‘नेपाल लाइफ टप होइन्, बेष्ट हो, हामी बेष्ट रहन्छौं,नेपाल लाइफका सिईओ झाको अन्तर्वार्ता

बिजमाण्डू
२०७० चैत्र ३० गते ००:०० | Apr 13, 2014
‘नेपाल लाइफ टप होइन्, बेष्ट हो, हामी बेष्ट रहन्छौं,नेपाल लाइफका सिईओ झाको अन्तर्वार्ता
कम खर्च गर्ने आदत विकास भयो भने बचत वढ्छ । बचत बढ्यो भने सेयर होल्डर, अझ त्योभन्दा अगाडि बिमित, कर्मचारी लाभान्वित हुन्छन्, सबैको प्रतिफल बढ्छ । हाम्रो देशको विमा नीति पनि बिमितको प्रतिफलमा बृद्धि कै मुख्य अवधारणामा बनेको छ । अहिले हामीले सावधिक जीवन बीमामा प्रतिहजार ६५ देखि ८२ रुपैयाँ दिँदै आएको छौं । यो प्रतिफल हाम्रो देशको जुन अवस्था छ त्यो आधारमा धेरै राम्रो हो, अझ भारतीय कम्पनीभन्दा पनि उत्तम हाे
‍‍—
दुई लाख रुपैयाँको मोटरसाइकल बीमा गर्दा पाँच/सात हजार रुपैयाँ खर्च हुन्छ । मान्छेको दुई लाख रुपैयाँको बीमा गर्ने हो भने चार सय रुपैयाँ पनि खर्च हुँदैन । मोटरसाइकल किन्ने मान्छेको बीमा छैन, तर सामानको भने बीमा । हो देशमा यस्तो अवस्था छ । यसमा म अरु  कसैलाई दोष दिन्न । दोष मेरो हो, दोष हाम्रो हो । हाम्रो ‘एप्रोच’ अझै पुगेको छैन
‍‍—
अहिले बीमामा ८० अर्ब रुपैयाँको फन्ड। बीमा कार्यक्रम आम जनतामा लैजान सकियो भने आठ सय अर्ब पुर्याउन के गाह्रो छ ? अनि पूर्वाधार क्षेत्रमा लगानी गर्नं पनि पैसा यहिँ पर्याप्त उपलब्ध हुन्छ । 
‍‍—

Tata
GBIME
Nepal Life

नेपाल लाइफ इन्सुरेन्स ‘विजनेश भोल्युम’, लगानीकर्तालाई दिने प्रतिफल, पुँजी र सेयर मूल्यका आधारमा देशको सबैभन्दा ठूलो जीवन बीमा कम्पनी बनेको छ । १२ वर्ष अघि सञ्चालनमा आएको नेपाल लाइफले दशकौं पुराना कम्पनीको व्यापार मात्रै खासेको छैन्, ती कम्पनीलाई बरियता सूचीमा पछि धकेलिदिएको पनि छ । जीवन बीमा देशको सबैभन्दा ठूलो कम्पनी नेपाल लाइफलाई विवेक झाले नेतृत्व प्रदान गरिरहेका छन् । तीन वर्ष अघि नेपाल लाइफमा छिरेका प्रमुख कार्यकारी अधिृकत विवेक झालाई बिजमाण्डू सम्पादक सरोज काफ्ले र प्रभात भट्टराईले सोधे, नेपालको बीमा व्यवसायको विकास ? यही गाडाको रफ्तारमा होला वा बुलटे ट्रेक समात्ला ? 

 
नेपाल लाईफका लगानीकर्तालाई गतबर्ष एक सय २६ प्रतिशत भन्दा बढि लाभांश दिनुभयो, अहिले साढे ९८ प्रतिशत घोषणा भइ सकेको छ, बीमा क्षेत्रमा धेरै मुनाफा देखियो ?
हो गत बर्ष र यसपालीको लाभांश घोषणाको दृष्टिले हेर्दा पक्का पनि राम्रो देखिएको अवस्था छ । तर, बीमा भनेको दीर्घकालिन अवधारणा हो । त्योभन्दा अघिका १० बर्ष लगानीकर्तालाई केहि प्रतिफल थिएन भन्ने विषय पनि आउँछ । समग्रमा विश्वभरी नै हेर्ने हो भने वित्तीय क्षेत्रको नेतृत्व बीमाले गर्छ । किनभने यो ठूलो पुँजी संकलक हो । जस्तो अहिले हामीले यो कम्पनीमा ९८.५ प्रतिशत लाभांस घोषणा गर्यौं, बीमा गर्ने मान्छेको संख्यालाई हेर्ने हो भने देशभर छ प्रतिशत जनसंख्यालाई मात्र यो सेवा पुगेको छ । त्यसैले अथाह सम्भावना रहँदा रहँदै पनि सुरुवाती चरणमै बजार र मुनाफाको यो स्थिति छ । बीमामा दुई तीन विषयमा फोकस हुनु पर्छजस्तो लाग्छ । प्रतिश्पर्धी क्षमता सबैभन्दा महत्वपूर्ण हो । जस्तो कि अहिलेको जमानामा लागत कटौतीका । खर्च व्यापक वढाएपछि घटाउन सकिन्न । बढेको खर्च कटौती गर्ने वानी कसैमा हुँदैन । तर सुरु देखि कम खर्च गर्ने आदत विकास भयो भने बचत वढ्छ । बचत बढ्यो भने सेयर होल्डर, अझ योभन्दा अगाडि बिमित, कर्मचारी हुन्छन्, सबैको प्रतिफल बढ्छ । सबैभन्दा पहिला त बिमितकै प्रतिफल वढ्छ । हाम्रो देशको विमा नीति पनि बिमितको प्रतिफलमा बृद्धि मुख्य अवधारणामा बनेको छ । अहिले हामीले सावधिक जीवन बीमामा प्रतिहजार ६५ देखि ८२ रुपैयाँ दिँदै आएको छौं । यो प्रतिफल हाम्रो देशको जुन अवस्था छ त्यो आधारमा धेरै राम्रो हो । यसले के देखाउँछ भने हामी सहि बाटोमा छौं र आगामी दिनमा अझ राम्रो भएर जाने छौं ।

