काठमाडौं । साउनमा घटेर ४७ हजार पुगेको सुनको भाउ फेरि तीव्र गतिमा उकालो लाग्न थालेको छ । शुक्रबार एकैदिन सुनको भाउ १४ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलाको ५१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार ५० हजार दुईसय रुपैयाँमा किनबेच भएको सुन शुक्रबाबार एकै दिन ठुलो रकमले बढेको हो ।
भदौ १ गते ४९ हजार सातसय रुपैयाँ रहेको सुनको भाउ ४ गते आइपुग्दा १९ सय रुपैयाँले बढिसकेको छ । हप्ताको पहिलो दिन आइतबार यता मात्रै सुनको भाउ ४९ हजार तीनसय रुपैयाँ थियो ।
महासंघका अनुसार विहीबार चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलाको १० रुपैयाँले बढेर सातसय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।