काठमाडौं । अब अर्थतन्त्र कतातिर जाला ?
नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षको पहिलो महिनाको विवरण सार्वजनिक गर्दै अर्थतन्त्रका बारेमा चार वटा वुँदामा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
१. मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाउनमा प्रत्यक्ष एवं परोक्ष रुपमा उल्लेख्य भूमिका निर्वा गर्दै आएको विप्रेषण आप्रवाह (रेमिटेन्स) को बृद्धि कमजोर हुँदै आएकाले यसबाट सेवा क्षेत्रको बृद्धिका साथै समग्र आर्थिक बृद्धि दर नै प्रभावित हुने जोखिम देखिन्छ ।
२. गत बर्षको भुकम्प एवं बन्द हड्तालका कारण सुस्त रहँदै आएको पर्यटन क्षेत्र अझैसम्म पुनरुत्थान हुन सकेको छैन । होटल एसोसिएसनका अनुसार बर्षात एवं अफसिजनसमेत भएकाले पर्यटक स्तरीय होटलहरुमा वेड अकुपेन्सी दर औषत ३० प्रतिशत हाराहारी मात्र रहेको छ ।
३. चालु आर्थिक बर्षका लागि सरकारले गर्ने पुँजीगत खर्चमा उल्लेख्य बृद्धि (बजेट बढाएको) गर्नुका साथै त्यसको कार्यान्वयनका लागि जोड दिइएको एवं पुनर्निर्माण कार्यले गति लिने सन्दर्भमा औद्योगिक क्षेत्र अन्तर्गत निर्माण सम्बद्ध उद्योगहरुको साथै समग्र उद्योग क्षेत्रको क्षमता उपयोग तथा उत्पादन विस्तार हुने अपेक्षा रहेको छ ।
४. नेपाली कृषि क्षेत्रको उत्पादन बृद्धिमा मौसमी अवस्थाको प्रमुख भूमिका रहँदै आएको सन्दर्भमा यस बर्ष मनसुन अनुकुल रहेकाले कृषि उत्पादनमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । यसा साथै वालीनालीमा उल्लेख्य महामारी रोग/कीराको प्रकोप नदेखिएको एवं रासायनिक मल तथा किटनासक औषधिको उपलब्धता पनि सामान्य रहेकाले कृषि क्षेत्रमा यसको समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।