
काठमाडौं । बाटोको सुविधा न टेलिफोनकै। बेला बेलामा बिजुलीको तार नै चुडिरहँदा अन्धकार भइरहने। तीव्र सहरीकरणले उपत्यकालाई गाँजिरहँदा उत्तरी काठमाडौंको टोखाको नियति भने यस्तै अभावसँग संघर्ष गर्न बाध्य थियो। राजधानी उपत्यकाका धेरै ठाउँमा भौतिक विकासले रफ्तार लिइरहँदा प्राचीन अनि कुनै बेलाको व्यवस्थित सहर भने दुर्गम प्रतीत हुँदै थियो।
२०५५ सालसम्म टोखाबाट काठमाडौंको भित्री सहर छिर्ने गौंडा थियो – हात्तीगौंडा। कोही बिरामी भए खर्पनमा बोकेर हात्तीगौंडासम्म जसोतसो पुर्याइन्थ्यो। त्यसपछि एम्बुलेन्सबाट अस्पताल। भौतिक दुरी नजिक भए पनि विकासको चाहना बोकेका टोखावासीका लागि सिंहदरबार धेरै दुर थियो।
पच्चिस वर्ष अघिमात्रै हो अहिलेको चलनचल्तीमा रहेको सामाखुशी-टोखा सडक केही फराकिलो बनेको। त्यसपछि यहाँका फाँटहरुमा घर बन्ने क्रम सुरु भयो। २०५२ सालमा माओवादीको ‘जनयुद्ध’ले ग्रामीण नेपाल प्रभावित हुँदै गर्दा काठमाडौंमा त्यसको चाप पर्न थाल्यो। अनि २०७२ को भूकम्पपछि यस भेगमा जग्गा कारोबार ‘बुम’ भयो।
कुनै बेला उत्तरी काठमाडौंको सांस्कृतिक रुपमा सम्पन्न रहेको टोखा अहिले नुवाकोट जोड्ने ‘हाइवे’का कारण सूर्यचौरतिर उकालो लागिरहेको छ। सहरीकरणको चर्को प्रभावमा परेको यस क्षेत्र ‘चाकु’लाई नगरकै ‘ब्राण्ड’ बनाएर विश्वमाझ चिनाउन जुटिरहेको छ।

सडकले ल्याएको परिवर्तन
२०५४ सालमा बाबुलाल डंगोल टोखा सरस्वती गाउँ विकास समितिको अध्यक्ष बनिरहँदा उनीसामु कयौं चुनौती थिए। काठमाडौंको ‘डेढ कोष’ टाढा रहेको भनिने टोखालाई विकासको बाटोमा डोर्याउनु थियो उनलाई। सडक नबने टोखाको विकास नहुनेमा उनी निश्चित थिए। त्यसैले धापासी र गोंगबु गाविससँग लडेर भए पनि सामाखुशी-धापासीको १० फुटे बाटोलाई २० फुटको बनाउन लागि परे। निरस र अन्कन्टार ठाउँमा सडक विस्तार गर्दै टोखासम्म बल्लबल्ल सडक पुर्याए।
टोखामा बाटो ल्याउन चाहँदा छिमेकका गाविसले असहयोग त गरे नै, कतिपय आफ्नै भन्नेहरु पनि सहयोगी थिएनन्। केही स्थानीयले उनलाई भन्थे- बाबुलाल सडक नबनाउ। सडक बन्यो भने हाम्रो जग्गा अरुले खोस्छन्।
उनीहरुलाई बाबुलाल जवाफ फर्काउँथे – बाटो नबनाए विकास हुँदैन। जग्गा अरुलाई नदिनू।
यिनै अप्ठ्यारा चिढ्दै हात्तीगौंडामाथि टोखावासीको निर्भरता तोडे। त्यतिबेलासम्म काठमाडौंका अन्य क्षेत्रमा सहज रुपमा बाटोको सुविधा थियो। तर, टोखासम्म गाडी पुग्न निकै समय लाग्यो। बाबुलालले सामाखुशी हुँदै टोखासम्मका लागि रुटका लागि निवेदन दिए। तर कुनै सनुवाइ भएन। पछि आफैंले कलंकीका व्यवसायीलाई सार्वजनिक यातायातमा जोडे। बल्लतल्ल गाडी संचालन हुन थाल्यो।
‘सयौं ट्रक ग्राभेल खन्याएँ त्यो सडकमा। निकै गाह्रो थियो,’ उनले सुनाए, ‘ठूला गाडी चल्नेबित्तिकै खाल्डो हुने। आफूले सोचेको जस्तो नहुने रहेछ।’
सडक संजाललाई आफ्नै कार्यकालको महत्त्वपूर्ण लक्ष्यका रुपमा उनले अगाडि बढाए। टोखा गणेशस्थानदेखि हात्तीगौंडासम्मको बाटोलाई थप राम्रो बनाउने प्रयास गरे। टोखाबाट भत्केपाटी, फुटुङ, मनमैजु, पञ्चेटार हुँदै झोर जाने बाटो पनि बनाए।

