काठमाडौं। २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। लक्ष्मी बैंकको अगुवाईमा वित्तीय व्यवस्थापन भएको हो।
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले निर्माण गर्न लागेको आयोजनामा लक्ष्मी बैंकसहित कुमारी बैंक, सेन्चुरी कमर्शियल बैंक, प्रभु बैंक र जलविद्युत लगानी तथा विकास कम्पनीले कुल लागत (५ अर्ब ५९ करोड रुपैयाँ) को ७५ प्रतिशत ४ अर्ब १९ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ।
लक्ष्मी बैंकले एक अर्ब २४ करोड रुपैयाँ, कुमारी बैंकले एकअर्ब रुपैयाँ, जलविद्युत लगानी तथा विकास कम्पनीले ८० करोड रुपैयाँ, सेन्चुरी कमर्शियल बैंकले ७५ करोड रुपैयाँ र प्रभु बैंकले ४० करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको आयोजनाले जनाएको छ।
रामेछाप र ओखलढुंगा जिल्लाको समानामा रहेको लिखु खोलामा निर्माण गर्न लागिएको तल्लोलिखु जलविद्युत आयोजनाको लागि २५ प्रतिशत रकम भने कम्पनीका संस्थापक तथा सर्वसाधारण शेयरधनीले लगानी गर्ने छन्।
श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र नेपाल विद्युत प्राधिकरण विच २०७३ पौष १४ गते विद्युत खरिद बिक्रि सम्झौता (पिपिए) भैइसकेको छ। त्यसअघि आयोजना निर्माणका लागि ऊर्जा मन्त्रालयबाट २०७२ चैत्र २८ गते विद्युत उत्पादन अनुमतिप्राप्त गरेको थियो। श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड, सानिमाग्रुप तथा डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रवर्द्धन गरेको कम्पनी हो।
२८.१ मेगावाट जडित क्षमता रहेको आयोजनाबाट वार्षिक रुपमा १७०.८४ गिगावाटआवर विद्युत उत्पादन हुनेछ। २०७८ मंसिरमा उक्त विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य रहेको छ।