काठमाडौं । मोटरसाइकलको बढी 'स्पिड' कतिसम्म होला? तपाईँले कल्पना पनि नगरेको प्रतिघण्टा ३५० किलोमिटरको गतिमा कुद्न सक्ने मोटरसाइकल अहिले बजारमा आएको छ।
त्यसो त अहिलेसम्ममा ६ सय किलोमिटर प्रतिघण्टाको गतिको कीर्तिमान पनि नभएको होइन तर अमेरिकाको लाइटनिङ मोटरसाइकलले बनाएको यो मोटरसाइकलको विशेषता फरक छ। कीर्तिमान कायम गर्ने मोटरसाइकल सर्वसाधारणले किन्न खोजे पाउँदैनन्।
अझ अनौठो, यो इलेक्ट्रिक मोटरसाइकल हो। तर हेर्दा भने यो पेट्रोलबाट चल्ने बाइक जस्तै देखिन्छ।
ध्यान दिएर हेरेपछि मात्रै थाहा हुन्छ, चालक बस्ने अगाडिको ठाउँभित्र ब्याट्री र इलेक्ट्रिक मोटर राखिएको छ। अनि यसमा अरु बाइकमा जस्तो साइलेन्सर पनि छैन।
कम्पनीले सबै प्राविधिक परीक्षण सकाएर सर्वसाधारणलाई यो बेच्न पनि थालिसकेको छ। अमेरिकामा यसको मोल ३८ हजार डलर तोकिएको छ।