‘बाटोको संजाल राम्रो भइसकेपछि मानिसहरु टोखा आउन थाले,’ उनले जग्गाको मागसँगै बढेको भाउबारे बताउँदै भने, ‘५४ सालमा रोपनीको ५० हजार थियो। अहिले त्यही ठाउँमा आनाकै ६० लाख छ।’
सडकले कसरी सहरीकरणमा टेवा दिन्छ भन्ने गज्जबको उदाहरण बन्यो टोखा। पछि त अझ यही बाटो नुवाकोट जाने ‘राजमार्ग’मा रुपान्तरण भएपछि टोखा सहर लगातार तन्किँदो छ।
‘बालाजु बाइपासबाट नुवाकोट जान ७० किलोमिटर, टोखाबाट ३५ मात्र। जंगलबाट सडक खुलेपछि यहाँ नसोचेको विकास भयो,’ स्थानीय बुद्ध श्रेष्ठ भन्छन्, ‘२०६८ सालमा खोलेको हो सडक। त्यस कारणले यहाँ भौतिक विकास भयो।’
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीका अनुसार बढ्दो बस्तीबीच टोखा-छहरे सुरुङमार्गको घोषणासँगै जनघनत्व थप बढिरहेको छ। सडकसँगै अन्य पूर्वाधार निर्माणमा आएको व्यापकताले यहाँ बस्ती बढिरहेको उनले बताए।
अधिकारी दोस्रो कार्यकालका लागि टोखा नगरपालिकाको प्रमुखको रुपमा सक्रिय छन्। ‘यहाँ बाटो अस्तव्यस्त थियो। अहिले अधिकांश कालोपत्रे भएको छ। टोखादेखि झोर हुँदै छहरे जाने बाटो पनि पनि राम्रो भएको छ,’ उनले भने।

बढ्दै आवास र प्लटिङ सँगैसँगै
लिच्छविकालमा नै टोखा एउटा व्यवस्थित सहर बनिसकेको थियो। मल्लकालमा यहाँ धेरै मठमन्दिर बने। चन्देश्वरीको सपनतीर्थ, इन्द्रेणी (भूतखेल), नित्यमुद्राको गणेश लगायत सयौं वर्ष पुरानो सांस्कृतिक धरोधर छन् यहाँ। तर पछि भने यो सहर गुमनाम जस्तै बन्यो। व्यवस्थित सहर विस्तारै अस्तव्यस्त बन्यो।
२०५४ सालसम्म न घरमा शौचालय न खेतीबारीका लागि मलको उपलब्धता। बाबुलाल डंगोल जसरी सडक बनाउन लागे त्यसरी नै जुटे सरसफाइका विषयमा। अचम्म लाग्ला, २०५४ सालमा टोखामा टेलिफोन समेत पुगेको थिएन। उनले बारम्बार पहल गरेपछि २०५६ सालमा मात्रै टोखामा टेलिफोनको लाइन टाँगियो।
‘खेतबारीका लागि चाहिने मल घर अगाडि थुपार्ने चलन। अनि शौचालय पनि छैन। यी दुवै व्यवस्थापन नगर्नेलाई वडाबाट कुनै पनि सिफारिस नदिने नीति लिएँ,’ परिवर्तनका लागि गरेको पहल सम्झिए उनले। उनका शब्दमा जे गरे त्यो ‘क्रान्ति’ थियो।

