धितोपत्र बोर्डले लागू गर्‍यो आइपीओमा बुक बिल्डिङ, प्राथमिक सेयर मूल्य अब बोलकबोलबाट निर्धारण

बिजमाण्डू
२०७७ साउन २९ गते ११:३० | Aug 13, 2020
धितोपत्र बोर्डले लागू गर्‍यो आइपीओमा बुक बिल्डिङ, प्राथमिक सेयर मूल्य अब बोलकबोलबाट निर्धारण

Tata
GBIME

काठमाडौं। नेपाल धितोपत्र बोर्डले प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) मा बुक बिल्डिङ विधि निर्देशिका लागू गरेको छ । बोर्डको २२ साउनकाे बैठकले बुक बिल्डिङ निर्देशिका २०७७ कार्यान्वयनमा ल्याउने निर्णय गरेकाे हो । यससँगै कम्पनीहरुको आईपीओमा अबदेखि बुक बिल्डिङ विधि लागू गर्न पाउने भएका छन् । तर बोर्डले सबै कम्पनीलाई आईपीओ जारीमा यो विधि अनिवार्य गरेको होइन ।

बोर्डले बुक बिल्डिङ विधि अपनाएर प्राथमिक सेयर निकाष्सन (आईपीओ) गर्ने कम्पनीहरुले लगानीकर्ताहरुलाई खरिद तथा आवेदन दिने र बाँडफाँट गर्ने धितोपत्र संख्या न्यूनतम ५० कित्ता हुनुपर्ने व्यवस्था गरेको छ ।  उक्त विधिबाट आईपीओ जारी नगर्ने कम्पनीहरुलाई भने न्यूनतम ५० कित्ताको सीमा नरहने उक्त निर्देशिकामा रहेको छ । 

बोर्डले ल्याएको बुक बिल्डिङ निर्देशिकामा  न्यूनतम १० योग्य संस्थागत लगानीकर्ताहरुसँग खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, खरिद आशय मूल्य (बिड प्राइस) तथा मूल्यांकनको आधारसहित प्रारम्भिक विवरणपत्रमा सुझाव लिनुपर्ने व्यवस्था गरेको छ ।

उक्त विधिबाट सेयर निष्कासन गर्दा सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छूट दिई सार्वजनिक निष्कासन गर्नुपर्ने व्यवस्था छ । कुनै एक योग्य संस्थागत लगानीकर्ताले निष्कासित धितोपत्रको २० प्रतिशतभन्दा बढीका लागि बोलकबोल प्रस्ताव पेश गर्न नपाउने तथा कबोल गरेको सतप्रतिशत रकम तोकिएको बैंक खातामा जम्मा गर्नुपर्ने वा आवेदकको बैंक खातामा रोक्का राख्ने या गुड फर पेमेन्ट चेक पेश गर्नुपर्नेछ ।

स्टक एक्सचेञ्जले स्वचालित विद्युतीय बोलकबोल (बिडिङ) प्रणाली संचालन गर्नुपर्ने र स्वचालित विद्युतीय बोलकबोल प्रणाली संचालनमा नआउन्जेल संगठित संस्थाले शिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन माग गर्न सक्नेछन् ।

बुक बिल्डिङ विधिबाट आइपीओ निष्कासन गर्ने कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त आशय मूल्यको अध्ययन गरी आधार मूल्य तय गर्नुपर्ने र उक्त आधार मूल्यमा २० प्रतिशत थप गर्दा कायम हुने मूल्य माथिल्लो सीमा र २० प्रतिशत घटाउँदा कायम हुने मूल्य तल्लो सीमा हुने गरी मूल्य सीमा निर्धारण गर्नुपर्नेछ ।

बोर्डमा धितोपत्र दर्ता भई योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गर्न तयार गरेको धितोपत्रको मूल्य सीमासहितको विवरणपत्र स्वीकृति पश्चात योग्य संस्थागत लगानीकर्तालाई बोलकबोलमार्फत धितोपत्र निष्कासन गर्नुपर्नेछ ।

