रुपन्देही । कमिसन रकम नपाएकै कारण पश्चिम पाल्पास्थित बल्ढेङगढीमा विद्युत विस्तारको काममा ढिलाई भएको छ । गत आर्थिक वर्षभित्र सक्नुपर्ने काम समेत हुन सकेको छैन ।
बल्ढेङगढीमा गठित विद्युत विस्तार उपभोक्ता समितिले काममा तदारुकता देखाउन नसक्दा गत आर्थिक वर्षको बजेटको समेत काम पुरा हुन सकेको छैन । स्थानीय रामबहादुर कुँवरको अध्यक्षतामा गठित समितिले गत आर्थिक वर्षमा गर्नुपर्ने काम नगरी बजेट भने रकमान्तर गरेको छ ।
साविकको बल्ढेङगढी गाविसबाट छुट्याईएको साढे २४ लाख रकम के कति खर्च भयो भन्ने समेत समितिलाई जानकारी छैन । हालसम्म ८ लाख रकमको मात्र काम भएको अनुगमन समितिका संयोजक रमेश कार्कीले बताए ।उनले भने, ‘म समितिको कामबाट कति पनि सन्तुष्ट छैन। गत आर्थिक वर्षको रकम नियमविपरित रकमान्तर गराइएको छ, यस्तो गर्नेलाई कारवाही हुनुपर्छ । पटक–पटक ध्यानाकर्षण गराउँदा पनि समितिले लापरवाही गरेर काममा ढिलाई गरेको कार्कीको भनार्इ छ ।
रैनादेवि छहरा गाउँपालिका वडा नं ७ मा पर्ने साविकको बल्ढेङगढी गाविसका स्थानीयले गत वर्ष नै घर वाईरिङ गरिसकेका छन्। तर विद्युत विस्तार समितिले साविक बल्ढेङगढीका दुईवटा वडा ८ र ९ (बल्ढेङ र धारापानी) मा मात्र तार तथा पोल पुर्याएको छ । वडा नं २, ३, ४, ५, ६ र ७ मा विद्युत विस्तारको काम कुनै पनि काम शुरु हुन सकेको छैन ।
समितिका अध्यक्ष रामबहादुर कुँवरले भने काम भइरहेको छ अझै १० लाख रकम बाँकी रहेको दावी गरे । उक्त समितिले तानसेनको एक ठेकेदार कम्पनीबाट तार र पोल खरिद गर्ने गरेको भएपनि समिति भित्रकै किचलोका कारण काममा ढिलाई भएको बताइन्छ । बल्ढेङगढी वडापालिकाका सचिव हुमबहादुर कुँवरले सबैको दवावमा बजेट फ्रिज हुन नदिनको लागि रकममान्तर गरेको बताए।
समितिका अध्यक्ष कुवँर र सचिव सोमबहादुर रायमाझीबीच कार्यशैली नमिल्दा र ठेकेदारसंग कमिसन रकममा कुरा नमिल्दा काम ढिलो भएको बताइएको छ । ठेकेदार गोपाल पौडेले पनि कमिशन मागेको खुलाएका छन् ।
पौडेलले भने, ‘मलाई समितिको एकजनाले कमिसन मागेका थिए मैले दिइन, मलाई रकम दिएजतिको सामान पठाएको छु ।’ आफ्नो कारणले काममा ढिलाई नभएको जनाउदै पौडेलले आफूले हालसम्म १० लाख रुपैयाँ मात्र रकम पाएको र उक्त रकम भन्दा बढीको सामान पठाएको दावी समेत गरे ।