अहिले साँघुरो घेराभित्रको टोखाबाहिर पनि धेरै संरचना थपिँदैछन्। व्यवस्थित आवास र प्लटिङका लागि पनि टोखा चिनियो। किनकि २० वर्षअघिसम्म फाँटैफाँट रहेको सामाखुशी-धापासी क्षेत्रमा अहिले घरैघर छन्। सडक सानो भए पनि कोलोनी कल्चर ह्वात्तै विस्तार भएको छ।
टोखा प्रवेश गर्ने सामाखुशी चोकमा सम्बोधी कम्प्लेक्स निर्माण भएको छ, जसले पुरानो सहरलाई पुन: परिभाषित गरिरहेको छ। सम्बोधीमा केएफसी र सजन गोठजस्ता ब्रान्डेड रेस्टुरेन्टका आउटलेट संचालनमा छन्। सामाखुशी र टोखा बजारको बीचमा छ भाटभटेनी सुपरमार्केट। यही रुटमा बिगमार्टसँगै अरु धेरै मार्टहरु र कयौं रेष्टुरेन्ट संचालनमा छन्।
ग्रान्डी अस्पतालले यस क्षेत्रलाई सिंगो मुलुकसँग जोडिदिएको छ। बानियाँटारबाट धापासी, टोखा बुढानीलकण्ठसँगै काठमाडौंकै दृश्य देखिने भेगमा रेष्टुरेन्ट खोल्नेक्रम बढेको छ।


अस्पतालपछि ग्रान्डी टावरले बसोबासलाई ‘रिडिफाइन’ गरिरहेको छ। यस्ता धेरै कारण छन् जसले यहाँको जनघनत्व बढेको बताउँछन् धापासीका सुजन कुँवर।
‘पहिला पनि केही थिए। तर हाउजिङ आएपछि मानिसहरु तानिए। सडक पनि राम्रो भयो। बस्ती बढेसँगै चेन आउटलेट आइरहेका छन्। बिदाका दिन रेष्टुरेन्टमा राम्रै भिड हुन्छ,’ उनले भने।

२५ वर्षअघि बनेको सडकको आधारमा नै धापासी क्षेत्रमा अहिले बस्ती बढेको हो। जसको असर त्यहाँभन्दा केही उचाइमा रहेको टोखा र त्यसभन्दा माथिको झोरसम्मै परेको छ। बुद्ध श्रेष्ठ भन्छन्, ‘जनयुद्ध सुरु भएपछि गाउँ छाडेर काठमाडौं आउने बढे। २०५५ सालपछि टोखामा त्यसको पनि असर देखियो। जग्गा बिक्न थाल्यो। धेरै जग्गा भएकाले बेच्न थाले। खेतीयोग्य जमिन कम हुन थाल्यो बस्ती चाहिँ बढ्यो।’
सहर तन्किँदै व्यवस्थित घडेरी बनेसँगै टोखा ‘हाइप्रोइफाल’को गन्तव्य बनिरहेको छ। अहिले टोखाको भूतखेल नजिकै तहरचनामा रहेको हार्मोनी हाउजिङमा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बस्छन्। यस्तै, बहालवाला प्रशासकदेखि पूर्व प्रशासक र उद्योगीसम्म यहाँ भेटिन्छन्।
वडा नम्बर २ मा रहेको पञ्चेटारमा आवास कोलोनी निर्माणाधीन छ। यस्तै, झोरको बौडेश्वर झरना नजिकै प्लटिङको काम भइरहेको देखिन्छ। फूलबारी क्षेत्रमा पनि नयाँ घर थपिने क्रम बढ्दो छ।