मुनाफाकै सन्दर्भमा दुई बर्षयता गज्जब लाभांस घोषणा गर्नु भएको छ । यो लाभांसले कम्पनीको पुँजीको दायरा पनि वढाइ दियो । अहिलेकै रकम अर्को बर्ष लाभांस छुट्याउने हो भने पुँजीका आधारमा त्यो कम देखिन जान्छ । जुन उत्साह आजका मितिमा लगानीकर्तामा छ त्यो आगामी दिनमा कायम गर्न कठिन होला नी ?
हामी हाम्रो दिर्घकालीन योजनअनुसार हिंडेका छौं । जस्तो गत वर्ष लाभांश वितरण पछि पनि हामीले छ करोड रुपैयाँ बाँकी राखेका थियौं । यो बर्ष हामीले ७७ करोड नाफा गर्यौं र त्यसबाट पनि रिटर्न अर्निङ गरेका छौं । लाभांश वितरण पछि रिटर्न अर्निङ नै हामीले २० करोड रुपैयाँ छुट्याएर राखि सकेका छौं । त्यो भनेको ‘सष्टेनेवल डिभिडेन्ट’का लागि हौ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा हामीले साढे १३ करोड मुनाफा त सार्वजनिक नै गरि सकेका छौं । त्यस हिसावले हाम्रो रिटर्न अर्निङ समेत जोड्दा ४० करोड हाराहारी लाभांश वितरणयोग्य रकम आउला भन्ने हाम्रो अनुमान छ । छ प्रतिशत जनसंख्याको बीमा छ । यो कम्पनी १०० प्रतिशत बृद्धिमा हिँडिरहेको छ । मेहेनत गरेमा आगामी दिन त एकदमै क्रिम छ । यसका लागि वेलप्लानिङ जरुरी छ । अहिले कम्पनीको सेयर मूल्य करिव पाँच हजारको हाराहारीमा छ । मलाई लाग्दैन हल्लाका भरमा मूल्य वढ्छ । लगानीकर्ताले वुझेर नै पैसा हाल्ने गरेका छन् । अहिले पाँच हजारभन्दा वढी मूल्य हुँदा पनि सेयर खरिद गर्ने ग्राहक छन् । किनभने भोली राम्रो हुन्छ भनेर । आगामी दिन हाम्रा लागि अझ राम्रो हुने छ । 
 
नेपाल लाइफको सेयर मुल्य एक बर्षमा सय प्रतिशतले बढेको छ । अहिले त सय प्रतिशत बृद्धिमा किन्ने पनि फाइदामै छन् । भोली पनि लगानीकर्ता निरास हुने छैनन् त्यसो भए ?
हरेक कम्पनीको कोसिश के हुन्छ भने लगानीकर्तालाई खुसी पार्ने । हाम्रो पनि त्यो कोसिश रहन्छ । सेयरधनीलाई अगामी दिनमा अझ राम्रो प्रतिफल दिनु पर्छ भनेर हामी प्रतिवद्ध छौं । त्यही अनुसार काम भैरहेको छ । तर हाम्रो प्रमुख उद्देश्य बिमितको हित हो । किनभने त्यहीं सबै जोडिएको छ । पोलिसी होल्डरको हितलाई विशेष ध्यान दिँदै आगामी दिनमा सय प्रतिशतको बृद्धिलाई अझ वढाउँदै लैजान्छौं । त्यसका लागि नयाँ प्रोडक्टहरु ल्याउँछौं । 
 
