
काठमाडौं। एयर इण्डियाको जहाज संख्या विस्तारका लागि टाटा समुहले ७० अर्ब अमेरिकी डलर खर्च गर्ने योजना बनाएको छ। कम्पनीले आफ्नो व्यावसायिक योजना अनुसार ठूला सिरिजका जहाज विस्तार गर्दै लामो र छोटो दुरीमा उडान गर्ने जनाएको छ।
‘अन्तर्राष्ट्रिय उड्डयन उद्योग इतिहासमै हामी नयाँ ढंगले आउन लागेका छौं। विश्वकै उत्कृष्ट वायुसेवा कम्पनीमा सुचीकृत हुने लक्ष्य लिएर अघि बढेका छौँ।’ टाटा समुहका प्रवन्ध निर्देशक क्याम्पबेल विलसनलने भनेका छन्,’ गएको १२ महिना हेर्दा हामी सुधारतर्फ लागिसकेका छौँ। अझै धेरै सुधार गर्न बाँकी नै रहेको छ।’
हाल कम्पनीले एयरबस र बोइङ लगायत जहाज निर्माता कम्पनीको जहाज खरिदका लागि गृहकार्य सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार यस अन्तर्गत एयरबसको ए ३२०-नियोस, ए ३२१, ए ३५० र बोइङको ७३७ म्याक्स, ७८७, ७७७एक्स, ७७७ फ्रेटर लगायत विभीन्न सिरीजको जहाज खरिदलाई मुख्य प्राथमिकतामा राखेको छ।
आफ्नो बजार बिस्तार गर्ने उद्धेश्यले एयर इण्डियाले जहाज संख्या विस्तार गर्न लागेको हो। कम्पनीले भिस्तारा एयर र एयर इण्डिया एक्सप्रेससँगको साझेदारीमार्फत आउँदो पाँच वर्षमा आफ्नो आन्तरिक बजार हिस्सा ३० प्रतिशत कायम गर्ने लक्ष्य राखेको जनाएको छ।
कम्पनीले आफूसँग भएका वाइडबडी जहाजको मर्मत संभारसँगै आन्तरिक सेवाका लागि ४० करोड अमेरिकी डलर खर्च गरिसकेक जनाएको छ।
भारतमा यतिखेर अत्यधिक जहाज क्षमता भएको इण्डिगोले एयरबससँग ४ सय थान जहाज विस्तार गर्ने योजना बनाएको छ। हाल इण्डिगोले तीन सय जहाजमार्फत आन्तरिक र अन्तर्राष्ट्रिय उडान संचालन गर्दै आएको छ। यसैगरी हालै संचालनमा आएको अकासा एयरलाइन्सले ७२ वटा बोइङ कम्पनीको जहाज अर्डर गरिसकेको छ।