
काठमाडौं। झुप्प परेको दुई बस्तीको वरिपरि फाँटैफाँट। वर्षातमा जलमग्न खेत, मंसिरमा लहलह धानका बाला। अरुबेला आलु फल्ने। पाखाभरि भने पहेँलै हुनेगरी तोरी। ललितपुरको उत्तरी भेगका प्राचीन सहर लुभु र सिद्धिपुरका चौर र गौंडातिर दिउँसै स्याल कुद्न छाडेको धेरै भएको छैन। पहिले फाट्फुट्टमात्रै घर रहेको ठाउँ अहिले घना बस्तीमा रुपान्तरित भएको छ।
काठमाडौंमा २०५२ सालदेखि सुरु भएको बसाइसराईको असर यस भेगमा विस्तारै पर्यो। पछिल्लो १० वर्षयता चाहिँ अकल्पनीय रफ्तारमा जनघनत्व बढ्यो यस क्षेत्रमा। सहर तन्किँदै लुभु र सिद्धिपुरतिर मात्रै होइन, पातलेवनमुनिको लामाटारसम्म बस्ती बाक्लिएको छ। काठमाडौं उपत्यकाको वरपरको नयाँ सहरको शृंखलामा यसपटक छोटो अन्तरालमै सहर बनेको इमाडोलको कथा।

ग्वार्कोबाट कृष्णमन्दिर हुँदै इमाडोलतिर लाग्दा बाटामै पर्छ रातामकै चोक। ‘रातामकै’ अर्थात् कलाकार किरण केसीको थेगो। बाक्लो बस्तीले ढाकिनुअघि यहाँ रहेका थोरै घरमध्ये किरणको पनि एक थियो। आठ-नौ रोपनीमा फैलिएको जग्गामा उनका बुबाले सानो घर बनाएका थिए। उनको भन्दा निकै पर थियो अर्को घर। सहर बनिरहँदा सिनेमा र काँचका पर्दामा स्थापित केसीकै सम्मानमा इमाडोलमा राता मकै चोक स्थापित भयो।
इमाडोलका रैथाने किरण २०५५ सालयता बिस्तारै बस्ती बढ्न सुरु गरेको बताउँछन्। उनकै शब्दमा अहिले इमाडोलमा घना होइन, महाघना बस्ती बसेको छ।

‘मेरो घरको ७०-८० मिटर टाढा अर्को घर, त्यसको दुई-तीन सय मिटर उता गएपछि अर्को। यसरी नै घरहरु छरिएर रहेका थिए। २०५५ सालबाट बिस्तारै जग्गा किनबेच र घरहरु बन्न थाले,’ उनले सहर विस्तारको सन्दर्भ सुनाए, ‘अहिले एउटा घरले अर्को घरले छेक्छ। हेर्दाहेर्दै घना होइन महाघना भयो।’
किरणले इमाडोलको परिवर्तनलाई नियाल्दै गर्दा मीनबहादुर थापामगर अवसरको खोजीमा झापाबाट काठमाडौं आइपुगेका थिए २०४५ सालमा। उनी अहिले ७२ वर्षका भइसके। त्यसबेला उनी यहाँ आइपुग्दा न बाटा थिए न त बत्ती। काठमाडौं घुम्दाघुम्दै इमाडोलमा बस्न जुरेको बताउने उनी २०६० सालदेखि गोरेटो बाटो बिस्तारै फराकिलो हुन थालेको सम्झन्छन्।
‘सडक बनेपछि यहाँ चहलपहल बढ्यो। जग्गा किनेर घर बनाउने बढे। २०७२ सालको भूकम्पपछि त यहाँ घर ह्वात्तै बढ्यो। कच्ची घर, नयाँ बने। अरु घर पनि थपिए,’ उनले भने।


