दीपक भट्ट अरुलाई रोक्न षड्यन्त्र बुन्दा आफैं छेकिए, हिमालयन बैंकको सेयर किन्न नेसनल लाइफ ‘योग्य’ 



बिजमाण्डू
२०८२ साउन ४ गते १७:१२ | Jul 20, 2025
दीपक भट्ट अरुलाई रोक्न षड्यन्त्र बुन्दा आफैं छेकिए, हिमालयन बैंकको सेयर किन्न नेसनल लाइफ ‘योग्य’ 

काठमाडौं। खेल कसरी आफूले जित्ने भनेर अभ्यास गर्नेभन्दा पनि विपक्षीलाई कसरी हराउने भनेर षड्यन्त्र बुन्दा विवादास्पद व्यवसायी दीपक भट्ट हिमालयन बैंकको सेयर खरीदमा नराम्रोसँग पराजित भएका छन्। 

Tata
GBIME
Nepal Life

प्रतिस्पर्धीलाई खेल मैदानमै छिर्न नदिन भट्ट यस्तरी षड्यन्त्र बुन्नतिर लागे कि, आफूले नियम नै सिक्न चाहेनन्।

संस्थापक सेयर खरीद गर्न सुरुमा आफैं संस्थापक हुनुपर्छ भन्ने सामान्य कानुनी प्रबन्धसमेत नबुझी उनी अरु कसैले पनि सेयर खरीद प्रतिस्पर्धामा भाग लिन नपाउने गरी सर्त बनाउनतिर लागे। अन्तत: अरुलाई छेक्न खोज्दा भट्ट आफैं रोकिएका छन्।

हिमालयन बैंकको पाकिस्तानी साझेदार हबिब बैंकले आफ्नो स्वामित्वको सबै सेयर बिक्री गर्न हिमालयन रि-इन्स्योरेन्ससँग दुई वर्षअघि नै समझदारी गरेको थियो। त्यही समझदारी अनुसार, हबिबले कानुनी प्रबन्धलाई पच्छ्याउँदै पहिलो चरणमा आफ्नो सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीलाई आह्वान गर्‍यो।

हिमालयन बैंकको ठूलो सेयरधनी कर्मचारी सञ्चयक कोषलाई अर्थमन्त्री र राजस्व सचिव लगाएर प्रतिस्पर्धा गर्नबाट रोकियो। कोष नआएपछि कसैले पनि किन्दैन भन्नेमा भट्ट समूह विश्वस्त थियो।

तर, दुई बीमा कम्पनी र एक व्यक्तिको आवेदन पर्‍यो। सबै सेयर एकमुस्ट किन्नु पर्ने सर्त राखिएको थियो। आवेदन दिएका एक व्यक्ति र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आंशिक सेयरमा मात्र आवेदन दिएका थिए। सर्तअनुसार उनीहरु स्वत: अयोग्य भए।

तर, नेसनल लाइफ इन्स्योरेन्सले सबै सेयर तोकिएको मूल्यभन्दा बढीमा किन्न आवेदन दियो। हबिबले प्रति कित्ता ११२.८० रुपैयाँका दरमा सेयर बिक्रीमा राखेको थियो। बैंकमा हबिबको १२.९३ प्रतिशत सेयर स्वामित्व छ। यो भनेको २ करोड ८० लाख १२ हजार ४४८ कित्ता सेयर हो।

नेसनलले ११८.८ रुपैयाँमा १२.९३ प्रतिशत सेयर खरीद गर्ने प्रस्ताव पेस गरिदियो। सबै हिसाबले नेसनल योग्य छ। भट्टले हिमालयन रि-इन्स्योरेन्समार्फत सेयर किन्न खोजेका थिए। जबकी २ वर्षसम्म अरुलाई छेक्न षड्यन्त्र बुन्दा पनि हिमालयन रि-इन्स्योरेन्सलाई भने एक कित्ता पनि संस्थापक सेयर किनाइएन।

बीमा, पुँजी बजार, क्रेडिट रेटिङलगायत कम्पनीमार्फत ‘फाइनान्सियल एम्पायर’ बनाउन सफल दीपक भट्टको नेतृत्वमा संगठित २५ भन्दा बढी घरानाको व्यावसायिक समूहले हिमालयन बैंकको सेयर हिमालयन रि-इन्स्योरेन्समार्फत हत्याउन खोजेको थियो। 

गत जेठ अन्तिममा पाकिस्तानी हबिब बैंकले आफ्नो स्वामित्वमा रहेको हिमालयन बैंकको सेयर बिक्रीका लागि विद्यमान संस्थापक सेयरधनीहरुसँग प्रस्ताव माग गरेको थियो।

त्यो प्रस्ताव ‘फेल’ गराएर संस्थापक बाहिरलाई समेत हुने गरी सेयर बिक्रीको सूचना निकाल्ने र त्यो सेयर आफूले मात्र पाउने गरी सर्त राख्ने लिखित षड्यन्त्र हिमालयन रि-इन्स्योरेन्सको आडमा गरिएको थियो।

