काठमाडौं। बैंक तथा वित्तीय संस्थामा उल्लेख्य लगानी रहेका संस्थापकहरु बिस्तारै बाहिरिन थालेका छन्। अर्को ब्यवसायको पूँजी जुटाउनका लागि कतिपयले बैंकको संस्थापक शेयर बेचिरहेका छन् भने कतिपयले ऋणपान तिर्नका लागि।
दोस्रो बजार घट्ने क्रम नरोकिँदा पनि कतिपयले संस्थापक शेयर बेचेर बाहिरन थालेका छन्।
दुई साता अगाडि उपेन्द्र महतो समूहले संस्थापक शेयर बेचेर अस्पतालमा 'डाइभर्ट' भए। उनले माछापुच्छ्रे बैंकको शेयर बिक्री गरेका थिए। असार महिनामा माछापुच्छ्रे बैंकको संस्थापक तर्फको ५७ लाख ५१ हजार कित्ता शेयर कारोबार भएको थियो।
सिभिल बैंकका संस्थापक शेयरधनी राजमोहनले होटलमा लगानी गर्ने भन्दै आफ्नो नामको शेयर बिक्री गरे। सिभिल बैंककै अध्यक्ष इच्छाराज तामाङले आफ्नो वित्तीय संकट समाधान गर्ने क्रममा ठूलो मात्रामा संस्थापक शेयर बिक्री गरिरहेका छन्। साउन महिनामा सिभिल बैंकको मात्रै दुई करोड १४ लाख कित्ता संस्थापक शेयर कारोबार भएको थियो।
एक ब्रोकरका अनुसार, धेरैजसो लगानीकर्ताले तत्काल शेयर बजार सुध्रिने अवस्था नहरेको भन्दै सरकारले कर छुट दिएका क्षेत्रमा लगानी गर्ने भन्दै शेयर बिक्री गरिरहेका छन्। दुई साता अगाडि हिमालयन डिष्ट्रिलरीका संस्थापक शेयरधनीहरुले समेत शेयर बिक्री गरेर अन्यत्रै पैसा लगेका छन्।
पछिल्लो समय जति पनि संस्थापक शेयर बिक्री भएका छन् ती सबैको रकम शेयर बजारबाट बाहिरिएको ब्रोकरहरु बताउँछन्।
विगत ६ महिनाको अवधिमा संस्थापकतर्फको कारोबार ६ अर्ब २२ करोड रुपैयाँको भएको छ। गत फागुन महिनामा मात्रै दुई अर्ब ४० करोड रुपैयाँको संस्थापक शेयर कारोबार भएको थियो। अघिल्लो वर्षको सोहि अवधिको तुलनामा संस्थापक शेयरको कारोबार ३८ प्रतिशतले बढेको छ।
शेयर बजारमा लगानी गर्नुभन्दा अन्य क्षेत्रमा लगानी गर्दा राम्रो मुनाफा आउने देखेपछि संस्थापकहरु बाहिरिएका हुन्। कतिपय लगानीकर्ताहरुले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि होटल तथा रिसोर्टमा लगानी बढाएका छन्। शेयर बजारमा चार्म नदेखेपछि उनीहरुको ध्यान होटल व्यवसायमा गएको हो।
राष्ट्र बैंक र बीमा समितिले पूँजी बृद्धि योजना ल्याएपछि सम्पुर्ण कम्पनीको प्रति शेयर आम्दानीमा भारि गिरावट आएको छ। पूँजी बढ्दा बैंक र बीमा कम्पनीले दिने प्रतिफल घटेको शशिकान्त अग्रवाल बताउँछन्।
दोस्रो बजारमा संस्थापक शेयरको सहजै कारोबार हुँदैन। यसले गर्दा उनीहरुले पूँजीगत लाभ पाउने सम्भावना ज्यादै नै न्युन हुन्छ। दोस्रो बजारबाट पूँजीगत लाभ पनि नपाउने र प्रतिफल पनि नपाउने भएपछि लगानीकर्ताहरु बाहिरिने क्रम बढेको हो। संस्थापक शेयरमा लगानी गर्नेहरुले कम्पनीले दिने प्रतिफललाई नै आधार बनाएका हुन्छन्। पछिल्लो केहि वर्षमा कम्पनीहरुले दिएको लाभांसको अनुपात नै घटेको छ।
कसले किनिरहेका छन् शेयर?
दोस्रो बजारमा सक्रिय लगानीकर्ताले नै यस्तो शेयर खरिद गरिरहेको ब्रोकरहरु बताउँछन्। सर्वसाधारण तर्फको शेयर खरिद गरेर जोखिम लिनुभन्दा सस्तो मूल्यमा संस्थापक शेयर खरिद गरेर दीर्घकालिन लगानी गर्नेहरु पनि सक्रिय देखिएका छन्।
संस्थापक शेयर खरिदका लागि नयाँ लगानीकर्ता भने आएका छैनन्।
संस्थापक शेयर सर्वसाधारणभन्दा कम जोखिमपुर्ण हुन्छ। सर्वसाधारण शेयरमा जस्तो धेरै उतारचढाव हुँदैन। कतिपय बैंकको शेयर १०० देखि १५० रुपैयाँको विचमा पाइन्छ। यसको प्रतिफल सर्वसाधारणको जतिनै हुने भएकाले दोस्रो बजारका सक्रिय लगानीकर्ताको आकर्षण देखिएको हो। मर्ज हुँदाको अवस्थामा कतिपय संस्थापकहरुले समुहबाटै बाहिरिन शेयर बिक्री गरिरहेका छन्।
विगत ६ महिनाको अवधिमा भएको संस्थापक शेयर कारोबार
महिना |
संस्थापक शेयर कारोबार |
बृद्धि (%) |
|
यस वर्षको |
अघिल्लो वर्षको |
||
साउन |
572965288.6 |
731215900 |
-21.64 |
असार |
1076544319 |
694640100 |
54.98 |
जेठ |
621415168.4 |
881131800 |
-29.48 |
वैशाख |
998875961.5 |
732161100 |
36.43 |
चैत |
549831076 |
567646700 |
-3.14 |
फागुन |
2401969646 |
901360300 |
166.48 |
जम्मा |
6221601460 |
4508155900 |
38.01 |