प्राइम बैंकको लाभांश दर पोहोरभन्दा घट्यो, १५% बोनस सेयर, विजय लघुवित्तको २०% लाभांश

बिजमाण्डू
२०७७ पुष ६ गते ११:२२ | Dec 21, 2020

Tata
GBIME

काठमाडौं। प्राइम कमर्सियल बैंक र विजय लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्। प्राइमले १५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ। कर सेयरधनी आफैंले तिर्नु पर्ने छ।

विजयले भने २० प्रतिशत लाभांश घोषणा गरेको छ। यसमध्ये १९ प्रतिशत बोनस सेयर हो।

प्राइम बैंकले पोहोरको भन्दा केही कम लाभांश दिएको हो। पोहोर १६ प्रतिशत बोनस सेयर दिएको थियो। पछिल्लो १० वर्षयता प्राइमले निरन्तर लाभांश वितरण गर्दै आएको थियो। 

प्राइमले गत वर्ष एक अर्ब ६१ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा नाफा ३३ करोड ८४ लाख रुपैयाँ छ। प्राइमको चुक्ता पुँजी १३ अर्ब ९८ करोड रुपैयाँ छ। 

प्राइम बैंकमा ५१ प्रतिशत सेयर संस्थागत लगानीकर्ताको छ। सबैभन्दा बढी सेयर हिस्सा सुवास श्रेष्ठको १.१३ प्रतिशत छ। कम्पनीको साधारण सेयर बीमा कम्पनीहरुले धेरै उठाएका छन्। 

विजयले पोहोर पनि २० प्रतिशत नै लाभांश दिएको थियो। पोहोर १५ प्रतिशत बोनस सेयर थियो भने बाँकी नगद लाभांश थियो।

संस्थाले गत वर्ष ५ करोड ८१ लाख रुपैयाँ नाफा गरेको थियो। यसपाली पहिलो त्रैमासमा एक करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ।

कम्पनीको २२ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी छ। संस्थामा गुडविल फाइन्सको २१.४३ प्रतिशत संस्थापक सेयर छ। विजय विकास केन्द्रको २.१४ प्रतिशत सेयर छ। साधारण सेयर एसियन लाइफ, नेपाल लाइफ, गुराँस लाइफ, एनआइबीएल समृद्धि फण्ड-१ र एनआइबीएल प्रगति फण्डले उठाएको छ।