दुई तीन बर्ष अघिसम्म बीमा समितिले तपाईहरुलाई केही खुकुलो छाडिदिएको थियो । नियमनका प्रावधान खुकुलो हुँदा सञ्चालक समिति, कर्मचारी तथा एजेन्टमा वढी खर्च हुन्थ्यो । बीमित र सेयर होल्डर कम प्राथमिकतामा थिए ? 
तपाईको कुरा पूर्ण रुपले सत्य म भन्दिन । तर, दुई बर्षअघि खर्चको जुन सिलिङ आयो त्यो व्यवसाय प्रवद्र्धनको पाटोमा बढि केन्द्रित भएर आएको हो । त्यसमा हामीले विज्ञापन गरि रहेको खर्चबारे टिप्पणी थियो, एजेन्ट माथि हुने खर्च थियो । अरु सामान्यजस्तै थियो । अहिलेको जुन अवस्था छ यो वास्तवमा हामी सबैले मिलेर बीमा क्षेत्र वढाउने बेला हो । सानो बच्चाले जन्म लिँदा उसको बृद्धिका लागि विभिन्न किसिमका पोषण आहारहरु खुवाउनु हुन्छ । बीमा अहिले त्यस्तै अवस्थामा छ । बीमाको पोषण राम्रो भएन भने कुपोषण पनि हुन सक्छ । हामी सबै यसमा जिम्मेवार तरिकाले वढाउनतर्फ लाग्यौं किनभने जिडिपीमा यो क्षेत्रले ठूलो योगदान गर्न सक्छ । आजको दिनमा यो क्षेत्रको जिडिपीमा योगदान डेढ प्रतिशत हाराहारीमा छ । विकसित देशमा १२ प्रतिशतसम्म छ । छिमेकी भारतमै पाँच प्रतिशतभन्दा माथिको योगदान छ । हाम्रो उद्देश्य के हो ? पक्कै पनि हाम्रो उद्देश्य पनि त्यही हो । त्यो पाउनका लागि त्यस अनुकुलका नीति नियम पनि वन्नु पर्छ । वदमासलाई कारवाही गर्नु पर्छ, त्यसमा कुनै दुई मत छैन । तर, समग्रमा यो क्षेत्रको विकामा हुनुपर्छ । अहिलेको जुन नीतिगत कुरा आएका छन् त्यसले बृद्धिलाई बढावा नै दिएको छ । यो बर्ष बीमा क्षेत्रकै बृद्धि दर ६० प्रतिशत रह्यो । हाम्रो कम्पनीले त शत प्रतिशतले बृद्धि हासिल गरिरहेको छ । पुरै बीमा क्षेत्रको पनि ६० प्रतिशत छ । यो बृद्धि पक्का पनि ठूलो बृद्धि हो । यसमा बीमा समिति, सरोकारवाल सबैको योगदान छ । 
बीमाको बजार बढेका कारण यो बृद्धि देखियो या तपाईले अनावश्यक खर्च कटाउनु भयो, लुपहोलहरु बन्द गर्नुभयो ? 
बजार बढेर हो । खर्च वास्तविक हुन्जेल त्यो लगानी नै हुन्छ । जब खर्च ‘जेन्युन’ हुँदैन त्यो अनधिकृत खर्च हुन जान्छ । जब मैले एक रुपैयाँ एजेन्टलाई खर्च गर्दा एक सय रुपैयाँ आउँछ भने त्यो खर्च नगरुन्जेलसम्म त त्यो सय रुपैयाँ त आउँदैन । उद्देश्य त सय रुपैयाँ ल्याउने हो । मान्छेलाई बीमा गराएर बीमाको दायरा भित्र समेट्ने हो । अहिले पनि मान्छेले करकापमा बीमा गर्नु पर्ने अवस्था छ । हामीले बीमाको आवश्यकता वुझाउन सकेका छैनौं । बीमा गराउन जाँदा सोधिन्छ, मैले लगानी गरें भने के पाउँछु ? बीमा त लगानी गरेर के पाउँछु भन्ने चिज होइन, सुरक्षित हुन पो गर्ने हो । यहाँ सुरक्षालाई एक नम्बरमा राखौं लगानीलाई दुई नम्बरमा राखौं । सुरक्षालाई एक नम्बरमा राखौं भन्नुको मतलव मेरो आज मृत्यु भयो भने म परिवारमा नहुँदा मेरो परिवारले के गुमायो ? मैले अहिले कमाउने पैसा र मैले बाँचुन्जेललाई कमाउने पैसा । मेरो आफ्नो ‘ह्युमेन लस’ त क्षतिपुर्ती सक्दैन तर वित्तीय नोक्सानीबाट त जोगिन्छ नि । त्यसको भ्यालु बुझेर बीमा गर्नु प¥यो । म अहिले ऋणमा बाँचि रहेको छु भने म मर्दा त परिवार पनि वर्वाद हुने भयो नि । बाँचुन्जेल त केही गर्न सकिन सकिन मरेपछि त झन् टेन्सन दिएर गएँ नि । यो अवस्थामा हामीले बीमा गर्नु पर्ने हो । हामीले यो वुझाउन सकिरहेका छैनौं । 
जस्तो हामी मोटरसाइकलको बीमा गर्न आतुर हुन्छौं । दुई लाख रुपैयाँको मोटरसाइकल बीमा गर्दा पाँच÷सात हजार रुपैयाँ खर्च हुन्छ । मान्छेको दुई लाख रुपैयाँको बीमा गर्ने हो भने चार सय रुपैयाँ पनि खर्च हुँदैन । मोटरसाइकल किन्ने मान्छेको बीमा छैन सामानको भने बीमा छ । हो यस्तो अवस्था छ । यसमा म अरु  कसैलाई दोष दिन्न । दोष हाम्रो हो । दोष मेरो हो । बीमा कम्पनीको हो । हामीले गरेको ‘एप्रोच’ पुगेको छैन । त्यसैले हामीले ‘एप्रोच’मा सुधार ल्याउनु पर्छ । 
 