काठमाडौंबाट नुवाकोट सडकखण्डमा अहिले बस्ती बाक्लिँदो छ। ‘भूकम्पपछि डाँडामा पुराना घर छोडेर सबैजना तल आए। काठमाडौं बाहिरबाट पनि मानिस आए,’ स्थानीय रामबहादुर कार्कीले भने।
बिदाको दिन बौडेश्वर झरनामा आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ पछिल्लो समय। नुवाकोट जाने बाटोका किनारका रेष्टुरेन्ट र रिसोर्टको संख्याले पनि यसलाई उल्लेख्य गन्तव्यको रुपमा स्थापित गर्छ।

टोखा अर्थात् उखु उब्जने खेत
अहिले घरैघर ठडिएको टोखाको फाँटमा कुनै बेला उखुमात्र फल्थ्यो। त्यही उखुको रस निकाल्ने, सक्खर बनाउने। त्यसबाट चाकु।
उखु विशेषगरि तराईमा लगाइन्छ। तुलनात्मक रुपमा चिसो काठमाडौंमा उखु राम्रोसँग फल्ने भनेकै टोखामा मात्रै थियो। त्यसैले यो ठाउँको नाम नै उखुसँग सम्बन्धित भएर रह्यो। टोखालाई नेपाल भाषामा ‘तुख्य:’ भनिन्छ। ‘तु’ अर्थात ‘उखु’ र ‘ख्य:’ भनेको ‘खुला ठाउँ’ वा ‘खेत’। उखुको खेतैखेत भएकाले तुख्य: भनिए पनि पछि अपभ्रंश हुँदै टोखा बन्यो।
मीनपचासको जाडोमा काठमाडौंको ठिही सहिनसक्नु। ज्यान तातो बनाउन नेवार समुदायका किसानले आविष्कार गरेको खाद्यान्न हो चाकु। चाकुकै लागि उखु नगदे बाली।
चार पुस्तादेखि चाकु बनाउँदै आइरहेका बुद्ध श्रेष्ठलाई झल्झली याद छ – टोखामात्र होइन परतिरका डाँडातिर पनि उखु नै रोपिन्थ्यो। उनका हजुरबुवा सक्खर बनाएर काठमाडौं बेच्न पुग्थे।


‘अहिले प्लटिङ गरिएका डाँडामा सबै उखुबारी थियो,’ श्रेष्ठले भने।
गणेशमान श्रेष्ठका अनुसार विकासको लागि टोखाबासीले लामै प्रतीक्षा गरे। अहिले भौतिक विकास त भयो तर सँगै गुम्यो कृषियोग्य जमिन।
टोखा संस्कृति संरक्षित क्षेत्र विकास समितिको अध्यक्षसमेत रहेका गणेशमानका अनुसार यस पुरानो सहरलाई ‘४०० टोखा ७०० फेरा’ भन्ने चलन छ। प्राचीनकालमा लक्ष्मीपुर र जयपुर नामले समेत चिनिने यस ठाउँको केन्द्रविन्दु टोखा थियो। जहाँको बस्तीमा ४०० घर थिए। पूर्वको गोकर्णेश्वर र पश्चिमको पाँचमानेसम्मलाई टोखाका रुपमा चिनिन्थ्यो। टोखाको मुख्य बस्तीको बाहिर ७०० घर रहेको किम्बदन्ती छ।
‘पहिला गोंगबु, फुटुङ, बुढानीलकण्ठसम्म टोखाका मानिसको जग्गा थियो। रोपनीका रोपनी जग्गा हुन्थ्यो। अधिकांशमा उखु खेती गरेको पाइन्छ,’ उनले भने।

