काठमाडौं । दुई दिन लगातार लयमा फर्कन नेपाल स्टकले गरेको प्रयास बुधवार भने सफल भएन । नेपाल स्टक एक्सचेञ्जको नेप्से सूचक बुधवार ५.४४ अंकले तल झरेपछि सूचक भने ५१८ अंक तल बन्द भयो । दुई दिनसम्म लगातार सुधार देखिएको बैकिङ्ग क्षेत्रले बुधवार राम्रो प्रतिक्रिया दिएन, सूचक ६.९२ अंकले तल झर्यो । ट्रेडिङ्ग समूह र फाइनान्स समूह बाहेकका सूचकले पनि बुधवार रातो बत्ती बाले । होटल समूह ३.३७ अंक, जलविद्युत समूह ९.०३ अंकले तल झरे । नेपाल टेलिकमको कारोवार हुने अन्य समूहको सुचक ११.७५ अंकले तल भए बन्द भयो ।
धेरै कम्पनीको सूचकले रातो बत्ती देखाए पनि विशाल बजारको सेयर भने ३५ रुपैयाँ बढेर १७९३ मा कारोवार भयो । बैंक अफ काठमाण्डूको सेयर ११ रुपैयाँ घटेर ६७२ मा, चिलिमेको सेयर १७ रुपैयाँ घटेर १०९५ मा कारोवार भयो । नागरिक लगानी कोषको सेयर १६ रुपैयाँ माथि चढेर १४४९ मा कारोवार भयो ।
एभरेष्ट बैंक १५ रुपैयाँ घटेर १३७३ मा, हिमालयन बैंक २० रुपैयाँ घटेर ७५५ मा, नविल बैंक १७ रुपैयाँ घटेर १५८३ मा कारोवार भयो । नबिल बैंककै प्रवद्र्धक सेयर भने २० रुपैयाँ बढेर १०३५ मा कारोवार भयो, नेपाल बैंकको सेयर समेत बुधवार २० रुपैयाँ बढेर ९७० मा कारोवार भयो ।
नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर ३५ रुपैयाँ घटेर ७७० मा, नेपाल लाइफ इन्सुरेन्सको ३१ रुपैयाँ घटेर १५५० मा कारोवार भए पनि नेशनल लाइफ इन्सुरेन्सको सेयर भने २७ रुपैयाँ बढेर ५६५ मा कारोवार भयो । स्ट्याण्डर्ड चार्टड बैंकको भने बुधवार १३ रुपैयाँ घटेर १९५५ मा कारोवार भयो ।