बजार वढेको भन्नु भयो । ग्रामिण पहुँचबारे प्रश्न गर्दा तपाइँ बिभिन्न दुर्गम क्षेत्रमा खोलिएका शाखालाई आधार देखाउनु हुन्छ तर अझैं गाउँका बासिन्दा बीमाभित्र अटाउन सकेका छैनन् । तपाईले ल्याउने स्किम उनीहरुको आम्दानीभन्दा महँगो हुन्छ ? 
हो अवधारणा गलत छ । म के भन्छु भने बीमा महँगो मूल्यको ल्याएर थोरै बेच्नु भन्दा सस्तो मूल्यको ल्याएर धेरैलाई बेच्नुमा राम्रो हुन्छ । बीमा भनेको आवश्यकताको आधारमा जानु पर्छ । अहिले लघु बीमाको कुरा आइरहेको छ । बीमा समितिले पनि त्यसलाई अगाडि वढाइरहेको छ । त्यो आवश्यक छ । हामी नेपाल लाइफ अहिले ६० जिल्लामा छौं । ७५ जिल्ला जान खोजिरहेका छौं । हामी त्यहाँ पुग्न मात्र चाहँदैनौं त्यहाँ पुगेको अनुभूति पनि दिलाउन चाहन्छौं । हामी त्यो ठाउँमा गयौं, त्यसले त्यहाँ के फरक प¥यो ? हामी नजाँदा के भएको थियो र गएपछि के फरक प¥यो ? जनताले अनुभव गर्न पाउनु पर्छ । 
हाम्रो देशको आवश्यकता के हो ? मर्नका लागि बीमा होइन । लगानी र प्रतिफलका साथै मृत्युलाई टार्न बीमा चाहिन्छ । हाम्रो देशमा खासगरी स्वास्थ्य बीमाको आवश्यकता छ । हाम्रो औषत आयु किन ६०÷६५ बर्ष मात्र छ ? कतिपय मुलुकमा ९५ वर्ष भन्दा बढि छ । जापानको औषत आयुको तुलनामा हाम्रो देश सम्झेर धेरै दुख लाग्यो । त्यहाँ बीमाको पहुँच ९४ प्रतिशत भन्दा बढि जनसंख्यामा छ । त्यसले सुरक्षासँगै स्वास्थ्य सुविधा पनि प्रदान गर्छ । नेपालमा म हेल्थ इन्स्योरेन्समा अहिलेसम्म किन गइन होला भन्दा स्वास्थ्य सुविधा खोइ ? मैले दार्चुलामा गएर स्वास्थ्य बीमा गराएँ भने त्यहाँ बिरामी भएको मान्छेले उपचार गराउन जानु पर्ने ठाउँ त हुनु पर्यो नि ? इन्स्योरेन्स मात्र गरेर त वाँचिने होइन । उपचारमा खर्च नै गर्न पाएन भने उसले त्यसको क्षतिपुर्ति पनि पाउँदैन । पहिलो कुरा उपचार केन्द्रहरु हुनु पर्छ । 
 