चील बसेपछि बसेको बस्ती
काठमाडौं उपत्यका कथा नै कथाले भरिएको सहर। घना इमाडोलको रोचक कथा छ, जुन लिच्छविकालीन प्राचीन विशालनगर राज्यसँग जोडिएको छ। विशालनगर (हाँडीगाउँ)मा आगो लागेपछि त्यहाँबाट मानिसहरु बसाई सरे काठमाडौंको अन्य भेगमा। त्यही सिलसिलामा एउटा समूह इमाडोल पुगेको किंबदन्ती छ। आगलागी भएपछि देवता बस्ने उचित नभएको विश्वासमा मानिसहरु नयाँ बासस्थानको खोजीमा हिँडे। साफल्य अमात्यको किताब ‘काठमाडौं नगरायण’मा यो घटनाको पनि उल्लेख छ।
शुभरत्न शाक्य भन्छन्, ‘चिल जहाँ बस्यो त्यहाँ बस्नु भन्ने थियो। उताबाट चिल निस्कियो। मानिसहरु चीललाई पछ्याउँदै हिँडे। पछि त्यो चील माटोको ढिस्को भएको ठाउँमा बस्यो। त्यही ठाउँ इमाडोल हो।’
नेपाल भाषामा ‘इमा’ भनेको चील हो भने ‘द्वँ’ को अर्थ माटो थुप्रिएको ढिस्को। त्यसैले यस ठाउँलाई इमाद्वँ (चील बसेको ढिस्को)का रूपमा चिनियो। पछि अपभ्रंस हुँदै ‘इमाडोल’ कहलियो।
त्यस बेला हाँडीगाउँबाट हिँडेका मानिसहरुले चील बसेको ठाउँमा आफ्नो आराध्य चैत्य बनाएका थिए। अहिले महालक्ष्मी नगरपालिकाको वडा २ को भवन पछाडि रहेको चैत्य त्यही हो भनिन्छ।


इमाडोल हुँदै हाँडीगाउँका मानिस पछि पाटनतिर सरे। मध्य पाटनमा रहेको मसानमा चील बसेपछि त्यहाँ बस्ती बसेको बताउँछन् शाक्य।
‘त्यहाँ बस्न उचित नभएपछि फेरि यहाँ आएको कथन छ। पहिला यहाँ मसान थियो। चील यहाँबाट विलीन भएर गयो। अनि यहाँ विहार स्थापना भएको कथन छ,’ उनले भने।
अहिले सो ठाउँलाई सुबहा: भनिन्छ। हाँडीगाउँबाट इमाडोल हुँदै पाटन पुगेकाहरुले त्यहाँ जय मनोहर महाविहार स्थापना गरेको अभिलेख छ।
९६० वर्ष पुरानो इतिहास बोकेको सो महाविहारबारे स्थानीय शुभरत्न शाक्य भन्छन्, ‘दसैंको कोजाग्रत पूर्णिमा यहाँबाट हामी इमाडोलको स्वेत चैत्यमा पूजा गर्न गोरेटो बाटो हुँदै जान्थ्यौं। पहिला सुबहा:कै ३ तल्ले पुरानो शैलीको घरबाट सो चैत्य देखिन्थ्यो। अहिले घरले छेकियो। पूजा गर्न जाने चलन चलिरहेकै छ।’

एक दशकमा फेरिएको दृश्य
२०६८ को जनगणना अनुसार तत्कालीन ६ गाविस (हाल महालक्ष्मी नगरपालिका)को कूल जनसंख्या ६२ हजार १ सय ७२ थियो। जसमा साबिकको इमाडोल गाविसका ४ वडामा २७ हजार ३ सय २७ जना थिए।
एक दशकपछि जनगणना-२०७८ अनुसार भने महालक्ष्मी नगरपालिकाको कुल जनसंख्या १ लाख २३ हजार १ सय १६ पुगेको छ। जसमा साबिकको इमाडोलको चारवटा वडाको कुल जनसंख्या ६१ हजार ४ सय ८९ छ। १० वर्षको अवधिमा इमाडोलमा आधिकारिक तथ्यांकमा मात्रै जनसंख्या ३४ हजार बढेको देखिन्छ। जनगणनामा रेकर्ड नभएका हजारौं मानिस अहिले इमाडोलमा बसोबास गर्छन्।
किरण केसीको घर भएको इमाडोलको तल्लो क्षेत्र भरिएर अहिले राजकुलो र शीतल हाइटतर्फ बस्ती व्यापक बढेको छ।
‘दुई वर्ष अघिसम्म यहाँ केही घर थिए। अहिले त यहाँ खाली जग्गा देख्नै गाह्रो भइसक्यो,’ शीतल हाइटमा चार वर्षअघि घर बनाएर बस्न आएका सञ्जीत देवकोटाले भने, ‘राजकुलो क्षेत्रमा पनि घर थिएन। दुई-तीन वर्षमा माथिल्लो भेगमा पनि बस्ती बढ्यो।’


