भारतबाट नक्कली स्टिकर ल्याउने व्यक्तिलार्इ सामान्य वयानमा छाडियो, गम्भिर अपराधमा उन्मुक्ति

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ चैत्र २० गते १०:२२ | Apr 3, 2018

विराटनगर ।आन्तरिक राजस्व कार्यालय सिराहाले भारतबाट  अन्तशुल्कको नक्कली स्टिकर ल्याउने व्यक्तिलार्इ सामान्य वयान गरेर धरौटीमा छाडेको छ।

Tata
GBIME

नक्कली स्टिकर जस्तो गम्भिर अपराधमा मुछिएका व्यक्तिलार्इ भरिया मात्रै भएको जनाउँदै धरौटीमा छाडेको हो।प्रहरीले सिराहाका सुमितचन्द्र देवबाट ३० युपीका १ सय ८० एमएल मदिरामा प्रयोग हुने ३ सय ८५ थान नक्कली स्टिकरसहित पक्राउ गरेको थियो।तर देवमाथि अनुसन्धाननै नगरि सामान्य धरौटीमा छाडेपछि प्रहरी समेत आश्चर्यमा परेको छ।‘भारतबाट लामो समयदेखि नक्कली स्टिकरको ओसारपसारमा संलग्न सुमितका माध्यमबाट कार्यालयले धेरै अनुसन्धान गर्न सक्थ्यो’, ती अधिकृतले भने, ‘उनबाट धेरै कुरा खुल्न सक्थ्यो । लहरो तान्दा पहरोे गर्जन सक्थ्यो तर आन्तरिक राजस्वले सामान्य बयान गरेर धरौटीमा छाडिदिएको छ ।’

ती प्रहरी अधिकृतका अनुसार सुमितका माध्यमबाट नक्कली स्टिकरको मूख्य गिरोलार्इ पक्राउ गर्न सकिन्थ्यो भने नेपालमा नक्कली स्टिकर लगाउने उद्योग समेत पत्ता लगाउन सहज हुन्थ्यो।सुमितबाट ३० युपीको १ सय ८० एमएलको ३ सय ८५ थान मदिराको मूल्यलाई बिगो कायम गरी बिगो र त्यति नै मूल्य धरौटी लिएर तारेखमा छाडिएको राजस्व कार्यालयले जनाएको छ ।

कति धरौटी लिइएको हो ? यस बारेमा कार्यालयले बताउन इन्कार गरेको छ ।‘कुनै पनि करदातालाई गरिएको जरिवाना वा उसबाट लिइएको धरौटीको रकम हामीले सार्वजनिक गर्न मिल्दैन’, कार्यालयका अधिकृत खगेन्द्र दाहालले भने, ‘हामीलाई ऐनले नै बन्देज गरेको छ । भन्न सकिँदैन ।’राजस्व कार्यालयका अनुसार देवले ठाँडीको सीमावर्ती भारतीय बजार लौकाहाबाट यो स्टिकर ल्याएका थिए ।देवले लौकाहामा आफूलाई एक भारतीय नागरिकले यो सामान लहानसम्म पर्याइदिन आग्रह गरेको र लहानको अस्पतालअगाडि जिम्मा लिने गरेको वयान दिएका छन्।

उनले आफूलार्इ नक्कली स्टिकर भन्ने थाहा नभएको बताए।सिराहा प्रहरीले देव नक्कली स्टिकरको अवैध पैठारीमा लामो समयदेखि संलग्न भएको र धेरै पटक उनले यस्तो पैठारी गरेको दाबी गरेको छ ।देवले आफ्ना एक साथीको मोटरसाइकल भाडामा लिएर लौकाहादेखि स्टिकर बोकेर ल्याएको राजस्व कार्यालयले जनाएको छ । मोटरसाइकल धनीले त्यसको मूल्यबराबरको रकम धरौटी राखेर छुटाएर लगेका छन् ।

देवसँगसँगै मोटर साइकलमा बस्ने आनन्द गुप्तालाई पनि नक्कली स्टिकरको अभियोग लगाइएको थियो । तर उनी माथिको अभियोग प्रमाणित हुन नसकेको कार्यालयको दाबी छ ।आनन्दले आफूले लिफ्ट मात्र मागेको र सुमितले गर्ने कारोबारका बारेमा थाहा नपाएको बयान दिएका छन् ।

दुर्घटना हुँदा फेला पर्यो नक्कली स्टिकर
नुवाकोटस्थित रसुवा डिस्टिलरीको मदिरा बोकेको गाडी तराई क्षेत्र आउँदै गर्दा एक हप्ताअघि सिरहाकै लहान बजारमा दुर्घटनाग्रस्त भयो । दुर्घटनाको अनुसन्धान गर्दै जाँदा यही गाडीमा २५ लाख मूल्य बराबरको मदिरामा प्रहरीले नक्कली स्टिकर फेला पार्यो।

आन्तरिक राजस्व सिराहाका प्रमुख गोविन्द अधिकारीका अनुसार ७० युपीको मदिरामा लगाउनु पर्ने स्टिकर ५० युपीको मदिरामा लगाएको पाइएको हो । दुर्घटनाग्रस्त ट्रकबाट ५० युपीका १ सय ८० एमएलका १ हजार १ सय कार्टुन मदिरा बरामद गरिएको छ ।बरामद गरिएको बिलमा उक्त मदिरा नुवाकोटको एनके इन्टरनेशनलले मोरङको बेलबारीस्थित एक पसलमा पठाएको देखिएको छ ।

‘यो केसमा मदिरा उत्पादक रसुवा डिस्टिलरी र विक्रेता एनके इन्टरनेशनल दुबैलाई सजाय गरिन्छ’, प्रमुख अधिकारीले भने, ‘किनकि उत्पादक र विक्रेता दुबै कसुरदार ठहर्छन् । डिस्टिलरी र विक्रेता दुबैबाट २५ लाखको बिगो र सोहीबराबरको जरिबानासमेत असुल गर्न हामीले सम्बन्धित कार्यालयमा पत्राचार गरिसकेका छौँ ।’बरामद गरिएको मदिरा भने कानुनी प्रक्रिया पुर्याएर बरामद भएको ६५ दिनपछि आफ्नै कार्यालयले लिलाम गर्ने प्रमुख गोविन्दले जानकारी दिए ।

सोमबार फेला पारियो ६३ कार्टुन
रसुवा डिस्टिलरीको मदिरामा यस्तो खोट देखिएपछि बजार अनुगमन गर्दा लहान बजारबाटै सोमबार ६३ कार्टुन मदिरा बरामद गरिएको प्रमुखले बताए ।

प्रमुख अधिकारीका अनुसार विभिन्न पसलबाट ५० युपीका १ सय ८० एमएलका ६३ कार्टुन मदिरा बरामद गरिएको छ । उक्त मदिरामा पनि ७० युपीको मदिराको स्टिकर टाँसिएको पाइएको छ ।‘मदिरामा कम युपीको भए बढी र बढी युपीमा कम अन्तःशुल्क लाग्छ’, उनको भनाइ थियो, ‘५० भन्दा ७० युपीका मदिरामा कम अन्तःशुल्क लाग्छ ।

जसअनुसार ७० युपीका मदिराको स्टिकर ५० युपीका मदिरामा प्रयोग गरिँदा अन्तःशुल्क छलेको ठहर्छ ।’रसुवा डिस्टिलरीका मदिराको स्टिकरमा खोट भएको जानकारी मुलुकभरिका आन्तरिक राजस्व कार्यालयलाई दिइएको उनले स्पष्ट पारे ।