त्यसो भए बीमाको दायरा चित्तबुझ्दो गरि नबड्नुमा आम नेपालीको कमजोर आम्दानी र महङ्गो विमाशुल्क बिचको असन्तुलन हो ?
हो यहाँ नै ‘एप्रोच’को कुरा आउँछ । यहाँ बीमा अलिकति महँगो पनि भएको छ । तर, एउटा बाइकको बीमा गर्नु पर्यो भने ६ हजार रुपैयाँ लाग्छ । जीवन बीमा अन्तर्गत इन्भेष्टमेन्ट नगरि प्राटेक्सन मात्र गर्नु पर्यो भने साढे तीन सय रुपैयाँ लाग्छ । तर, नेपालमा बीमालाई राम्ररी कसैले वुझाउन सकेको छैन । बीमा गर्नु भन्दा डबल पैसा आउँछ भनेर ग्राहकले सोध्छ ? बैंकमा राख्ने कि बीमा गर्नेभन्दा पहिलो रोजाइ बैंक बन्ने गर्छ । जबकी बीमा भनेको त सुरक्षा र लगानीका लागि हो । बैंक भनेको त बचत हो । यसरी विमितलाई लगानी र सुरक्षाभन्दा कति कमाउँछु भन्ने कोणबाट मात्र सोच्ने बनाउन क्रसवोर्डर बीमा कम्पनीका एजेन्ट हुन् । वाहिरका एजेन्टले डबल मात्र होइन पाँच गुणासम्म पाइन्छ भनेर बजार विगारिदिएका छन् । यो कुरा नेपालीलाई वुझाउन जरुरी छ । 
जहाँ सम्म कम मुल्यको बीमा पोलिसीको कुरा छ हामी त्यसमा सजग छौं । त्यसैले १० हजार रुपैयाँसम्मको पोलिसि ल्याएका छौं । जीवन लक्ष्मी योजनामा योजनामा अधिकतम एक लाखसम्म बीमा गर्न पाइन्छ । १० हजारको पोलिसी खरिद गर्नेको कालगतिले मृत्यु भएमा २० हजार तथा दुर्घटनामा मृत्यु भएमा ३० हजार रुपैयाँ दावी भुक्तानी गर्ने नीति ल्याएका छौं । त्यसले ग्रामिण भेगका जनतालाई ठुलो राहत दिन्छ भन्ने विश्वास छ । लघुविमा कार्यक्रम तथा सहकारीहरु मार्फत यो कार्यक्रम देशभर आक्रामक रुपले विस्तार गर्ने हाम्रो योजना छ । 
कुनै पनि क्षेत्रमा ‘टप’भन्दा ‘वेस्ट’ हुने हो । हामी आगामी दिनमा ‘मार्केट लिडर’ नै हुन खोज्छौं । तीन बर्षअघि म नेपाल लाइफ आउँदा हाम्रो बजार हिस्सा १९ प्रतिशत थियो । अहिले नयाँ व्यवसायको बजार हिस्सा ३८ प्रतिशत छ । यो हिसावले हाम्रो बजार दोब्बरले वढेको छ । त्यसैले टप हुनु एउटा गाह्रो हो । त्यसलाई ‘रिटेन’ गर्नु अर्को महत्वपूर्ण हो
‍‍—
केही कम्पनी दशकौंदेखि सञ्चालनमा छन्, नेपाल लाइफ आएको १२ बर्ष मात्र भयो तर नम्वर एक हुनुहुन्छ, यो कसरी सम्भव हुन्छ ? 
कुनै पनि क्षेत्रमा ‘टप’भन्दा ‘वेस्ट’ हुने हो । हामी आगामी दिनमा ‘मार्केट लिडर’ नै हुन खोज्छौं । तीन बर्षअघि मैले नेपाल लाइफ ‘जोइन’ गर्दा हाम्रो बजार हिस्सा १९ प्रतिशत हाराहारी थियो । अहिले हाम्रो नयाँ व्यवसायमा बजार हिस्सा ३८ प्रतिशत छ । यो हिसावले हाम्रो बजार हिस्सा दोब्बरले वढेको छ । त्यसैले टप हुनु एउटा गाह्रो हो । त्यसलाई ‘रिटेन’ गर्नु अर्को महत्वपूर्ण र गाह्रो हो । हाम्रो व्यवसायसँगै चुनौती पनि थपिएको छ । मन्दी हुन थाले अस्वस्थ प्रतिस्पर्धा सुरु हुन्छ । जुन देशमा ९४ प्रतिशत बजार बाँकी छ त्यहाँ सम्भावना पनि वढी हुन्छ । भन्नेले कुल बजारको २५ प्रतिशत मात्र बीमा योग्य हुन्छ पनि भन्छन्, तर म यो मान्दिन । किनभने बीमाको स्वरुप फरक हुन सक्छ । अहिलेको अवस्थामा बजार निर्माणको आवश्यकता छ । अहिले म बजार निर्माण गरिरहेको छु । जब मैले बजार बनाउँदै जान्छु त्यस पछि पहिलो र दोस्रो कम्पनीको ‘ग्याप’ बढ्दै जान्छ । 
अर्को एउटा साधारण कुरा भन्छु, जीवन बीमा एउटा रुख जस्तो हुन्छ । जस्तो आज छोरो छ भोली विहे गर्छ । दुई सन्तान हुन्छन् । फेरी उनीहरुको सन्तान हुन्छ । यसरी बजार वढ्दै जान्छ । बीमाको मार्केटिङ तरिका फरक हुन्छ । मेरो उद्देश्य एउटै छ कुनै बिमितले नेपाल लाइफमा बीमा गराएको छ भने उसले कुनै पनि दिनमा गतल गरेछु भन्ने सोच्नु नपरोस् । हाम्रोमा बीमा गर्नेले चार जनाको माझमा भनोस् कि मैले नेपाल लाइफमा बीमा गरेको छु र म त्यसमा गर्व गर्छु । यो अनुभुती हामीले दिन सक्यांै भने हाम्रो बजार त्यसै राम्रो भएर जान्छ । 
 
