नेप्से : लुम्बिनी बैंकको सेयर बढ्यो, एभरेष्ट, चार्टड र एसबिआईलार्इ ठूलै झड्का

बिजमाण्डू
२०६९ भदौ १४ गते ००:०० | Aug 30, 2012
नेप्से : लुम्बिनी बैंकको सेयर बढ्यो, एभरेष्ट, चार्टड र एसबिआईलार्इ ठूलै झड्का


काठमाडौं । गतवर्षभन्दा कम नाफा तर बढी बोनसको प्रस्ताव गर्ने लुम्बिनी बैंकको सेयरमा खास ठूलो परिवर्तन नआए पनि प्रतिसेयर दुई रुपैयाँले बढेको छ । लुम्बिनी बैंकले गत वर्षको नाफाबाट लगानीकर्तालाई १२ प्रतिशत वोनस सेयर दिने प्रस्ताव गरेको थियो । लुम्बिनी बैंकको विहिवार प्रतिसेयर दुई रुपैयाँ बढेर तीन सय २८ रुपैयाँमा कारोवार भयो ।
उता न्युन लाभांसको प्रस्ताव गरेको सिटिजन्स इन्टरनेशनल बैंकका सेयरधनीले पनि विहिवार सेयर बजारमा चिसो प्रतिक्रिया दिएका छन् । विहिवार सिटिजन्स बैंकको प्रतिसेयर दुई रुपैयाँले घटेको छ । सिटिजन्स बैंकको विहिवार पतिसेयर २०१ रुपैयाँमा कारोवार भयो । लुम्विनी बैंकले गत वर्ष १९ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको थियो । अघिल्लो वर्ष बैंकले ३८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकले गत वर्ष नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत वोनस सेयर दिएको थियो ।
सिटिजन्स बैंकले सेयरधनीलाई ८ प्रतिशत नगद लाभांस दिने भएको छ । बैंकलाई लाभांस वितरणका लागि नेपाल राष्ट्र बैंकले प्रारम्भिक स्वीकृतिसमेत दिइसकेको छ । बैंकले गत वर्ष १२।४१ प्रतिशतले नाफा वढाएर २२ करोड २९ लाख रुपैयाँ पुर्याएको छ । बैंकको चुक्ता पुँजी २ अर्ब पुगिसकेको छ । अघिल्लो वर्ष बैंकले गत वर्ष लगानीकर्तालाई ५ प्रतिशत वोनस सेयर र ५।५३ प्रतिशत नगद लाभांस दिएको थियो ।
उता बुधवार अनपेक्षित रुपमा बढेका एभरेष्ट बैंक र स्ट्याण्डर्ड चार्टड बैंकको सेयरमूल्य भने विहिवार घट्यो । स्ट्याण्डर्ड चार्टडको २४ रुपैयाँ र एभरेष्ट बैंकको सेयर १० रुपैयाँले घटेर कारोवार भयो । बुधवार चार्टडको १९ रुपैयाँ र एभरेष्टको ३४ रुपैयाँले बढेर सेयर कारोवार भएको थियो । नेपाल एसबिआईका सेयरधनीले प्रतिसेयर १५ रुपैयाँ गुमाए ।
बिहिवार विशाल बजार कम्पनीको सेयर मूल्यमा ठूलो गिरावट आयो । विहिवार बिशाल बजारको प्रतिसेयर १०५ रुपैयाँ गुमाउँदै १७०५ रुपैयाँमा कारोवार भयो । केही दिनदेखि लगातार कारोवार भैरहेको बिशाल बजारको सेयर एक साता अघिसम्म दुई हजार रुपैयाँ प्रतिकित्ता पुगेको थियो । त्यहीं राष्ट्रिय बीमा संस्थानका सेयरधनीले विहिवार राम्रै कमाए । प्रतिसेयर ५२ रुपैयाँले बढेपछि बीमा संस्थानको प्रतिसेयर मूल्य १६ सय २० रुपैयाँ पुग्यो । अधिकांश ठूला बैंक, बिशाल बजार, नेपाल टेलिकम, विकास बैंक र फाइनान्सको सेयर मूल्य ओरालो लागेपछि बिहिवार नेप्से पुरै रातो भयो । विहिवार इन्सुरेन्स होटल समूह र जलविद्युत समूहमा बुटलव पावर र अरुणभ्यालीको सेयर मूल्य बढेपछि तीनवटा समूहको सेयर सूचकांकमा सुधार आयो । विहिवार नेप्से सूचक १.४४ अंकले तल झर्दै ४०५.६३ अंकमा बन्द भयो ।

Tata
GBIME