इन्सुरेन्स कम्पनी मालामाल, ५० प्रतिशत लाभांसको हल्लाले नेपाल लाइफको चाँदी कटाइ

बिजमाण्डू
२०६९ भदौ २४ गते ००:०० | Sep 9, 2012
इन्सुरेन्स कम्पनी मालामाल, ५० प्रतिशत लाभांसको हल्लाले नेपाल लाइफको चाँदी कटाइ

काठमाडौं । नेपाल लाइफ इन्सुरेन्सले ५० प्रतिशत लाभांस दिने ‘बजार हल्ला’ले कम्पनीको सेयर मूल्यमा ठूलो वृद्धि देखिएको छ । विहिवार प्रतिसेयर ८८ रुपैयाँ बढेको नेपाल लाइफ इन्सुरेन्सको सेयर मूल्य आइतवार एक सय रुपैयाँले बढ्यो ।
आइतवार स्टकमा प्रतिशतका आधारमा सबैभन्दा उच्च वृद्धि हुने कम्पनीको सूचीमा नेपाल लाइफ इन्सुरेन्स रह्यो । आइतवारको कारोवारपछि नेपाल लाइफको प्रतिकित्ता सेयर मूल्य ११०२ रुपैयाँ पुगेको छ ।
नेपाल लाइफ इन्सुरेन्सपछि नेशनल लाइफ इन्सुरेन्सको सेयर मूल्यमा पनि ठूलो वृद्धि देखिएको छ । आइतवार नेशनल इन्सुरेन्सको सेयर मूल्यमा ४२ रुपैयाँ वृद्धि भएर ४७३ रुपैयाँमा कारोवार भयो । नेशनल इन्सुरेन्सको विहिवार पनि प्रतिकित्ता १६ रुपैयाँले मूल्य बढेको थियो ।
आइतवार लाइफ इन्सुरेन्स कम्पनीले पनि प्रतिकित्ता सेयर मूल्य एक हजार रुपैयाँ नघाएको छ । आइतवार ५९ रुपैयाँले मूल्य बढेपछि लाइफ इन्सुरेन्सको प्रतिकित्ता १०५८ रुपैयाँमा कारोवार भयो । लाइफ इन्सुरेन्सको विहिवार पनि ३९ रुपैयाँले सेयर मूल्य बढेको थियो ।
आइतवार अधिकांश ठूला बैंकको सेयर मूल्य ओरालो लाग्यो । प्रतिशतका आधारमा लक्ष्मी बैंक सबैभन्दा बढी मूल्य घट्ने बाणिज्य बैंक बन्यो । नेपाल बंगलादेश बैंकका सेयरधनी भने आइतवार नाफामा रहे । बैंक र जलविद्युत समूहको सेयर मूल्य ओरालो लाग्यो ।
उत्पादन समूहमा युनिलिभरको सेयर मूल्य माथि उक्लियो भने नेपाल टेलिकमको सेयर मूल्य ओरालो लाग्यो ।

Tata
GBIME
Nepal Life