धेरै ठाउँमा के सुनिन्छ भने ‘बीमा कम्पनीबाट हामीले दावी गरेको भुक्तानी समयमा पाइंदैनै ।’ खासगरी काठमाडौं वाहिर यो समस्या बढि छ । यसले पनि बीमामा आउन मान्छेलाई अफठ्यारो छ ?
यस्तो कुरा म नकार्दिन । निश्चित ठाउँमा समस्या छन् । तर केही ठाउँमा के छ भने ‘मिसकम्युनिकेशन’ छ । बीमा गर्ने मान्छेलाई उसको शिक्षा सोध्दैनौं । जसले गर्दा उसलाई सबै कुरा थाहा हुँदैन । त्यहाँ हामीले कस्तो संयन्त्र बनाउनु पर्छ भने विमितलाई हामीले एक कदम अगाडि वढेर सहयोग गर्न सकौं । कागजात बनाउन पनि समस्या भइरहेको छ । गाविसबाट मृत्युदर्ता प्रमाणपत्र चाहिन्छ । स्थानीय निकायमा मान्छे बस्दैन । त्यहाँ बिचौलिया छिर्न सक्छन् । यसमा हामी प्रोएक्टिभ भएर बीमा कम्पनीकै मान्छेहरुबाट यी सब कागजात जुटाउने कुरामा सहयोग गर्न सक्यौं भने यस्ता समस्या आउँदैनन् । ‘म्यानुपुलेसन’ पनि हटाउनु पर्छ । जस्तोकी केही मान्छे मरेर बीमा गरेको भन्ने सुनिन्छ, त्यस्ता विषयलाई हटाउने वातावरण बनाउनु पर्छ । एउटा खराव कुराले सबैलाई शंका गर्नु पर्ने अवस्था सिर्जना गरिदिन्छ । स्थानीय स्तरमा बसेका अभिकर्ताहरुले यसमा ‘इथिक्स’ पालना पनि गर्नु पर्छ । 
 
तपाइँहरु बीमा गर्नु पर्छ पनि भन्नुहुन्छ । बजार विस्तार हुनुपर्छ पनि भन्नुहुन्छ तर आफ्नो क्षमता विस्तारमा कम्पनी लागेको पाइँदैन, त्यसले भारतीय कम्पनीका लागि नाफा कमाउने थलो समेत नेपाल बनेको छ ?
ठीक कुरा हो । तर, म्यानुपुलेसन गर्ने अभिकर्ता पाँच प्रतिशत पनि छैनन् । यहाँ त मुख्य समस्या भनेको ‘क्रसवोर्डर’ हो । ‘क्रसवोर्डर’ इन्स्योरेन्समा पनि ‘स्याडो’ असर परिरहेको छ । मानौं मेरो देशको एउटा पोलिसी छ तथा विदेशीको अर्को छ र त्यहाँको एजेन्सीले यहाँ धेरै कमाउने अवस्था बन्यो भने उ नेपालमा बजार बढाउन केन्द्रित हुन्छ । यसमा हाम्रो मनोवैज्ञानिक समस्या पनि छ । जस्तो अर्को पक्ष गाडी चढ्ने, राम्रो अंग्रेजी वोल्ने, टाइ देखाएर हिँड्ने गर्छ भने हामी उसँग आकर्षित हुने गर्छौं । त्यसैले जसले बीमाको नाममा भारतीय युनिट प्लान किनेका छन् । उनीहरुले दुःख पनि पाइरहेका छन् । किनभने यो एजम्सन नै गलत थियो । त्यो मिससेलिङ थियो । 
हाम्रो देशमा साइकल चढेर दुख गरेर हिँड्ने अभिकर्ताको मेहेनत हेर्दैनौं । उसले केही पायो कि भने शंकाको नजरले हेर्छों । यसलाई रोक्न क्रसवोडर एक्टिभिटिज पनि रोक्नु पर्ने हुन्छ । नेपाल लाइफले पोलिसी होल्डरका लागि घोषण गरेको वोनस जुन छ त्यो छिमेकी देशको कुनै पनि कम्पनीमा छैन । तर, पनि नेपाली किन भारतीय कम्पनीमा विमा गर्छन् ? पक्कै थाहा नपाएर हो । यसलाई रोक्नका लागि ‘एग्रेसिभ’ रुपमा जानु पर्ने हुन्छ ।
 
