
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करण काठमाडौंमा जारी छ। पहिलो र दोस्रो संस्करणमा आक्रामक ब्राण्डिङ र प्रोमोसन गरेको एनएसएलको चर्चा यो पटक पहिला जस्तो भने छैन। यस संस्करणमा एनएसएलले घोषणा गरेको आकर्षक घोषणा हो : ब्राजिलियन लेजेन्ड रोबर्टो कार्लोसको आगमन।
उसो त नेपालको शीर्ष डिभिजन लिग शहीद स्मारक ‘ए’ डिभिजन लिग हो। तर, दुई वर्षयता अखिल नेपाल फुटबल संघ (एन्फा)ले यो लिग गराउन सकेको छैन। एन्फा लिग गराउनका साटो एएफसी क्लब च्याम्पियनसिपलाई लक्षित गरेर लिगकम नकाउट प्रणाली प्रतियोगिता गरेर झारा टार्ने प्रयत्नमा छ। शीर्ष डिभिजन नभएको यस्तो अवस्थामा पनि एनएसएलले नेपाली घरेलु फुटबलको माहोल ‘क्याप्चर’ गर्ने अवसर हो, तर यसमा सफल भएको भने देखिँदैन।
नेपालको पहिलो फ्रेन्चाइज बेस्ड फुटबल लिग एनएसएल आउनुको मुख्य उत्प्रेरक हो : इण्डियन सुपर लिग (आईएसएल)। क्रिकेट क्रेजले तातिने भारतमा आईएसएलले धेरै हदसम्म फुटबलको माहोल बनाउन योगदान गरेको छ।
व्यवसायिक घरानाको लगानी, विभिन्न कर्पोरेट हाउसहरुका क्लब यो विशेषता हो : आईएसएल र एनएसएलका। यी लिगमा फुटबलमा युरोप अमेरिका र धेरै जसो देशमा देखिने मोडल भन्दा पनि क्रिकेटका फ्रेन्चाइज लिगको मोडलमा प्रतियोगिता हुन्छ।
नेपालमा चौधरी ग्रुपको नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्ट यसको आयोजक हो। क्लबहरुमा कर्पोरेट लगानी छ। एनएसएल गराए बापत आयोजकले नेपाली फुटबलको सर्वोच्च संस्था अखिल नेपाल फुटबल संघ (एन्फा)लाई निश्चित रकम बुझाउनु पर्ने हुन्छ। सन् २०२२ मा भएको ८ वर्षे सम्झौता बमोजिम यो अवधिमा एनएसएलले एन्फालाई १७ करोड २१ लाख रुपैयाँ दिनुपर्ने हुन्छ।
भारतमा आईएसएलको मोडल पनि उही हो। रिलायन्स इन्डस्ट्रिज अन्तर्गतको स्पोर्ट्स डेभलभमेन्ट लिमिटेड (एफएसडीएल) र भारतीय फुटबल संघ (एआईएफएफ) बीच सन् २०१० मा सम्झौता भएको थियो। यसअनुसार एफएसडीएलले एआईएफएफलाई वार्षिक ५० करोड भारतीय रुपैयाँ दिने गर्छ।
तर, आईएसएल र एआईएफएफको भने यो वर्ष सम्झौता सकिँदैछ।
किन संकटमा छ आईएसएल?
रिलायन्स इन्डस्ट्रिज लिमिटेड र भारतीय फुटबल संघ (एआईएफएफ)बीचको १५ वर्षे करार यो वर्ष सकिँदैछ। यसको असर अहिलेबाटै भारतीय फुटबलमा देखिन थालेको छ।
रिलायन्स ग्रुप अन्तर्गतको फुटबल स्पोर्ट्स डेभलभमेन्ट लिमिटेड (एफएसडीएल) ले सन् २०१० मा गरेको १५ वर्षे सम्झौता बमोजिम इण्डियन सुपर लिग (आईएसएल) आयोजना गर्दै आएको छ। यो लिग हाल भारतमा शीर्ष डिभिजन लिग समेत हो।
यो लिग बापत एफएसडीएलले एआईएफएफलाई वार्षिक ५० करोड भारतीय रुपैयाँ दिँदै आएको थियो। यो रकम खेल सञ्चालन, मार्केटिङ, पूर्वाधार र व्यवस्थापन बाहेकको कम्पनीको अतिरिक्त खर्च हो। सन् २०१४ देखि कम्पनीले आईएसएलबाट ५ हजार करोड भारतीय रुपैयाँ नोक्सानमा गइसकेको जनाएको छ।
आईएसएलको करार सकिन केही महिना बाँकी छँदा अब एआईएफएफ नयाँ सम्झौता के गर्ने भन्नेमा तातेको छ।