सर्तअनुसार एकमुस्ट सेयर तोकिएको मूल्यभन्दा बढीमा खरीद गर्न नेसनल लाइफबाट परेको प्रस्ताव हिमालयन बैंकले हबिबलाई पठाइसकेको छ।

‘हामीले सबै प्रस्ताव, विवरण र बोलकबोल गर्दा बुझाएको रसिद पठाइसकेका छौं,’ स्रोतले भन्यो, ‘कानुनी रुपमा नेसनल लाइफ हरेक हिसाबले योग्य छ।’

भट्टले नेतृत्व गर्ने समूहसँग अहिलेसम्म आफ्नो भन्न लायक बैंक छैन। त्यसो हुँदा उनीहरुले दुई वर्ष अघिबाटै हिमालयन बैंक ताकिरहेका थिए। तर, अघिल्ला गभर्नर महाप्रसाद अधिकारी हुन्जेल पार नलाग्ने भएपछि समूह शान्त बसेको थियो। जसै जेठ पहिलो साता नयाँ गभर्नर आए- सेयर खरिद बिक्री प्रक्रिया सुरु गराइएको थियो।

समूहको नेतृत्व गरिरहेका इन्फिनिटी होल्डिङ्स प्रालिका अध्यक्ष दीपक भट्टसँग शंकर समूहलगायत अन्य व्यावसायिक समूह गोलबद्ध छन्। त्यसमध्ये अधिकांश हिमालयन रि-इन्स्योरेन्सका सेयरधनी हुन्।

हिमालयन रि-इन्स्योरेन्सको आवरणमा यो समूहले यस्तो जटिल रणनीति बनाएको छ कि यसमा कानुनी दाउपेचदेखि सत्ता र प्रशासनका शक्तिशाली व्यक्तिहरुको पनि आड छ।

हिमालयन रि-इन्स्योरेन्समा दीपक भट्टको सतप्रतिशत लगानी रहेको इन्फिनिटीको ४७ करोड रुपैयाँ अर्थात ६.४३ प्रतिशत सेयर लगानी छ। यसबाहेक जगदम्बा मोटर्स, जगदम्बा स्टीललगायतको पनि करिब ८ प्रतिशत सेयर छ।

हबिबसँग हिमालयन रिले गरेको सम्झौतापत्रमा कतिसम्म लेखिएको छ भने- विद्यमान सेयरधनीले आवेदन दिँदैनन्। बोलकबोलमा हिमालयन रि-इन्स्योरेन्स बाहेक अरु कुनै पक्षले नमिल्ने सर्त राखिने छ।

दीपक भट्टले नेतृत्व गर्ने यो समूहभित्रको शंकर ग्रुपले वित्तीय क्षेत्रबाट गएको ऋणमध्ये सबैभन्दा बढी प्रयोग गरिरहेको छ। दीपक भट्ट र शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवालबीच भएको लेनदेनमाथि अनुसन्धान गर्न राष्ट्र बैंकले सम्पति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गरेको थियो।

तर, प्रधानमन्त्री केपी ओलीको दबाबमा यो अनुसन्धानलाई ‘ढिसमिस’ गरिएको छ। राष्ट्र बैंकले त ऋण दुरुपयोगमा पनि अनुसन्धान हुनु पर्ने सुझाव दिएको थियो।

यो समूहले बनाएको ‘फाइनान्सियल एम्पायर’मा बैंकमात्र थिएन। पुनर्बीमा कम्पनीतर्फ हिमालयन रि-इन्स्योरेन्सदेखि जीवन, निर्जीवन बीमा कम्पनीहरु छन्। लघु बीमा कम्पनीहरुसमेत खोलिसकेका छन्।

साथै इन्फोमेरिक्स क्रेडिट नेपाल लिमिटेडका नाममा क्रेडिट रेटिङ कम्पनी पनि सञ्चालन गरिरहेका छन्। केही सेयर ब्रोकर, मर्चेन्ट बैंकिङ तथा भेञ्चर क्यापिटलसम्म खोलिसकेका छन्।

हिमालयन स्टकदेखि कमोडिटी एक्सचेञ्ज कम्पनी खोल्न खोजिरहेका छन्। हिमालयन बैंकमार्फत बैंकिङ क्षेत्रमा पनि पस्न खोजिरहेका छन्। पुनर्बीमा, बीमा, क्रेडिट रेटिङलगायत कम्पनीहरुको लाइसेन्स लिँदा नियामकले पारदर्शी प्रकृया नपनाइ यो समूहको पोल्टामा हालिदिएको थियो।

यो समूहले बैंकहरुको खराब ऋण व्यवस्थापन गर्नका लागि खोल्न लागिएको सम्पति व्यवस्थापन कम्पनी (एएमसी) र नियो बैंकको लाइसेन्सका लागि पनि आन्तरिक तयारी गरिसकेको छ। यो समूहकै चाहनामा सरकारले आगामी वर्षको बजेटमा यी दुवैको लाइसेन्सको बारेमा उल्लेख गरेको छ।