यो रोक्नलाई कम्पनी मात्रै होइन नियामक निकायबाटै काम हुन पर्यो ?
होइन यो कम्पनीबाटै पनि हुनु पर्यो । पहिलो दायित्व त कम्पनीकै हो । हामी यस्तो भइरहेको छ भन्ने थाहा पाएर मात्र बस्न मिल्दैन । हामी जनमानसमा जानु पर्यो । नेपाली कम्पनी र छिमेकी मुलुकबाट आएका कम्पनीले दिएको प्रतिफल बुझाउन सक्नु पर्यो र उनीहरुलाई दुख पाउनबाट रोक्नु पर्यो । हामीलाई सहयोग गर्ने भनेको मिडियाले हो । यस विषयमा मिडियाभन्दा राम्रो कुरा मैले देखेको छैन । हाम्रो क्षमता विस्तारमा अर्को पनि काम बाँकी छ । अहिले दिनकै एक हजार भन्दा बढि नेपाली काम गर्न विदेशीने गरेका छन् । अब उनीहरुलाई पनि सेवा दिन नेपाली कम्पनी वाहिर जानु पर्यो । त्यो व्यवस्था हुनु पर्यो । मलेसियामा १० लाख नेपाली छन् । अरु देशमा पनि छन् । वैदेशिक रोजगारीमा जानेलाई बीमा अनिवार्य गरेका छौं । यहाँबाट जानेले त गर्यो । त्यहाँ गएर तीन बर्षमा उसको बीमा सकियो । त्यसपछि त्यहीं बसिरहेका छन् । त्यसलाई कभर गर्ने कि नगर्ने ? मृत्युदर दिनदिनै बढिरहेको छ । उसको परिवारलाई यहाँ विचल्ली बनाएर राख्ने ? यो चुनौती हो । यसमा पनि ध्यान दिनु पर्छ । धेरैभन्दा धेरैलाई बीमा गराउन अरु केही गर्नु पर्दैन हरेक व्यक्तिले बीमालाई प्राथमिकतामा राखे पुग्छ । यसमा सरकारी स्तरबाट पनि सोच्नु पर्छ । बीमा भनेको पुँजी सिर्जना पनि हो । अहिले ८० अर्ब रुपैयाँ पुँजी छ । बीमा कार्यक्रम आम जनतामा लैजान सकियो भने आठ सय अर्ब पुर्याउन के गाह्रो छ ? अनि त पूर्वाधार क्षेत्रमा लगानी गर्नं पनि पैसा यहिँ पर्याप्त उपलब्ध हुन्छ । 
 
यो सम्भावनाका विषयमा नेपाल लाइफको रणनीतिमा पनि परेको छ ?
पक्का पनि । हामी यसरी नै योजना बनाएर बसेका छौं । मैले यो पोजिसनलाई  यथास्थितिमा राख्नु पर्छ भने चुप लागेर बसेर त हुँदैन । मैले दैनिक चुनौती सामना गर्नु पर्ने हुन्छ । डब्लुटिओ सदस्यपछि नयाँ खेलाडी आउन सक्छन् । त्यही भएर मेरा चुनौती बढेर गएका छन् । त्यही भएर म वढीभन्दा वढी घरधुरीमा पुग्न खोजिरहेको छु । खाली विमितको सुरक्षाका लागि मात्र होइन । लगानी र वचतका लागि पनि बीमा अपरिहार्य छ । 
म्यानुपुलेसन गर्ने अभिकर्ता पाँच प्रतिशत पनि छैनन् । यहाँ त मुख्य समस्या ‘क्रसवोर्डर’ हो । ‘क्रसवोर्डर’ इन्स्योरेन्समा पनि ‘स्याडो’ असर छ । मानौं मेरो देशको एउटा पोलिसी छ, विदेशीको अर्को छ । त्यहाँको एजेन्सीले यहाँ धेरै कमाउने अवस्था बन्यो भने उ नेपालमा बजार बढाउन केन्द्रित हुन्छ । यसमा हाम्रो मनोवैज्ञानिक समस्या पनि छ । गाडी चढ्ने, राम्रो अंग्रेजी वोल्ने, टाइ देखाएर हिँड्नेसँग हामी आकर्षित हुने गर्छौं । तिनैले बीमाको नाममा भारतीय युनिट प्लान किनेका छन्, दुःख पनि पाइरहेका छन्

‍‍—
 
तपाईले बिमितको हितको कुरा गरिरहनु भएको छ । अहिले बिमितले प्रति हजार ६५ देखि ८२ रुपैयाँसम्म पाइरहेका छन् । नयाँ एक्चुअरी भ्यालुएसनपछि कतिसम्म अपेक्षा गर्न सकिन्छ ?
अहिलेको लगानीको जुन क्राइटेरिया छ त्यो क्राइटेरिया अनुसार ७० प्रतिशतसम्म बैंकमा लगानी गर्न पाइन्छ । बैंकको ब्याजदर अहिले घटेको छ । त्यसो हुँदा अहिलेको अवस्थामा ‘एग्रेसिभ’ बृद्धि नहुन सक्छ । आउँदा दिनमा हामीले के पनि हेर्दैछौ भने लगानीको नयाँ बाटो खुल्ने अवस्था छ । त्यो भयो भने अझ राम्रो हुन्छ । तर अहिलेकै अवस्थामा पनि हामी सस्टेनेबल बृद्धिमा जानसक्छौं । सुरुमा ५० थियो अहिले बढेर ८२ सम्म पुगेको छ । 
 