अर्कोतर्फ एफएसडीएलले ठूलो नोक्सानी ब्यहोरेको भन्दै नयाँ सम्झौताका लागि आफ्नो खाका एआईएफएफसामू राखिसकेको छ। नयाँ सम्झौतामा एफएसडीएल, एआईएफफ र क्लबहरुलाई जोडेर लिग सञ्चालनको नयाँ कार्यविधि छ। यसमा एआईएफएफलाई दिँदै आएको वार्षिक ५० करोड रुपैयाँ अब दिन नसक्ने स्पष्ट पारेको छ। यसको सट्टा एआईएफएफको १४ प्रतिशत हिस्सेदारी रहने प्रस्ताव छ। यसो हुँदै मार्केटिङदेखि ब्राण्डिङसम्म केही योगदान नदिएरै ठूलो रकम हात पारिरहेको एआएफएफलाई धक्का पुगेको छ।
एफएसडीएलाई फिफाले सम्बन्धित देशको खेलसंघलाई बाइपास गरेर लिग आयोजनाको जिम्मेवारी दिँदैन। यस्तोमा लिगलाई जारी राख्न एफएसडीएललाई पनि संघलाई मनाउनु पर्ने बाध्यता छ।
यसबाहेक सन् २०१९ मा एसियन फुटबल कन्फिडरेसन (एएफसी)ले समानान्तर दुई लिग हुन नसक्ने भन्दै तत्कालीन शीर्ष डिभिजन लिग आई लिग र आईएसएललाई दुई श्रेणीको फुटबल बनाइएको थियो। जसअन्तर्गत आईएसएल भारतको शीर्ष डिभिजन बन्न सफल भयो र आईलिग दोस्रो श्रेणीको लिग। यस्तोमा आईएसएलको पुछारमा रहने टोली आईलिगमा रेलिगेट हुने र आई लिगको शीर्ष टोली आईएसएलमा प्रोमोट हुनुपर्ने प्रावधान आयो। एफएफडीएलले प्रस्ताव गरेको नयाँ करारमा रेलिगेशनमा कुनै टोली नलैजाने गरि लिग गराउने जनाएको छ।
वैकल्पिक योजना खोज्दै संघ
नोक्सान देखाउँदै आईएसएलले एकतर्फी प्रस्ताव अघि सारेपछि एआईएफएफ वैकल्पिक योजनाको पनि खोजीमा निस्किएको छ। यसमा नयाँ लिगको बहससमेत भारतमा सुरु भएको छ।
नयाँ बहसमा प्रारम्भिक रुपमा १६ टोलीको लिग गराउने जसमा आईएसएलबाट १० टोली र आइलिगबाट ६ टोलीलाई समेट्ने योजना भएको मिडिया रिपोर्टहरु आएका छन्। हरेक क्लबलाई सहभागीताका लागि ४ करोड रुपैयाँ लिने र ६४ करोडको पुल बनाउने योजना छ। यसबाट एआईएफएफले ३० करोड रुपैयाँ पाउने र २० करोड प्रोडक्सन र ब्रोडकास्टिङ तथा १४ करोड अपरेसनल खर्च हुने योजना बनिरहेको छ। यो लिगमा एआईएफएफको २० प्रतिशत सेयर र बाकीँ ८० प्रतिशत सेयर क्लबहरुको हुने बताइएको छ।
यदि भारतमा नयाँ लिग फुटबल संघले सुरु गरेमा आईएसएलको अस्थित्व सकिने देखिन्छ।
ए डिभिजनबारे मौन एन्फा
नेपालमा भारतको भन्दा फरक अवस्था भनेको अझै शहीद स्मारक ‘ए’ डिभिजन लिग शीर्ष डिभिजन लिग हो। तर, दुई वर्षयता यो लिग हुन सकेको छैन।
भारतमा आइलिगको उपस्थितिबीच जग हालेको आईएसएल नोक्सानीसँग अन्योलतर्फ ढल्कँदा नेपाल सुपर लिग भने भर्खर बामे सर्दैछ। यसले गर्दा एन्फाको पछिल्लो कार्यसमित बैठकले राष्ट्रिय लिग गराउने योजना अघि सारेको छ।
अर्कोतर्फ एनएसएल आफैँमा ‘कन्सिस्टेन्ट’ छैन। पहिलो संस्करणमा खेलेको विराटनगर सिटी एफसीले दोस्रो संस्करणमा खेलेन। दोस्रो संस्करणमा थपिएका झापा एफसी, स्पोर्टिङ इलाम र वीरगंज युनाइटेडमध्ये हाल झापा एफसीले मात्र तेस्रो संस्करण खेलिरहेको छ। हाल खेलिरहेका मध्ये केही क्लबको अर्को संस्करणमा के हुनेभन्ने धरमरको अवस्था भएको बुझिन्छ।
ए डिभिजनल लिगमा लाग्ने गरेको ठूलो आरोप हो : उपत्यका केन्द्रीत लिग। एनएसएलले पटकपटक होम एण्ड अवेको योजना सुनाए पनि तेस्रो संस्करणसम्म आइपुग्दा त्यसलाई कार्यान्वयनमा लैजान सकेको छैन। मुख्य कुरा भनेको आईएसएलसँग जस्तो एनएसएलसँग फिफा एएफसीको मान्यता छैन। ८ वर्षको करारपछि एनएसएलको के हुने भन्ने निर्क्योल एन्फाको राजनीतिले निर्धारण गर्छ। उत्प्रेरक आइएसएल बन्द भए घट्दो लोकप्रियताबीच एनएसएलमा प्रत्यक्ष परोक्ष प्रभाव पर्ने देखिन्छ।