भोलिदेखि काँग्रेसको जिल्ला सभापति भेला, सरकारविरुद्ध आन्दोलनको घोषणा हुँदै

बिजमाण्डू
२०६९ साउन १४ गते ००:०० | Jul 29, 2012
भोलिदेखि काँग्रेसको जिल्ला सभापति भेला, सरकारविरुद्ध आन्दोलनको घोषणा हुँदै


काठमाडौ । विपक्षीको भूमिकामा कमजोर देखिएको नेपाली काग्रेसले वर्तमान सरकार हटाउन आन्दोलनको रणनीति बनाउने भएको छ । सोमबारदेखि सिन्धुपाल्चोकको वाह्रविसेमा आयोजना गरिने जिल्ला सभापतिको दुई दिने भेलाले दललाई एकतावद्ध पार्ने र सहमतिमा सरकार नहटे आन्दोलनको रणनीति तय गर्नेछ । पार्टी भित्रै अझै पनि संविधान सभा पुर्नस्थापना र संसदीय निर्वाचन भन्ने विषयमा विवाद कायमै छ । यो विवादलाई समेत हल गरेर एकल एजेन्डा तय गर्ने काग्रेसका एक नेताले बताए ।
अहिले विभिन्न फोरमा काग्रेसका नेताहरुले निर्वाचनको विषयमा फरक÷ फरक मत राख्दै आएका छन् । ती नेताका अनुसार सहमतिमा सरकार वर्हिगमन नभएमा जिल्ला तहबाटै आन्दोलन गर्ने घोषणा यही भेलाबाट हुनेछ । अहिले बर्खा भएकोले सबै खेतीपातीमा ब्यस्त हुने भएकोले काग्रेसले आन्दोलनलाई थाँती राखेको थियो ।
अहिले सबैजना खेतीपातीमा व्यस्त हुने भएकोले आन्दोलनको घोषणा नभएको हो, काग्रेस नेता रामशरण महतले केही दिनअघि एक कार्यक्रममा भनेका थिए, खेतीपाती लगाउने काम सकिएपछि आन्दोलनको घोषणा गरेर सशक्त बनाउनेछौ । संविधानसभाको निर्वाचनपछि काग्रेस दोस्रो दलमा झरेको र पार्टीको नेतृत्वले आफ्नो भूमिका बनाउन नसकेको बारेमा पनि छलफल हुने स्रोतले बतायो । पार्टीको आन्तरिक कारणले नै काग्रेसले सविधान निर्माण र माओवादीको मनोमानीपूर्ण क्रियाकलापलाई चिर्न सकेको छैन, ती नेता भन्छन्, ‘वर्तमान नेतृत्वको असफलताको बारेमा पनि छलफल हुनेछ ।
केन्द्रीय समिति र जिल्ला सभापतिहरुका लागि वाह्रबिसे वरिपरिका होटल र रिर्सोट बुक गरिएको छ । पार्टीका उच्च नेताहरुलाई सुविधा सम्पन्न लास्ट रिर्सोटमा राख्ने प्रबन्ध मिलाइएको छ । जिल्ला सभापति, केन्द्रीय समिति, सहयोगी, स्वयंसेवक, सञ्चारमाध्यमसहित झन्डै ४ सय जनाका लागि बस्न र खानाको प्रबन्ध गरिएको छ ।
४२ केन्द्रीय विभाग
जिल्ला सभापति भेलाको दुई दिनअघि काग्रेस सभापति सुशील कोइरालाले ४२ केन्द्रीय विभाग र अञ्चल समन्वय समिति गठन गरेका छन् । मनोनयन बाँकी चारमध्ये एक केन्द्रीय सदस्य पनि थपिएको छ । विधानमा ३२ केन्द्रीय विभागको व्यवस्था भए पनि कोइरालाले केन्द्रीय समितिले पछि अनुमोदन गर्ने थप १२ सहित ४२ विभाग गठन गरेका हुन् । गठित विभागमध्ये १६ वटामा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षीय संयोजक तोकिएका छन् । केन्द्रीय सदस्यहरुलाई विभिन्न विभागको संयोजक तोकिए पनि सदस्यहरु भने मनोनयन गरिएको छैन ।
पार्टीको प्रमुख विभागका रुपमा रहेको संगठन विभागमा आनन्दप्रसाद ढुंगानालाई जिम्मेवारी दिइएको छ ।  पार्टी प्रवक्तामा दिलेन्द्रप्रसाद बडूलाई मनोनयन गरिएको छ । उनी कोइराला निकट हुन् ।

Tata
GBIME
Nepal Life