नबिलले माथि उठायो नेप्से, चार्टडको पनि मूल्य बढ्यो, ग्लोबलका अझै धेरै नाफामा

बिजमाण्डू
२०६९ भदौ २६ गते ००:०० | Sep 11, 2012
नबिलले माथि उठायो नेप्से, चार्टडको पनि मूल्य बढ्यो, ग्लोबलका अझै धेरै नाफामा

काठमाडौं । २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद लाभांस दिने नबिल बैंकको निर्णयलाई नेपाल स्टक एक्सचेञ्जमा लगानीकर्ताले मंगलवार राम्रो स्वागत गरे । सोमवार प्रतिसेयर २२ रुपैयाँले घटेको नबिल बैंकको सेयर मंगलवार ६४ रुपैयाँले बढेर कारोवार भयो ।
नबिलको मंगलवार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई ६० प्रतिशत लाभांसको प्रस्ताव गरेको थियो । प्रतिशतका आधारमा धेरै मूल्य बढ्ने पाँच कम्पनीमा नबिल बैंक पर्यो । मंगलवार नविल बैंकको प्रतिकित्ता १४९० रुपैयाँमा कारोवार भयो ।
राष्ट्र बैंकको नयाँ व्यवस्थापछि ठूला बाणिज्य बैंकबाट लगानीकर्ताले नगदभन्दा सेयर लाभांस पाउने सम्भावना बढेपछि त्यसको असर पनि मंगलवार स्टकमा देखियो । मंगलवार एभरेष्ट, हिमालयन, चार्टड, बैंक अफ काठमाण्डू, ग्लोबल बैंकको सेयर मूल्य बढ्यो ।
चार्टड बैंकको सेयर मूल्य ६८ रुपैयाँले बढेर कारोवार भयो । सोमवार १७४२ रुपैयाँमा कारोवार भएको चार्टडको सेयर मंगलवार बढेर १८१० रुपैयाँमा कारोवार भयो । प्रतिशतका आधारमा ग्लोबल बैंकको सेयरधनी सबैभन्दा बढी मुनाफामा रहे ।
सोमवार प्रतिकित्ता १९२ रुपैयाँमा कारोवार भएको ग्लोबल आइएमई बैंकको सेयर मंगलवार १९ रुपैयाँ (९.९ प्रतिशत)ले बढेर कारोवार भयो । अधिकांश ठूला कम्पनीको सेयर मूल्य बढेपछि मंगलवार नेपाल स्टकमा हरियो बत्ती बल्यो ।
ठूला बाणिज्य बैंक, नेपाल टेलिकम, इन्सुरेन्स कम्पनीको सेयर मूल्य बढेपछि मंगलवार नेप्से सूचक ४.७३ अंकले बढेर ४१२.३६ अंकमा बन्द भयो । बैंकिङ समूह ५.९२ अंक, विकास बैंक समूह ०.४९ अंक, इन्सुरेन्स समूह ११.०९ अंक र अन्य समूह ५.८७ अंकले बढ्यो ।
सोमवार तीन रुपैयाँले घटेको नेपाल टेलिकमको सेयर मूल्य मंगलवार पाँच रुपैयाँले बढेर ५७५ रुपैयाँमा कारोवार भयो ।

Tata
GBIME
Nepal Life