बुक बिल्डिङ विधिका लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले स्वचालित विद्युतीय बोल कबोल प्रणाली संचालन गर्नुपर्नेछ । नेप्सेले स्वचालित विद्युतीय बोलबोल प्रणाली सञ्चालनमा नल्याएसम्म संगठित संस्थाले सिलबन्दी बोलकबोलमार्फत धितोपत्रका लागि आवेदन माग गर्न सक्ने व्यवस्था बोर्डले गरेको छ ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई निष्कासन गरेको धितोपत्र पूर्णरूपमा बिक्री हुँदा कायम हुने कट अफ मूल्य निर्धारण गरी सो वा सोभन्दा माथिल्लो मूल्यमा कबोल गर्ने सबै आवेदकलाई माग बमोजिम धितोपत्र बाँडफाँड गर्नुपर्नेछ ।

कट अफ मूल्यमा आवेदन गर्ने लगानीकर्तालाई माग बमोजिम धितोपत्र बाँडफाँड गर्न नपुगेमा समानुपातिक रूपमा वितरण गर्नुपर्नेछ । यसरी वितरण गर्दा नपरेको रकम सेयर बाँडफाँड भएको तीन कार्यदिनभित्र आर्जित ब्याजसहित फिर्ता गर्नुपर्ने वा खाता फुकुवा गर्नुपर्ने व्यवस्थासमेत रहेको  छ ।

आईपीओमा बुक बिल्डिङ विधि लागू भएसँगै धितोपत्रको मूल्य निर्धारण पारदर्शी तथा प्रतिस्पर्धात्मक रूपमा हुने बोर्डको विश्वास रहेको छ । बोर्डले पुँजीबजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई प्रवेश गराउने लक्ष्य लिइरहँदा उक्त विधि लागू भएपश्चात वास्तविक क्षेत्रका कम्पनीको बजार प्रवेशमा प्रोत्साहन पुग्ने अपेक्षा गरेको छ ।

 

के हो बुक बिल्डिङ

बुक बिल्डिङ भन्नाले कुनै कम्पनीले जारी गर्न खोजेको प्राथमिक सेयरका लागि सम्बन्धित अण्डरराइटर (सामान्यतयाः इन्भेष्टमेन्ट कम्पनी)  ले न्यायोचित मूल्य निर्धारण गर्ने प्रक्रिया हो । जसमा, फन्ड म्यानेजर वा अन्य संस्थागत लगानीकर्ताहरुसँग उसले लिन चाहेको सेयर संख्या र त्यसका लागि तिर्न तत्पर मूल्य सहित बोलपत्र पेश गर्न अन्डरराइटरले आह्वान गर्दछ ।

यसमा प्रस्ताव पेश गर्ने संस्थागत लगानीकर्ताहरुले माग गरेको कुल सेयर स‌ंख्या सूचीकृत गरिन्छ । उक्त धितोपत्र (सेयर) को अन्तिम मूल्य निर्धारणका लागि संस्थागत लगानीकर्ताहरुले तिर्न चाहेको प्रतिएकाइ मूल्यहरुका आधारमा भारित औसत मूल्य (वेटेड एभरेज प्राइस) निकालिन्छ, जसलाई 'कट अफ प्राइस' समेत भनिन्छ । यसैको आधारमा सर्वसाधारणका लागि सेयर बिक्री मूल्य तय गरिन्छ ।  सर्वसाधारणलाई प्राथमिक सेयरको बिक्री खुला गर्नुअघि अपनाइने यो प्राथमिक सेयरको बोलकबोलबाट मूल्य निर्धारण गर्ने विधि पनि हो । 

यो विधि खासगरी रियल सेक्टरका कम्पनीहरुको प्राथमिक निष्कासन (आईपीओ) मा अपनाउने गरिन्छ । तर यो सबै कम्पनीले अपनाउनु अनिवार्य भने छैन ।