एनएसएल प्लेअफको टुंगो: तेस्रो संस्करणमा पुगेर पहिलो पटक चितवन प्लेअफमा, काठमाडौं बाहिरियो

बिजमाण्डू
२०८२ बैशाख ४ गते २०:३६ | Apr 17, 2025
एनएसएल प्लेअफको टुंगो: तेस्रो संस्करणमा पुगेर पहिलो पटक चितवन प्लेअफमा, काठमाडौं बाहिरियो
प्रतिस्पर्धामा एफसी चितवन र धनगढीका खेलाडी। तस्बिर: एनएसएल


काठमाडौं। चितवन एफसीले पहिलो पटक नेपाल सुपर लिग (एनएसएल)को प्लेअफ खेल्दैछ। लिग चरण अन्तर्गत आज सम्पन्न अन्तिम खेलमा धनगढी एफसीलाई ३-१ गोलले हराउँदै चितवनले इलिमिनेटरमा स्थान बनाएको हो।

Tata
GBIME

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीले खेलमा अग्रता बनाएको थियो। खेलको सातौँ मिनेटमा जर्ज प्रिन्स कार्कीको गोलमा धनगढीले अग्रता बनाएको थियो।

तर, १४ औँ मिनेटमा चितवनले खेल बराबरीमा ल्यायो। धनगढीका अशोक खवासले पेनाल्टी क्षेत्रभित्र ह्याण्डबल गरेपछि चितवनले पेनाल्टीको अवसर पाएको थियो। जसमा नेदिरले माभलोनोभले पेनाल्टीमा गोल गर्न सफल भए।

खेलको ४५ औँ मिनेटमा चितवनले खेलमा अग्रता बनायो। यसपटक जय गुरुङले छिरिङ गुरुङको क्रसलाई गोलमा परिणत गरे। पहिलो हाफमा चितवन २-१ गोलले अघि रह्यो।

दोस्रो हाफमा फेरि चितवनले गोल थप्यो। धनगढीका अमृत श्रेष्ठले ५० औँ मिनेटमा गरेको आत्मघाती गोल चितवनका लागि तेस्रो गोल बन्यो।

योसँगै तेस्रो संस्करणमा आएर चितवन पहिलो पटक प्लेअफमा पुगेको छ। यसअघिका दुबै संस्करणमा चितवन लिग चरणबाटै बाहिरिएको थियो।

योसँगै समीकरण कुरेर बसेको काठमाडौं लिगचरणबाटै बाहिरिएको छ। झापा एफसी र बुटवल लुम्बिनी यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए। अब, पहिलो क्वालिफायरमा धनगढी एफसी र ललितपुर सिटी एफसी भिड्नेछन्। यी मध्येको विजेताले फाइनल खेल्नेछ। त्यस्तै, इलिमिनेटरमा पोखरा थण्डर्स र एफसी चितवन भिड्नेछन्। यी मध्येको विजेताले दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा हार्ने टोलीसँग प्रतिस्पर्धा गर्नेछन्। दोस्रो क्वालिफायरको विजेता र पहिलो क्वालिफायरको विजेता फाइनलमा उपाधिका लागि भिड्नेछन्।