
काठमाडौ। मर्स्याङदी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गतको २२० केभी क्षमताका दुईवटा सबस्टेसनहरुको निर्माण अन्तिम चरणमा पुगेको छ ।
आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण पुरा हुन लागेको हो। भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र तयार हुनेगरी काम भइरहेको छ। आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसनहरु निर्माणाधीन छन्।
खुदी सबस्टेसन आगामी ६ महिनाभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ। भौगोलिक रुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरणहरु लैजान पहुँच सडकको समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने छ। पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ।

नयाँ भरतपुर सबस्टेसनमा सञ्चालन पूर्व गर्नुपर्ने परीक्षणका कामहरु भइरहेका छन्। उदीपुरमा सिभिल संरचनाको निर्माण सम्पन्न भएको छ। सबस्टेसनमा रहने उपकरणहरु निर्माण स्थलमा ढुवानी भइसकेका छन्। उपकरणहरु जडान जारी छ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन गरेर निर्माण प्रगति, ब्योहोरिरहेको समस्या, काम सम्पन्न हुने तालिकालगायतका विषयमा आयोजना विस्तृत छलफल गरेका छन्। सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई उनले आग्रह गरेका छन्।
नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमश २२०/१३२ केभी, ३२० एमभीए र २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए क्षमताका पावर टान्सफर्मरहरु रहने छन्।
खुदी र धारापानी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए र २२०/१३२ केभी, १०० एमभीए तथा १३२/३३ केभी, ३० एमभीए क्षमताका पावर ट्रान्सफर्मरहरु रहने छन्। खुदी सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएको छ। ट्रान्सफर्मर लगायतका उपकरणहरु निर्माणस्थलमा ढुवानी सुरु भएको छ।
मर्स्याङदी र त्यसका सहायक नदीहरुबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मर्स्याङदी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो। प्रसारणलाइनबाट करिब एक हजार ६ सय मेगावाट विद्युत प्रवाह गर्न सकिने छ। आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ।
आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ। दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन्। तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ।
युरोपेली लगानी बैंक (इआइबी)को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको लागत करिब १६ अर्ब रुपैयाँ छ।