महसुल परिवर्तनको हल्लासँगै अग्रिम भन्सार बुझाउने चिनी अायातकर्ताकाे तयारी, प्रस्ताव अर्थमा

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ माघ ११ गते १८:३९ | Jan 25, 2018
महसुल परिवर्तनको हल्लासँगै अग्रिम भन्सार बुझाउने चिनी अायातकर्ताकाे तयारी, प्रस्ताव अर्थमा
विराटनगर। सरकारले चिनीको आयातमा भन्सार महसुल बढाउने तयारी सुरु भएपछि चिनीका आयातकर्ताले अग्रिम महसुल बुझाउने तयारी गरिरहेका छन्। विराटनगर भन्सार कार्यालयका प्रमुख मिमांस अधिकारीले केही आयातकर्ताले भन्सार महसुल अग्रिम बुझाउन परामर्श मागेको जानकारी दिए। 
 
महसुल बुझाउन तयारी गरिरहेका आयातकर्ता र कम्पनीको नाम प्रमुख अधिकारीले सार्वजनिक गरेनन्। एलसी, प्रोफर्मा इन्भ्वाइस, कमर्सियल इन्भ्वाइस, उत्पत्तिको प्रमाणपत्रलगायतका कागजात पेश गरेपछि आयात गर्न लागिएको माल बस्तुको भन्सार अग्रिम तिर्न सकिने प्रमुखले बताए।

Tata
GBIME

यसरी अग्रिम भुक्तानी गरेपछि उक्त महसुलसित सम्बन्धित माल बस्तु भन्सार कार्यालयको यार्डमा आइपुग्दा महसुलमा वृद्धि भएको रहेछ भने थप महसुल तिर्नु नपर्ने अधिकारीले जनाए।
 

हाल चिनीको भन्सार महसुल १५ प्रतिशत छ  सरकारले ३० प्रतिशत बनाउने तयारी गरिरहेको छ। चिनीका ठूला उत्पादकको आग्रहमा सरकारले यसको भन्सार महसुल बढाउन लागेको समाचार बिजमाण्डूले सार्वजनिक गरेको थियो । चिनी उत्पादक संघले चिनीको आयातमा भन्सार महसुल ५० प्रतिशत गरिनुपर्ने माग गर्दै आएको छ।
 
संघको आग्रहमा कृषि विकास मन्त्रालयले अर्थ मन्त्रालयमा ५० प्रतिशत गर्न सिफारिससमेत गरेको छ। स्वदेशमा उत्पादित चिनी नेपालको आन्तरिक बजारमा गत असारमै सकिएको थियो। तर नेपालमा भदौ लागेपछि मात्र समुद्रपारका मुलुकबाट चिनीको आयात गरिएको छ। 
 
अन्तर्राष्ट्रिय बजारमा यस वर्ष चिनीको मूल्यमा ह्रास आएका कारण नेपालका व्यवसायीले समुद्रपारबाट आयात गरेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहोराले बताए। यसअघि भारतबाट नै चिनीको आयात गरिन्थ्यो। असार र साउनमा पनि भारतबाटै चिनीको आयात गरिएको थियो।
 
नेपालमा ब्राजिल, पाकिस्तान, बङ्गलादेश र थाइल्यान्डबाट चिनी आइरहेको छ। कृषि विकास मन्त्रालयको पत्रमा अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा भारी गिरावट आएको र यसले गर्दा स्वदेशी चिनी उद्योग प्रतिस्पर्धा गर्न नसकी धराशायी हुने अवस्था रहेको उल्लेख छ। बिस्कुट तथा कन्फेक्सनरी उद्योगी श्याम काबराले कानुनी रूपमा आयात गरिएको चिनीमा चर्को महसुल लगाएर महँगो पारियो भने भारतबाट अवैध पैठारी बढ्ने र राजस्वमा ह्रास आउने दाबी गरे ।
 
नेपालका बिस्कुट र चकलेट उद्योग वैध र अवैध रूपमा गरिने आयातसँग प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा चिनीको पैठारीलाई अझ महँगो बनाइनु सर्वथा अनुचित र अन्याय हो भत्रे उनको तर्क थियो। ‘चिनी उद्योगलेजस्तै हामीले पनि रोजगारीको सिर्जना गरेका छौँ र राजस्वमा उल्लेखनीय योगदान पुर्या एका छौँ,’ उनले भने।
 
उद्यमी काबराले बिस्कुट र कन्फेक्सनरी उद्योगले औद्योगिक कच्चा पदार्थसरह ५ प्रतिशत महसुलमा चिनीको आयात गर्न पाउनुपर्ने आग्रह गर्दै मुख्य कच्चा पदार्थ नै महँगो महसुल तिरेर ल्याउन बाध्य पारिएको गुनासो गरे।
 
विराटनगर नाकाबाट चालु आर्थिक वर्षको ६ महिनामा २ अर्ब रुपैयाँको २१ हजार २ सय ५५ मेट्रिक टन चिनी आयात भएको छ । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ५१ लाख रुपैयाँको ८०९ मेट्रिक टन चिनी पैठारी गरिएको तथ्याङ्क भन्सार कार्यालयसँग छ।