दूरसञ्चार प्राधिकरणका अध्यक्षले राजिनामा दिए, के ठूला प्लयेरको चलखेल नै हो कारण ?

बिजमाण्डू
२०६९ साउन १६ गते ००:०० | Jul 31, 2012
दूरसञ्चार प्राधिकरणका अध्यक्षले राजिनामा दिए, के ठूला प्लयेरको चलखेल नै हो कारण ?


काठमाडौं । दूरसञ्चारमा ठूला प्लेयरले चलखेल गरिरहेकै बेला दूरसञ्चार प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले कार्याकाल सकिनु डेढ वर्ष अघि राजिनामा दिएका छन् । दूरसञ्चारको नियामक निकाय प्राधिकरणका अध्यक्षले सूचना तथा सञ्चारमन्त्री समक्ष राजिनामा दिएका हुन् ।
दूरसञ्चारमा यही बेला निक्कै चलखेल भैरहेको छ, अध्यक्षले हस्तक्षेप थेग्न नसकेपछि राजिनामा दिनुभएको हो, स्रोतले बतायो । प्राधिकरण र चार ठूला दूरसञ्चार प्रदायक कम्पनीवीच यति वेला ठूलै ‘युद्ध’ छ ।
निजी क्षेत्रको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी एनसेलले अहिले प्रचण्ड निकटका व्यापारी अजय सुमार्गीको नेपाल स्याटेलाईट कम्पनी किनेको छ । प्राधिकरण अध्यक्ष कँडेल ठूला दूरसञ्चार कम्पनी गाभिंदा कार्टेलिङ हुनेभन्दै त्यसविरुद्ध कानून बनाउने पक्षमा थिए । उनले त्यसैका लागि एउटा मस्यौदा पनि तयार गरेका छन् ।
प्रचण्ड निकटका व्यापारी सुमार्गी भने त्यसविरुद्ध खुलेरै लविङ गरिरहेका छन् । सुमार्गीले प्राधिकरणसँग स्वीकृती नै नलिई नेपाल स्याटेलाईटका लागि एनसेलको पूर्वाधार उपयोग गर्ने घोषणा गरेका थिए । त्यसैगरी प्राधिकरण अध्यक्ष कँडेल रोयल्टी तिर्न आनाकानी गरिरहेको अर्को दूरसञ्चार कम्पनी युनाइटेड टेलिकम लिमिटेड(युटिएल)को खारेजी गर्नुपर्ने पक्षमा थिए ।
प्राधिकरण अध्यक्षको यो अडान सञ्चारमन्त्री राजकिशोर यादव र सरकारलाई मन परिरहेको छैन्, सरकार प्राधिकरणले नै रोयल्टी मिनाहा गरिदिओस भन्ने पक्षमा छ तर कँडेलले रोयल्टी मिनाहा गर्नुसट्टा अदालतको आदेश भन्दै युटिएललाई खारेजी गर्न सञ्चार मन्त्रालयमा पत्र पठाइरहेका छन् ।
देशको सबैभन्दा ठूलो दूरसञ्चार कम्पनी नेपाल टेलिकम र प्राधिकरणवीच पनि राम्रो सम्वन्ध छैन । प्राधिकरणले टेलिकमसँग २० अर्ब रुपैयाँको रोयल्टी दावी गरिरहेको छ । एनसेललाई लाइसेन्स दिंदाको शर्त बमोजिम टेलिकमसँग २० अर्ब रुपैयाँ रोयल्टी मागेपछि टेलिकम अधिकारीहरु प्राधिकरण विरुद्ध खनिएका छन् । यसै कारण कँडेलले राजिनामा दिएको स्रोतले बतायो ।
कँडेल प्रचण्ड प्रधानमन्त्री भएको एक महिनापछि २०६५ मंसिर ८ गते  दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त भएका थिए । प्राधिकरण अध्यक्षको कार्यकाल पाँच वर्षको हुन्छ ।

Tata
GBIME
Nepal Life