अभिमुखीकरण तालिम संस्थाको अनुगमन, प्रशिक्षार्थी नभएपछि राज परामर्शलाई कारवाही

बिजमाण्डू
२०६९ भदौ ६ गते ००:०० | Aug 22, 2012

काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरण गर्ने तालिम संस्थाको छड्के निरीक्षण गरेको छ । विभागले बुधवार विहान राज वैदेशिक रोजगार परामर्श सेवा प्रालि, एलायन्स टेक्निकल एन्ड रिसर्च सेन्टर, रजनिश ट्रेनिङ कन्सल्टेन्ट प्रालि, टावर इन्फो फरेन जव ओरियन्टेसन र संयोग ट्रेनिङ इन्स्च्यिुटमा छड्के निरीक्षण गरेको हो ।
अनुगमनका क्रममा मध्ये बानेश्वरमा रहेको राज वैदेशिक रोजगार परामर्श सेवा प्रालिमा तोकिएका प्रशिक्षार्थी नभएपछि विभागले कारवाही प्रक्रिया अघि बढाएको छ । २९ जना प्रशिक्षार्थी हुनुपर्नेमा ९ जना मात्रै तालिममा सहभागी भएको पाइयो, विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले भने । उनले अभिमुखीकरण तालिम संस्थामा सुधार प्रयास भए पनि अझै धेरै गर्न बाँकी रहेको बताए । पहिलेभन्दा धेरै सुधार भएको छ । तर अझै पनि भौतिक पूर्वाधार र कोठाको आकारभन्दा बढी मान्छे राख्ने गरिएको छ, उनले भने ।
विभागले पछिल्लो समयमा यस्तो अभिमुखीकरण तालिम संस्थामा छड्के निरीक्षण गरिरहेको छ । विभागमा भट्टराई आउनुअघि अभिमुखीकरणको तालिम नै नदिई प्रमाणपत्र दिने गरिन्थ्यो । झोलामा अभिमुखीकरण तालिमको प्रमाणपत्र र छाप राखेर विभाग परिसरबाटै प्रमाणपत्र बिक्री हुँदै आएको थियो । तर पछिल्लो समयमा विभागको सक्रियताले अभिमुखीकरण तालिम ११ घन्टा लिनैपर्ने बाध्यता सिर्जना भएको छ । अभिमुखीकरण तालिम संस्थाले ११ घन्टा पढाए वापत एक कामदारबाट सातसय रुपैयाँ लिन पाउँछन् ।

Tata
GBIME
Nepal Life