कच्चा तेलको भन्सार ४ गुणाले बढ्यो, सूर्यमुखी, भटमास र पाम तेलको भाउ १५% ले बढ्ने

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७५ जेठ १६ गते १५:१० | May 30, 2018

विराटनगर । बजेट भाषणले कच्चा तेलको भन्सार महसुलमा ४ गुणाले वृद्धि गरेपछि उद्यमीहरूले अब उद्योग चलाउन नसक्ने प्रतिक्रिया दिएका छन् ।
कच्चा तेलको भन्सार महसुल २ दशमलव ५ बाट बढाएर १० प्रतिशत बनाइएको छ । तयारी तेलको आयातमा तिर्नुपर्ने भन्सार महसुल भने यथावत् १५ प्रतिशत नै राखिएको छ ।

Tata
GBIME
Nepal Life

तयारी तेल र कच्चा तेलको भन्सार महसुलमा कम्तीमा दुई तहको अन्तर हुनुपर्ने माग गर्दै आएका उद्यमीले अब एक तहको फरकमा मात्र काम गर्नुपर्ने भएको छ ।त्यस्तै तयारी तेलमा लाग्ने मूल्य अभिबृद्धि कर भ्याटमध्ये ४० प्रतिशत हिस्सा उद्योगले फिर्ता पाउँदै आएको सुविधा पनि नयाँ बजेटले खारेज गरेको छ ।

‘यस्तो अवस्थामा अब उद्योग सञ्चालन गर्न सकिन्न’, पशुपति खाद्य तेल उद्योगका सञ्चालक एवम् मोरङ व्यापार सङ्घका पूर्व अध्यक्ष नन्दकिशोर राठीले भने, ‘अब नेपालमा उत्पादित खाद्यतेलको मूल्य १५ प्रतिशतले वृद्धि हुनेछ भने आयातीत तेलको मूल्य स्थिर नै रहने छ।’

सरकारले स्वदेशी उद्योग संरक्षण गर्ने नीति लिएको भनेपनि खाद्यतेल उद्योगका हकमा भने निष्प्रभावी भएको राठीको तर्क छ।
बाबा भेजिटेवल आयल उद्योगका सञ्चालक एवम् मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडाले अब कच्चा पदार्थ ल्याएर तेल उत्पादन गर्नुभन्दा तयारी तेल ल्याएर विक्री गर्नुमा फाइदा रहेको बताए।

‘भन्सार महसुलको यो प्रावधानले भइरहेका उद्योग बन्द हुने खतरा बढेको छ’, वरिष्ठ उपाध्यक्ष मुन्दडाले भने, ‘मोरङ र सुनसरीका ८ रिफाइनरी तेल उद्योगमध्ये ४ वटा पहिले नै बन्द भइसकेका छन् ।’

मोरङसुनसरी औद्योगिक क्षेत्रमा पशुपति खाद्यतेल, बाबा भेजिटेबल, वाग्मती आयल र स्वस्तिक आयल गरी ४ उद्योग सञ्चालनमा रहेको मुन्दडाले जानकारी दिए ।

बन्द भएका ४ उद्योगमा अरुण वनस्पति, संयम भेजिटेबल, श्रीराम रिफाइनरी र नारायणी भेजिटेबल उद्योग हुन् ।यस क्षेत्रका ४ उद्योगले वार्षिक ४० हजार मेट्रिक टन खाद्यतेल उत्पादन गर्दै आएको अनुमान छ ।

वाग्मती आयलका सञ्चालक देवकीनन्दन अग्रवालले बजेटले ४० प्रतिशत भ्याट फिर्तालाई बन्द गरेकोमा आपत्ति नरहेपनि तेलको कच्चा पदार्थमै भन्सार महसुल ४ गुनाले वृद्धि गर्नु सर्वसाधारणलाई समेत अन्याय भएको बताए।

अग्रवालका अनुसार अब तराईका सीमान्त क्षेत्रमा भारतबाट खाद्यतेलको अवैध पैठारी अझ बढ्ने छ । अहिलेसम्म अनधिकृत पैठारीको मार खपिरहेको तेल उद्योगले झन् सङ्कट ब्यहोर्नुपर्ने छ । किनकि भारतमा अत्यावश्यक वस्तु भन्दै खाद्यतेललाई सस्तो बनाउन त्यहाँको सरकारले विभिन्न प्रकारका सहुलियत दिँदै आएको छ ।

यता नेपालमा भने सर्वसाधारणले दैनिक र अत्यावश्यक रूपमा प्रयोग गर्ने खाद्यतेललाई महँगो बनाएको टिप्पणी उद्यमीहरुले गरेका छन्।
सूर्यमुखी, भटमास र पाम गरी तीन प्रकारका खाद्यतेलको कच्चा पदार्थ मलेसिया, ब्राजिल, युक्रेन, अर्जेन्टिना र मेक्सिकोबाट पैठारी गरिन्छ ।
 
उद्योगलाई असर पर्दैन-राजस्व सचिव

राजस्व सचिव शिशिर ढुङ्गानाले कच्चा र तयारी तेलको भन्सार महसुलमा एक तहको फरक पर्दैमा उद्योग नै बन्द गर्नुपर्ने अवस्था नआउने दाबी गरे ।
‘सरकार जहिले पनि स्वदेशी उद्योगलाई संरक्षण गर्न प्रतिबद्ध छ’, राजस्व सचिव ढुङ्गानाले भने, ‘तर कच्चा र  तयारी खाद्यतेलका हकमा भन्सार महसुलमा एक तहको अन्तर पर्दैमा आत्तिनु पर्ने स्थिति छैन । यसबाट उद्योग बन्द गर्नुपर्ने स्थिति आउँदैन ।’