भन्सार घटेपछि सुनको भाउ तोलामा १५ हजार ९०० रुपैयाँले गिरावट

बिजमाण्डू
२०८१ मंसिर १० गते १०:५६ | Nov 25, 2024
भन्सार घटेपछि सुनको भाउ तोलामा १५ हजार ९०० रुपैयाँले गिरावट


काठमाडौं। सरकारले सुनको भन्सार महसुल घटाएसँगै स्थानीय बजारमा सुनको भाउ ह्वात्तै घटेको छ। आज सुन तोलामा १५ हजार ९०० रुपैयाँ घटेको छ।

Tata
GBIME

भारतको भन्दा बढी भन्सार महसुल हुँदा नेपालतर्फ सुनको तस्करी बढेरहेको थियो। आइतबार सरकारले सुन आयातमा लाग्दै आएको २० प्रतिशत भन्सार महसुल घटाएर १० प्रतिशतमा झारेको थियो।

गत जेठमा सुनको भन्सार १५ बाट बढाएर २० प्रतिशत पुर्‍याइएको थियो। त्यसपछि एकैदिन तोलामा ६ हजार रुपैयाँसम्म सुनको भाउ बढेको थियो। अन्तर्राष्ट्रिय बजार अनुसार यसबीच सुनको मूल्य १ लाख ७१ हजारसम्मको नयाँ उचाइमा पनि पुगेको थियो। गएको साता सुन तोलाको मूल्य १ लाख ६० हजारसम्म आइपुगेको थियो।

आइतबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ बढेर प्रति तोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो। सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको भाउ घटाएर प्रति तोला १ लाख ५१ हजार ३०० रुपैयाँ निर्धारण गरेको छ।

आज चाँदीको मूल्य पनि तोलामा ११५ रुपैयाँ घटेको छ। सोमबार चाँदी प्रति तोला १ हजार ८४५ रुपैयाँ कायम छ। आइतबार चाँदी प्रति तोला एक हजार ९६० रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनचाँदीको भाउ घटेको छ। आइतबार प्रति औंस २७१५.२८ डलर रहेको सुन सोमबार घटेर प्रति औंस २६७३.०७ डलरमा आइपुगेको छ। चाँदी प्रति औंस ३०.७९ डलर छ। आइतबार प्रति औंस ३१.३४ थियो।