
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले ठुला उद्योगीको मात्रै कुरा नगर्ने अध्यक्ष शेखर गोल्छाले बताएका छन्। महासंघले आयोजना गरेको साना तथा घरेलु उद्योग सम्मेलनमा बोल्दै गोल्छाले दुवै उद्योगको महत्त्व रहेको बताएका हुन्।
‘महासंघलाई एउटा आरोप लाग्ने गरेको छ। साना उद्योगीको समस्या बोल्दैन। तर यसमा सत्यता छैन, हामीले साना तथा मझौला उद्योगको समस्या समाधानको पहल गरिरहेका छौं। आकारमा सानो भएपनि साना तथा मझौला उद्योगको भूमिका महत्त्वपूर्ण छ,’ गोल्छाले भने, ‘इन्धन र कच्चा पदार्थको भाउ बढेको छ। यस्ले उद्योगीको लागत बढाएको छ। यसको असरले राजस्व पनि कम उठेको छ। समग्रमा कुल उद्योगको ६० प्रतिशत क्षमता मात्रै उद्योग संचालन भइरहेका छन्।’
उनले नयाँ अर्थमन्त्री आउने बित्तिकै बजारमा उत्साह देखिएको बताए।
‘नयाँ अर्थमन्त्रीको आगमन हुने बित्तिकै बजारमा नयाँ उत्साह थपिएको छ, मन्त्रीज्यू राजस्व बढाउनका लागि राजस्व प्रशासनको सुधार जरुरी छ,’ गोल्छाले भने।
महासंघका अनुसार साना तथा मझौला उद्योगबाट १७ लाखले रोजगारी पाएका छन्।