काठमाडौं। एक बाणिज्य बैंकका लागि डेपुटी प्रमुख कार्यकारी अधिकृत चाहियो भनेर गत साता पत्रिकामा सुचना आयो। बैंकको नाम नखुलाइ आवेदन मागिएपछि बैंकिङ कम्युनिटीमा चर्चा चल्यो- कसले माग्यो डेपुटी सिइओ?
कर्मचारी माग्नेमा एक नम्बरमा अहिले एनआइसी एसिया बैंक छ। तर उसले माथिल्लो ब्यवस्थापनका लागि भन्दा पनि 'मिड करियर' बैंकर मात्र मागिरहेको छ। तैपनि त्यहाँ डेपुटी सिइओ छँदैछन्।
एनआइसी एसिया नभए कुन बैंक हो त? मेगा बैंकको कामु सिइओ छिन् अनुपमा खुँजेली। उनी सिइओमा बढुवा हुने निश्चित छ, त्यसैले 'सकेन्ड म्यान' खोजिएको हो कि भन्ने चर्चा पनि चल्यो।
तर शंका, मेगा बैंकमा मात्रै रोकिएन। सेञ्चुरी बैंकले डेपुटी सिइओ भित्र्याएर जीवन भट्टराईलाई सिइओ बनाउन लागेको त होइन?
ग्लोबल आइएमइ, प्रभुको नेटवर्थ बढिरहेको छ, उनीहरुले पनि डेपुटी सिइओ थप्न लागेका हुन् कि? बैंकर कम्युनिटीमा कुनै चै बैंकले डेपुटी सिइओ माग्यो भन्ने चर्चाले राम्रो ठाउँ पायो। कसैले पनि यहीँ नै हो भनेर ठोकुवा गर्न सकेनन्।
'जिमेल आइडी क्रिएट' गरेर आवेदन माग गरिएकाले तीन सरकारी बैंकसहित स्ट्यान्डर्ड चार्टर्ड, नेपाल एसबिआइ, एभरेष्ट, हिमालयन, नेपाल इन्भेष्टमेन्ट बैंकवलाई शंका कमैले गरे।
धेरैको शंका सोझियो नबिल बैंकमा। यद्यपी आवेदन दिने समय हिजो मंगलबार सकिसकेको छ। आवेदन दिनेका लागि शर्त राखिएको – उमेर ५३ बर्ष ननाघेको। कम्तिमा सकेन्ड डिभिजनमा एमबिए उत्तिर्ण गरेको र २० बर्षदेखि बैंकिङमा रहेको ब्यक्ति मात्र डेपुटी सिइओको लागि उमेद्वार हुन सक्ने विज्ञापनमा खुलाइएको छ।
नेपाल राष्ट्र बैंकले कुलिङ पिरियडको ब्यवस्था गरेका कारण नियुक्त भइसकेका अनिल शाहलाई निरन्तरता दिन नबिलले नसक्ने गाँइगुँइ चल्न थालिसकेको थियो। नभन्दै सोमबार बसेको सञ्चालक समितिले उनलाई पुस १३ मा गरेको नियुक्ति बदर गर्यो।
एउटा सिइओ अर्को बैंकमा सिइओकै रुपमा जान ६ महिना कुर्नु पर्ने प्रवधानलाई असर नगर्ने गरि बीचको बाटो नबिलले रोज्दा डेपुटी सिइओका रुपमा शाहलाई भित्र्याउन खोजिएको चर्चा बैंकरबीच छ।
कुमारी र जनता बैंक संभवत सबैभन्दा बढि डेपुटी सिइओ भएको संस्था हो। केही बैंकरले भने दोस्रो पुस्ता प्रमुख कार्यकारी भइसकेका कारण उनीहरुले नै डेपुटी सिइओ खोजेको पनि चर्चा गर्छन्।
आवेदन दिने समय हिजो सकिसकेकाले केही दिनमा कुनै बैंकमा नयाँ डेपुटी सिइओ नियुक्त भए, विज्ञापन त्यसैको रहेछ भनेर बुझ्नु पर्ने हुन्छ!