विमा कम्पनीसँग ८० अर्बको पुँजी छ तर यो पुँजीलाई परिचालन गर्न तपाईंसँग रणनीति छैन्, तपाईंसँग मात्रै बैंक छ, व्याजबाट आम्दानी ? 
यसका लागि नयाँ दायराहरु खुल्नु पर्छ । अहिलेसम्म नियामक निकायले दिएको सिमा भित्र रहेर हामीले लगानी गर्दै आएका छौं । र, अहिले लगानीको दायरा विस्तारकै लागि विभिन्न देशका अनुभवबारे बीमा समितिले अध्ययन गरिरहेको छ । बैंकको ब्याजदर भनेको त उहाँहरुको तरलताका हिसावले हाम्रो आम्दानीमा फरक पर्ने हो । यसमा सोच्न जरुरी भइसकेको छ । बीमा कम्पनीलाई सबैभन्दा राम्रो लगानीको ठाउँ सरकारी ऋणपत्र हो । यो एकदमै सुरक्षित पनि हुन्छ । एक प्रतिशत ब्याज कम होस् तर सुरक्षित हुन्छ । बैंक वित्तीय संस्थाको लगानी पूर्ण सुरक्षित नहुन पनि सक्छ । त्यसैले सरकारी ऋणपत्रको उपलब्धता महत्वपूर्ण हुन्छ । अहिले कुल लगानीको पाँच प्रतिशत पुँजी बजारमा लगानी गर्न पाइन्छ । हामीले आफ्नो विज्ञता प्रयोग गरेर सेयर बजारबाट पनि राम्रो आम्दानी गरेका छौं । बजारको कुल आम्दानी पाँच प्रतिशतमा झार्दा पनि हाम्रो १० प्रतिशत नै छ । त्यो भनेको सेयर, सिटी सेन्टरमा गरिएको लगानीबाट पनि आम्दानी भयो । अब नयाँ दायराको कुरा गर्दा सहायक कम्पनी खोल्न पाउने कानुनी प्रावधान बनेमा त्यसमा पनि सम्भावना रहन्छ । म्युचुअल फन्ड वा अरु कुनै सहायक कम्पनी खोल्न दिने सम्भावना रहला । वाहिरतिर हाउजिङ कम्पनीको अभ्यास छ । नेपालमा पनि आगामी दिनमा यस्तो वातावरण बन्न सक्ला । होटल, टुरिजम, पूर्वाधारमा लगानी गर्ने वातावरण बन्यो भने आम्दानी अझ वढ्न सक्छ ।  
 
आजको मितिमा पनि बीमा प्राविधिक र नौलो छ । नियामक निकायमा पनि दक्ष जनशक्ति छैनन् । यो हिसावले बीमा क्षेत्रलाई कतिको गतिशिल बनाउन सकिएला ?
गाडी हाँक्नलाई ड्राइभर राम्रो हुनु पर्छ । कम्पनी चलाउन सिइओ चाहिन्छ, कर्मचारी चाहिन्छ । सँगसँगै प्राविधिक पनि चाहिन्छ । अहिले हामीले वाहिरको जनशक्ति प्रयोग गरिरहेका छौं । परनिर्भरता घटाउँदै लैजानु पर्छ । समितिका अध्यक्षले पनि यसलाई सकारात्मक रुपमा लिइरहनु भएको छ । नेपालमै एक्चुअरी तथा बीमाको प्राविधिक ज्ञान भएको जनशक्ति उत्पादन गर्नुपर्छ भन्नेमा समिति पनि छ । नेपालमा एक्चुअरीको माग अत्याधिक छ तर जनशक्ति छैन । यस्ता जनशक्ति तयार पार्न पहल जरुरी छ । अन्य दक्ष जनशक्ति तयार पार्न पनि आवश्यक छ । नेपालमा पनि सबै कम्पनी मिलेर यस्तो जनशक्ति बनाउनुपर्छ । 
 
जसरी बजार बढिरहेको । त्यही अनुसार जोखिम पनि वढिरहेको छ । अहिले कम्पनीको आक्रामक बजार बिस्तार अभियानलाई नियमन गर्न नियामक निकायको क्षमताले धान्छ ?
विस्तारै क्षमतामा बृद्धि हुन्छ । बजारमा मान्छे छैन, त्यसले जो जे भए पनि यही बजारमा भएका राम्रा जनशक्ति खोजि गरेर लिने हो । चुनौती बढेपछि क्षमता पनि वढ्दै जान्छ । अहिले सामान्य क्षमता मात्र बृद्धि  भएको छ । विस्तारै त्यसमा सुधार आउने छ । बजारको बिस्तारसँगै नियामक पनि सुदृढ हुँदै जान्छ ।