विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ३९ करोड, तोकिएन तलब, बढेनन् करका दर

अनन्तराज न्यौपाने/बिजमाण्डू
२०७४ भदौ २५ गते २१:१५ | Sep 10, 2017
विराटनगर महानगरपालिकाको बजेट ३ अर्ब ३९ करोड, तोकिएन तलब, बढेनन् करका दर
विराटनगर।विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब ३८ करोड ८९ लाख रुपैयाँको बजेट पारित गरेको छ ।

Tata
GBIME


भदौ २३ देखि २५ सम्म भएको महानगरपालिकाको प्रथम महानगरसभामा सर्वसम्मतिले बजेट पारित भएको हो ।महानगरका प्रमुख भीम पराजुलीका अनुसार विनियोजित कुल खर्चमध्ये भौतिक पूर्वाधारको निर्माणका लागि ९२ करोड ५१ लाख, महानगरपालिकाको चालु खर्चका लागि २० करोड ८७ लाख, विषयगत कार्यालयको चालु खर्चका लागि २६ करोड ७१ लाख र सामाजिक विकास एवम् लक्षित कार्यक्रमका लागि ११ करोड ५६ लाख विनियोजन गरिएको छ ।
 
महानगरसभाले कन्सल्ट्यान्सी खर्चका लागि ८ करोड ५० लाख र सार्वजनिक निर्माणका लागि १ अर्ब ५४ करोड छुट्याएको छ । 
 
तलब तोकिएन
पहिलो महानगर सभाले प्रमुख, उपप्रमुख लगायतका कुनै जनप्रतिनिधिको तलब र सेवासुविधा तोकेन । 
 
‘सरकारले स्थानीय तह सञ्चालन कार्यविधि जारी गर्ने तयारी गरिरहेको छ’, प्रमुख पराजुलीले भने, ‘यो कार्यविधि जारी भएपछि मात्र तोकिए बमोजिमका सेवासुविधाको निर्णय गरिनेछ । हामी हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने काम गर्दैनौँ ।’जनप्रतिनिधिले बैठक भत्तावापत एक बैठकको १ हजारमात्र लिइरहेको उनले जानकारी दिए । यसबाहेक पत्रपत्रिका, टेलिफोन लगायतका कुनै सुविधा लिएका छैनन् ।
 
प्रादेशिक राजधानी बनाउने योजना
पराजुलीका अनुसार विराटनगरलाई प्रादेशिक राजधानी बनाउने अवधारणा अनुसार भौतिक पूर्वाधारका निर्माणमा जोड दिइनेछ।

यसका लागि प्रादेशिक कन्फरेन्स हल, खेलकुदका लागि अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला र स्विमिङ पुल र क्षेत्रविशेषलाई पर्यटकीय स्थल बनाउने योजना राखिएका छन् ।प्रादेशिक कन्फरेन्स हलका लागि सरकारले ३५ करोड रुपैयाँ निकासा गरिसकेको छ । यस्तो हल कम्तीमा ३ बिघा जमिनमा निर्माण गरिने छ । निर्माण सुरु गरिएपछि सरकारले १५ करोड थप निकासा दिनेछ।
 

साथै महानगरको वडा नंं. १९ मा रहेको रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउने योजना छ ।वडा नम्बर १८ मा पर्ने विराट राजाको दरबारमा पुरातात्विक र १९ मा खेलकुद क्षेत्रको महत्त्वको पर्यटकीय क्षेत्र बनाउन योजना बनाइएको छ।
 
बढेनन् करका दर  
महानगरसभाले करका दरमा वृद्धि नगरेको उनले जानकारी दिए । ‘करका दरहरू जुन कायम छन् तिनमा घटबढ गरिएनन्’, पराजुलीले भने, ‘करका दर थप्नुभन्दा पनि करको दायरा फराकिलो बनाउने कुरामा सबैको एकमत भयो ।’
 
छोरी पाउनेलाई पुरस्कार
कुनै पनि महानगरवासी दम्पतीको छोरी जन्मिएमा तिनले महानगरपालिकाबाट ३ हजार रुपैयाँको पुरस्कार पाउने छन् ।
 
छोरी बचाउ कार्यक्रमअन्तर्गत महानगरपालिकाले यस्तो निर्णय गरेको उनले बताए।गर्भमै भ्रूणको लिङ्गको पहिचान गरेर गर्भपतन गर्ने कार्यलाई निरूत्साहित गर्न महानगरले यस्तो कार्यक्रम ल्याएको उनले बताए।