चाकुको ब्रान्डिङ
य:मरि पुन्ही र माघे संक्रान्ति आउनै लाग्दा टोखाका चाकु उद्योगमा भ्याइनभ्याई छ अहिले। वडा २ र ३ मा रहेको करिब एक दर्जन उद्योगमा चिसो भगाउने चाकु तयार हुँदैछन्। य:मरी पुन्ही तथा माघे संक्रान्तिमा चाकु सबैभन्दा धेरै बिक्री हुन्छ।
टोखामा उत्पादित चाकु विदेशमा समेत निर्यात हुन्छ। त्यसैले २०७९ सालमा टोखा नगरपालिकाले स्थानीय रुपमा उत्पादन हुने चाकुको ब्राण्डिङ गर्ने घोषणा गर्यो। नीति तथा कार्यक्रममा नै मेयर अधिकारीले टोखाको चाकुलाई ब्राण्डिङ गरिने घोषणा गरेका थिए।
नगरपालिकाले ब्राण्डिङ गर्ने घोषणा गरे पनि गुणस्तर कायम राखेर लेबलिङमा जान भने समस्या छ। जसकारण गुणस्तर विभागले ब्राण्डिङका लागि अनुमति नदिएको चाकु उत्पादक बताउँछन्। लेबलिङमा समस्या रहँदा सोझो असर निर्यातमा परिरहेको छ।


‘ब्रान्डिङको कुरा भइरहेको छ तर गुणस्तर विभागबाट स्वीकृति आएको छैन,’ टोखा परम्परागत चाकु संरक्षण समाजका उपाध्यक्ष बुद्ध श्रेष्ठले भने, ‘चाकुमा गुणस्तर कसरी ल्याउने भन्नेबारे हामीले धेरै अनुसन्धान गरेका छौं। सक्खर नै पहिला राम्रो हुनुपर्यो। सक्खर गुणस्तर भएमात्र चाकुको गुणस्तर राम्रो हुन्छ।’
यता नगरपालिका प्रमुख अधिकारी चाकुको ब्राण्डिङ गर्ने घोषणा चाँडै पूरा हुने बताउँछन्।
‘चाकु व्यवसायीलाई चाकु बनाउन चाहिने कच्चा पदार्थ पाइने ठाउँको अवलोकन गराएका छौं। टोखा नगरपालिकाले अनुदान पनि दिइरहेको छ। चाकु स्तम्भ बनाउँदैछौं। चाकुलाई ब्राण्डिङ गर्न आवश्यक सम्पूर्ण सहयोग गर्न हामी तयार छौं। परिणाम निस्किन केही समय लाग्छ तर ब्राण्डिङ अवश्य हुन्छ,’ उनले भने।
बुद्ध श्रेष्ठ भने टोखामै उखु खेती गरेर सक्खर बनाइ चाकु उत्पादन गर्न सक्नेबारे पनि आफूहरुले सोचिरहेको बताउँछन्। तर, शहरीकरणसँगै बढेको बस्तीले उखु खेती गर्ने ठाउँ कसरी पुर्याउन सक्छ त?

‘अहिले आनाको १ करोड पर्ने जग्गामा उखु रोप्न सकिँदैन। उखु कहाँ रोप्ने र कसरी टोखाकै परम्परागत शैलीमा चाकुलाई विश्वबजारमा लग्न सकिन्छ भनेर हेरिरहेका छौं,’ उनले भने।
यस्तै, चाकु पर्यटनसँगै टोखाको सांस्कृतिक धरोहरहरुको प्रचारप्रसार गरेर यहाँ पर्यटक भित्र्याउन सकिने उनी बताउँछन्।
लिच्छविकालीन र मल्लकालीन सभ्यतादेखि आधुनिकताका कोलोनीहरुको सहरका रुपमा विस्तार भएको टोखाले के चाकु संस्कृतिलाई व्यावसायिक रुपमा अगाडि बढाउन सक्ला? भरिएका घर र बाक्लिँदो बस्तीले भने टोखाको सपनामाथि बारम्बार प्रश्न गरिरहेको छ।