

त्यसमध्ये बिजमाण्डूको सम्पर्कमा आएका एक जना पुनर्बीमा दलाल कम्पनीका लगानीकर्ताले एलियन्टबाहेक अन्य कम्पनीको कारोबार करोड रुपैयाँ पनि ननाघ्ने बताए।

‘हिमालयन रिले भट्टको अप्रत्यक्ष लगानी भएको एलियन्टबाहेक अन्य एक/दुई वटा त्यस्तै कम्पनीलाई भुक्तानी गर्छ। त्यो कम्पनीबाहेक अन्य कम्पनीको कारोबार करोड रुपैयाँमा पनि छैन,’ ती लगानीकर्ताले भने। बिजमाण्डूले अन्य केही पुनर्बीमा दलाल कम्पनीको वित्तीय विवरण हेर्दा अवस्था त्यस्तै देखिएको छ।

एलियन्टलाई दिएको भुक्तानी गोप्य राख्नकै लागि हिमालयन रिले आफ्नो वित्तीय विवरणमा सम्बन्धित कम्पनी कारोबारमा समेत देखाएको छैन।

हिमालयन रिमा दीपक भट्टको एकल स्वामित्व भएको कम्पनी इन्फिनिटी होल्डिङको ४ प्रतिशत सेयर लगानी छ, उनैकी सासुआमाको कम्पनीले दुई आर्थिक वर्षमा आधा अर्ब रुपैयाँभन्दा बढी पैसा लगेको छ। तर, त्यो कारोबारलाई सम्बन्धित कम्पनी कारोबारमा भने देखाइएको छैन।

हिमालयन रि र एलियन्टबीचको कारोबारका विषयमा कम्पनीका केही सञ्चालक र उच्च व्यवस्थापनमा रहेका केही व्यक्तिलाई मात्रै जानकारी थियो। त्यही भएर यो कुरालाई गोप्य राख्न यो कारोबारलाई सम्बन्धित कम्पनी कारोबारमा नराखिएको स्रोतले बतायो।