
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शुक्रबार भेट गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत ‘२२ अप्रिल’ मा आतङ्कवादी आक्रमणका कारण भारत-पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए।
उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारबाही मात्र गरेको तर ‘जेट हमला’ गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट पारे। राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्वशान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतंकवादविरुद्ध आफ्नो दृढ अडानअनुरूप उक्त आतंकवादी हमलाको भर्त्सना गरे। ओलीले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिने स्पष्ट पारेका छन्। रासस