यस क्षेत्रमा घरजग्गा कारोबार व्यापक भएको बताउँछन् स्थानीय। सामाजिक सञ्जाल र डिजिटल प्ल्याटफर्मबाट घरजग्गा बिक्री गर्नेहरुको भिडियोमा पनि यस क्षेत्रको हिस्सा अत्यधिक देखिन्छ।
‘दिउँसै स्याल दौडिने ठाउँ हो शीतल हाइट। अहिले घर नै घर भयो,’ सिद्धिपुरका लक्ष्मीप्रसाद अमात्यले भने।
पछिल्लो समय घरसँगै इमाडोलमा चेन मार्ट र फुड चेनहरु पनि भित्रिएका छन्। सिद्धिपुर (थसि:)मा दुई वर्षअघि भाटभटेनी सुपरमार्केट खुलेपछि यहाँको माहोल नै फेरिएको स्थानीय बताउँछन्।
अमात्य भन्छन्, ‘भाटभटेनी आएपछि यहाँ फ्लो बढ्यो। त्यसपछि यहाँ अन्य बजार पनि बढेको छ।’


भाटभटेनी डिपार्टमेन्टल स्टोर आएपछि बढेको बजारले जग्गाको भाउ पनि बढेको उनले बताए। ‘भाटभटेनी आउनु पहिला आनाको २५ लाख भन्दा बढी थिएन, अहिले ८० लाख घटी छैन। सडक राम्रो बनेपछि बैंकहरु पनि खुले। त्यसपछि यो ठाउँ जगमगाएको छ,’ उनले भने।
लामाटारको भीरसम्म घर
इमाडोलको बसेको बस्तीको प्रभाव महालक्ष्मी नगरपालिकाका अन्य वडामा पनि परेको छ। लुभु र सिद्धिपुरमा नयाँ घर थपिएका छन्। टिकाथलीसँगै लामाटारको भीरसम्मै सहर तन्किएको छ।
स्थानीय ५९ वर्षीय हरि रोकाको पुस्तैनी थलो नै हो लामाटार। उनको भनाइअनुसार पहिले यस क्षेत्रमा छाप्रामात्र थिए। त्यतिबेलासम्म गाउँमा औंलामा गन्न सकिने घर थिए। भूकम्पपछि बस्ती विकास ह्वात्तै भएको उनी बताउँछन्।
जनगणना-२०६८ अनुसार साबिक लामाटार गाविसको दुई वडा (हाल महालक्ष्मी नगरपालिकाको वडा ९ र १०) क्षेत्रको जनसंख्या १ हजार ७ सय ५९ थियो। २०७८ को जनगणनाको तथ्यांकले यी दुई वडाको जनसंख्या १० हजार ७ सय १३ छ। यो पनि रेकर्ड भएको संख्या मात्रै हो।

‘मैले पनि भूकम्पपछि घर बनाएँ। २०७२ सालपछि नै हो यहाँ धेरै घर बढेको। जग्गा हुनेले बेच्न थाले। जंगलमुनि फाँट थियो। धान र गहुँ दुई बाली खेती हुन्थ्यो,’ रोकाले आफ्नो घरबाट फैलिरहेको उपत्यका देखाउँदै भने।
आफ्नो गाउँ बिस्तारै सहरसँग जोडिने कल्पनाधरी गरेका थिएनन् उनले।
‘इमाडोलबाट बस्ती बढ्दा बढ्दै यतासम्म आयो। हिँडेर नै ग्वार्कोसम्म पुग्थ्यौं हामी। त्यहाँसम्म कच्ची गोरेटो बाटो थियो। बीचमा लुभु बजार। दायाँ बायाँ फाँट। अहिले फाँटमा घरैघर,’ उनले सुनाए।
२०५२ सालपछि नै हो लामाटारमा नयाँ घर थपिन थालेको। तर, बस्ती विकासको रफ्तार भने २०७२ सालपछि नै भएको हो। बीचमा लामाटारमा ‘फार्म हाउस’ खोल्ने होड पनि चल्यो। काठमाडौंको कोलाहल छिचोल्न घर बनाउने पनि बढे।
लामाटारमा नै अहिले कोलोनीहरु बढेका छन्। यसको सुरुवात भने २०७२ अघि नै निर्माण सुरु भएको ग्रीन भ्याली होम्सबाट भएको स्थानीय बताउँछन्। त्योभन्दा अघिसम्म यहाँ फाटफुट्टमात्रै नयाँ घर निर्माण सुरु भएका थिए।



