
काठमाडौं । सरकारले सबैभन्दा बढी कार्टेलिङ भैरहेको चीनीको मूल्य नै नतोकी सात खाद्यवस्तुको अधिकतम थोक र खुद्रा मूल्य निर्धारण गरेको छ । मुख्य सचिव लीलामणि पौडेलको अध्यक्षतामा सोमबार बसेको आपूर्ति मन्त्रालय, वाणिज्य विभाग, थोक र खुद्रा व्यापारीको संयुक्त बैठकले मूल्य निर्धारण गरेको हो ।
सरकारले व्यपारीसँग मिलेर चामल, दाल, चना, बोडी, आँटा, मैदा, केराउको थोक तथा खुद्रा मूल्य तोकेको छ । यो मूल्य शुक्रबार(आज)बाटै लागू गर्ने सहमति भएको छ । सहमति अनुसार सोना मन्सुली चामल (स्टिम)को खुद्रा मूल्य ४६ रुपैयाँ, सोना मन्सुली चामल (साधारण) ३६ रुपैयाँ, जिरा मसिना चामल (स्टिम) ६० रुपैयाँ, जिरा मसिना चामल साधरण ५५ रुपैयाँ, मास दाल (मझौला)९६ रुपैयाँ, मास दाल (ठूलो) १०५ रुपैयाँ, मुसुरो (मझौला) ९३, मुगी खोस्टा ११७ रुपैयाँ तोकिएको छ । त्यसैगरी चना सानो १०७, सेतो केराउ ६५, बोडी ९६, आँटा ३१, मैदा ३६ रुपैयाँ तोकिएको छ ।
खुद्रा व्यापारी संघका अध्यक्ष पवित्रकुमार बज्राचार्यले तोकिएको मूल्य शुक्रबारदेखि लागू हुने जानकारी दिए । उनले दसैं र तिहारलाई ध्यानमा राखी मैदा र आँटामा हाल तोकिएको थोक तथा खुद्रा मूल्यमा दुई प्रतिशतसम्म कम गरेर बिक्री गर्ने जानकारी दिए । एक वर्षको अन्तरालमा दाल, चना, केराउ, तेल, घिउ, जिरा २५ देखि ४५ प्रतिशतसम्म महँगो भएको छ ।
वाणिज्य मन्त्रालयका निमित्त सचिव दीपक सुवेदीले हरेक पसलले मूल्यसूची राख्नुपर्ने बताए । उनले तोकिएको मूल्यअनुसार कारोबार नभए वाणिज्य विभागले अनुगमन गरेर कारवाही गर्ने चेतावनी दिए । सरकारले सात खाद्य वस्तुको मूल्य तोके पनि चिनीको मूल्य भने तोकेको छैन । अहिले चीनीको मूल्य सरकारी स्वामित्व पनि भएको साल्ट ट्रेडिङ कर्पोरेशनले समेत कार्टेलिङ गरेर विक्री गरिरहेको आरोप लागेको छ । चिनीको मूल्य एक वर्षमा २० रुपैयाँभन्दा बढीले बढेको छ । चिनीको मूल्यलाई स्थिर राख्न सरकारले भन्सार अनुदान समेत दिएको छ ।