काठमाडौं । नेपाल कुवेत उद्योग वाणिज्य संघमा आवद्ध व्यवसायीको एक टोलीले कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालसँग भेटघाट गरेको छ ।
संघका अध्यक्ष सुरेन्द्रवीर मालाकार नेतृत्वमा गएको टोलीले राजदूत हमालसँग भेट गरी बधाइ तथा शुभकामना दिएको हो ।
भेटमा मालाकारले नेपालमा जलश्रोत, पयर्टन, स्वास्थ्य, शिक्षा, खेलकुद, पूर्वाधार निर्माणलगायतका क्षेत्रमा कुवेतबाट धेरै लगानी भित्र्याउन पहल गर्न राजदूत हमाललाई आग्रह गरे । मालाकारले कुवेती लगानी भित्र्याउन भइरहेका पहलबारे पनि हमाललाई जानकारी गराएका थिए ।
जवाफमा राजदूत हमालले नेपालमा कुवेती लगानी भित्र्याउन र कुवेती पर्यटकलाई नेपाल भित्र्याउन आफूले सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । साथै उनले कुवेतमा नेपाली चिया, गलैंचालगायतका सामान निर्यातका लागि पनि आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।
भेटमा संघका वरिष्ठ उपाध्यक्ष पुष्पदास श्रेष्ठ, सचिव कुशकुमार मल्ली, सदस्य रामराजा आचार्यलगायतको सहभागिता थियो ।