काठमाडौँ। स्पर्श लघुवित्त वित्तीय संस्थाले निष्कासन गरेको प्राथमिक शेयर आईतबार बाँडफाँड भएको छ।
बाँडफाँडमा २५ हजार दुई सय आवेदकले १० कित्ताका दरले शेयर पाएका छन्।
दुई लाख ९८ हजार ३५३ योग्य आवेदकबाट शेयर बाँडफाँड गरिएको सानिमा क्यापिटलले जनाएको छ। पाँच सय ८५ आवेदन भने रद्द भएका थिए।
कुल दुई लाख ९८ हजार तीन सय ५३ आवेदकले ८१ करोड २२ लाख ९४ हजार रुपैयाँ बराबरको शेयर माग गरेका थिए।
तर दुई करोड ५२ लाख रुपैयाँ बराबरको मात्रै सर्वसाधारणकालागि कम्पनीले शेयर निष्कासन गरेको थियो।
संस्थाले ४ हजार १४८ कित्ता कर्मचारी र १३ लाख ४८२ कित्ता शेयर सामूहिक लगानी कोषलाई वितरण गरेको छ।
संस्थाले प्राथमिक शेयर निष्कासन गरेसँगै संस्थापकतर्फको चुक्ता पुँजी ६७.५ प्रतिशत अर्थात् ५ करोड ६० लाख रुपैयाँ र सर्वसाधारणतर्फ ३२.५ प्रतिशत अर्थात् दुई करोड ६९ लाख रुपैयाँ सहित जम्मा ८ करोड २९ लाख रुपैयाँ कायम हुनेछ।
राष्ट्र बैंकबाट १० वटा जिल्लामा कार्यक्षेत्र रहने गरी अनुमति पाएको संस्थाले २०७४ असारदेखि वित्तीय कारोबार सञ्चालन गर्दै आएको छ।
गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार संस्थाले एक लाख एक हजार रुपैयाँ नाफा गरेको थियो।
प्राथमिक शेयर निष्कासनसँगै संस्थाले पशुपालन, खुद्रा व्यापार तथा सेवा कर्जा र साना तथा घरेलु कर्जा प्रवाह गर्नेछ।