
विराटनगर। सरकारले सुन र चाँदीको भन्सार महसुल घटाएपछि दुबैको मूल्य तत्काल घट्ने भएको छ।
व्यवसायीले सुनको मूल्यमा प्रति तोला १० हजारसम्म र चाँदीको मूल्यमा १ सयदेखि १२५ सम्मले गिरावट आउने प्रक्षेपण गरेका हुन्।
मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष एवम् महालक्ष्मी ज्वेलर्सका सञ्चालक विकास बेगवानीले तत्कालको परिस्थिति हेर्दा प्रति तोला सुनमा १० हजार र चाँदीमा १२५ रुपैयाँ सम्मले सुधार आउने बताए।
सरकारले सुनको भन्सार महसुल २० बाट १० प्रतिशत बनाएको छ। त्यस्तै चाँदीको पनि १५ बाट १० मा झारिएको छ। भारतमा दुबैको आयात महसुल ६ प्रतिशत छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय सदस्य एवम् महालक्ष्मी ज्वेलरी हाउसका सञ्चालक विमल बेगवानीले अब तस्करीको सुनचाँदी आउन बन्द हुने दाबी गरे।
व्यवसायी विमलका अनुसार नेपालमा १० र भारतमा ६ प्रतिशत हुँदा तस्करी हुन सक्तैन। किनकि भारुको बट्टा र तस्करीको क्यारिङ चार्जमा पनि अतिरिक्त खर्च लाग्छ। त्यसैले ४ प्रतिशतको फरकमा तस्करीको सुन र चाँदीको तस्करी हुन सक्तैन।
विमलले भने, ‘नेपालमा महंगो महसुल दरका कारण व्यवसायी अनधिकृत आयातको सुनचाँदीबाट गहनाको उत्पादन गर्न बाध्य थिए। अब त्यो अवस्थाको अन्त्य हुनेछ। सरकारको निर्णय गहना उद्योगका क्षेत्रमा सकारात्मक र उत्साहप्रद छ।’
उपाध्यक्ष विकासले आजसम्म नेपालमा भन्दा भारतमा सुन सस्तो भएका कारण उपभोक्ता भारत पुगेर काँचो सुन खरिद गरेर ल्याउने अनि नेपालका व्यवसायीलाई गहना बनाउन दिने अवस्था पनि अब सकिने विश्वास व्यक्त गरे।
विकासले भने, ‘हामी गहना–उत्पादकबाट कालीगढ मात्र भएका थियौं। यहाँका उपभोक्ता भारतबाट काँचो सुन खरिद गरेर ल्याउँथे र हामीलाई त्यही सुनको गहना बनाउन दिन्थे। हामीले ज्याला मात्र पाउथ्यौं। अब उपभोक्ताले यहीँका पसलमा हामीसितै सुन खरिद गरेर हामीलाई नै गहना बनाउन दिनेछन्। नेपाली उपभोक्ता भारत जाने क्रम अब सकिनेछ।’
उनले भारतका उपभोक्तामा नेपाली गहनाको ठूलो क्रेज रहेको बताए।
‘भारतका कालीगढलाई २४ क्यारेटको सुनको गहना बनाउने अभ्यास छैन। नेपालका कालीगढले परम्परागत रूपमै २४ क्यारेटको सुनका गहना बनाउँदै आएका छन्। त्यसैले २४ क्यारेटको सुनका गहनामा नेपालको एकाधिकारजस्तै छ। उता भारतीय उपभोक्तामा नेपालमा निर्मित २४ क्यारेटका गहनाको ठूलो क्रेज छ’, उनले सुनाए।
विकासका अनुसार छिमेकका भारतीय राज्य उत्तर प्रदेश, विहार र पश्चिम बंगालका सीमावर्ती स्थानमा २४ क्यारेटको सुनको नेपाली तिलहरी लगायतका गहनाको ठूलो माग छ। धेरै भारतीय महिला नेपाली तिलहरी भनेपछि हुरुक्क हुन्छन्। तर गत जेठ १५ को बजेटबाट सुनको महसुल २० प्रतिशत भयो र मूल्य बढ्यो। त्यसैले भारतीय उपभोक्ता चाहेर पनि यहाँ आउन सकिरहेका थिएनन्। अब उनीहरू आउने क्रम पनि बढ्नेछ।
त्यस्तै एउटै गहना भारतमा भन्दा नेपालमा बनाउँदा भारतमा लाग्नेभन्दा आधा सुनमा पनि तयार गर्न सकिन्छ।
विकासले भने, ‘भारतमा २ तोलामा बन्ने गहना नेपालमा १ तोला सुनमै बनाउन सकिन्छ। यहाँका कालीगढलाई त्यो अभ्यास छ। त्यसैले अब सुनका गहनाको व्यवसाय वृद्धि हुने विश्वास गर्न सकिन्छ।’
बाबा गोल्ड सिल्भर मार्टका सञ्चालक जुगलकिशोर राठीले अब नेपाल र भारतमा सुनचाँदी दुबैको भाउ बराबर हुने र अनधिकृत कारोबार बन्द हुने प्रतिक्रिया व्यक्त गरे।
व्यवसायी जुगलले तत्काल मूल्य घट्ने, कारोबार बढ्ने र यसबाट राजस्वमा पनि वृद्धि हुने निश्चित देखिन्छ भन्ने उल्लेख गरे।
सरकारको निर्णयसँगै चाँदीका गहनाउद्योगी पनि उत्साही देखिएका छन्।
देशको सबैभन्दा ठूलो चाँदीको गहना उद्योग जेजे ज्वेलर्सका दीपक मुन्दडाले बिजमाण्डूलाई भने, ‘सरकारको जेठ १५ को राजस्व नीतिका कारण चाँदीका गहना उद्योगहरू मुर्झाइसकेका थिए। अब पुरानै लयमा फर्कने विश्वास गर्न सकिन्छ।’
मुन्दडाका अनुसार महसुलको फरकका कारण हुने अनधिकृत कारोबारले गर्दा उनको उद्योग बजारमा प्रतिस्पर्धा गर्न सकिरहेको थिएन। गहनाको बजारमा अस्वस्थ प्रतिस्पर्धा व्याप्त थियो। अब त्यो अवस्थाको अन्त्य हुने देखिन्छ।
‘सरकारको यो निर्णयले वैधानिक आयात, राजस्व, उत्पादन, कारोबार सबैमा वृद्धि हुनेछ। उपभोक्तालाई पनि राहत पुग्नेछ। सबै कारोबार सिस्टममा आउनेछ’, उनले बताए।
जेठ १५ अघि एक किलो चाँदीको आयात महसुल ८ हजार ५ सय रुपैयाँ थियो। बजेटले उक्त फिक्स महसुललाई परिवर्तन गर्दै १५ प्रतिशत बनाएको थियो। व्यवसायीले यसलाई घटाएर १२ प्रतिशत बनाए पनि हुन्छ भनेका थिए। तर सरकारले १० बनाएपछि व्यवसायीले अझ राहत अनुभव गरेका छन्।
सुन र चाँदीको आयात महसुल घटेसँगै अब खुला बजारमा भारुको मूल्य पनि घट्नेछ। हाल १ सय भारु खरिद गर्दा नेरु १६५ सम्म तिर्नुपर्छ। अब एक हप्ताभित्रै यो दर १६० मा आइपुग्ने व्यवसायीले बताएका छन्।
तिहारअघि १ सय भारुको मूल्य नेरु १६७ सम्म पुगेको थियो।