काठमडौं । जलविद्यूत लगायत प्रत्यक्ष नियमनकारी निकाय नभएको कम्पनीहरुको हकप्रद तथा फरदर पब्लिक अफरिङ (एफपिओ) व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डले नीतिगत व्यवस्था गर्ने भएको छ । अहिलेसम्म त्यस्ता कम्पनीहरुको प्राथमिक निश्कासनमा नीतिगत व्यवस्था भएपनि हकप्रद र एफपिओमा कुनै मापदण्ड छैन ।
बोर्डले सोमबार विज्ञ सहित रहने गरी जलविद्युत लगायतका कम्पनीको हकप्रद तथा एफपिओ मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु सिफारिश गर्न समिति गठन गरेको हो ।
धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को नियम ७ को उपनियम ६ मा बैंक, वित्तीय संस्था वा बीमा कम्पनी बाहेकका अन्य सार्वजनिक निष्काशन गर्ने संगठित संस्थाहरुले सार्वजनिक निष्काशन गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु उल्लेख छ । तर हकप्रद शेयर निष्काशन तथा फर्दर पब्लिक इस्यू सम्बन्धमा आवश्यक मापदण्ड भने उल्लेख छैन ।
त्यस्ता सूचिकृत संगठित संस्थाहरुले हकप्रद शेयर निष्काशन तथा फर्दर पव्लिक इस्यू मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु तयार गरी हकप्रद शेयर निष्काशन कार्यलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन नीतिगत व्यवस्था गर्न लागिएको पनि बोर्डले जनाएको छ ।