‘माथितिर बस्ती बढ्न थालेको २-३ वर्ष भयो। एक वर्षमै धेरै घर बन्यो। खोला छेउदेखि भीरसम्म बढ्यो। यहाँभन्दा माथि जंगल डाँडासम्म घरैघर भएका छन्,’ लुभु र लामाटारको बीचमा पसल संचालन गर्दै आएका हरि तामाङले भने।
अहिले लामाटारमा आनाकै २५ लाख रुपैयाँ पुगेको तामाङ बताउँछन्। ‘सबैतिर प्लानिङ भइसक्यो। खाली जग्गा थौरै छ। भएको पनि अब भरिन्छ,’ उनले भने।
जनघनत्व बढेपछि लुभु लामाटारसम्म साझा यातायातको बस पनि चलिरहेको छ। सडकको सञ्जाल जोडिएसँगै लाँकुरे भञ्ज्याङ जाने लुभु लामाटारको सडकखण्ड ‘भाइरल’ पनि बन्यो। साथै पातलेवन क्षेत्रमा रिसोर्टहरु पनि संचालनमा आएका छन्। विकएन्डमा रिसोर्ट पुग्नेको संख्या पनि बढेको छ।


ट्राफिक जामले भने हैरान !
इमाडोल घरघरलै घेरिँदै नयाँ सहरका रुपमा उदाउँदै गर्दा त्यसको असरहरु पनि देखिन थालेको छ। यहाँ व्यवस्थित घडेरी भन्दा थोरै जग्गामा आफूखुसी घर बनाएर बस्ने ‘ट्रेन्ड’ बढ्दो छ। घर बढेसँगै मानिसको ‘फ्लो’ पनि बढ्ने नै भयो। त्यसैले गर्दा ग्वार्को हुँदै इमाडोलदेखि लामाटारसम्म पुग्न कार्यालय समयमा निकै ‘ट्राफिक’ हुने गरेको छ।
नेपालकै धेरै ट्राफिक ‘कन्जेसन’ हुने ग्वार्को चोकलाई मध्यनजर गरेर नै फ्लाइओभरको निर्माण गर्ने योजना अघि बढेको छ। तर, त्यसको काम भने औधि सुस्त छ।
किरण केसी भन्छन्, ‘धेरै जनघनत्व बढेपछि ट्राफिकले गर्दा राति घर फर्किन गाह्रो। फ्लाइओभर बनाउँदैछन्, समयमै सकियो भने त समस्या हट्ला।’

यस्तै, पानीको समस्या पनि यहाँ बढ्दो छ। जसलाई सम्बोधन गर्न विभिन्न स्थानमा खानेपानीको ट्यांक निर्माण गरिएको छ।
इमाडोलमा रहेको बोजेपोखरी (इबि दह) संरक्षणको खोजीमा छ। काठमाडौंको चार मुख्य दहमध्ये पर्ने यो पोखरी अहिले फोहोर छ। स्थानीय भने पोखरीलाई राम्रोसँग संरक्षण गर्न सके उपत्यकाका अन्य पोखरीको वरिपरि झुम्मिने ‘क्राउड’ तान्न सकिने मत राख्छन्।
बोजे पोखरी नजिकै पसल संचालन गर्दै आइरहेका मीनबहादुर मगर भन्छन्, ‘पहिला माछा थियो। अहिले छैन। पोखरी राम्रो व्यवस्थापन भयो भने आसपासको व्यापार राम्रो हुने थियो।’

यस्तै, लुभु र सिद्धिपुर जस्तो प्राचीन बस्ती र त्यहाँका रैथाने संस्कृतिलाई पर्यटक आकर्षित गर्ने बाटो बनाउन सकिने ठाउँ छ। पक्कै ढिलोचाँडो महालक्ष्मी नगरपालिकाले यसबारे पहल गर्नेछ।